• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

नेकपा स्थायी कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेश, भोलीदेखि छलफल हुने 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले ७ उपशीर्षकमा ११ पेजको राजनीतिक प्रतिवेदन पेश गरेका छन् । भोली (सोमबार) धुम्बराहीमा बस्ने बैठकमा सो प्रतिवेदनमाथि छलफल हुने महासचिव विष्णु पौडेलले जानकारी दिए । बैठकमा महासचिव पौडेलले बिधान संशोधन प्रस्ताव पनि पेश गरेका छन् ।

 

प्रतिवेदनमा अन्तर्राष्ट्रिय परिस्थिति, राष्ट्रिय परिस्थिति, पार्टी एकताको सुदृढिकरण र सरकारको सामान्य समीक्षा लगायतका विषय समेटिएका छन् । त्यसैगरि उपनिर्वाचनको समीक्षा, पार्टीका आगामी कार्ययोजना तथा कार्यक्रमहरु र यसअघिको सचिवालयले गरेको सबै निर्णयहरु पारित गर्ने विषयहरु समेटिएको प्रवक्ता श्रेष्ठले बताए ।

 

बैठकमा नेपाल—भारत सीमा समस्या सम्बन्धि प्रस्ताव पनि पेश गरिएको छ । नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालले प्राप्त गर्नेगरि अगाडी बढ्ने, भारतले प्रकाशित गरेको नक्सा अस्वीकृत गर्ने, कालापानी क्षेत्रमा रहेका भारतीय सुरक्षा फौज फिर्ता गराउने र अन्य सीमा समस्याहरु समाधान गर्ने लगायतका विषयहरु समेटेर उक्त प्रस्ताव तयार पारिएको उनले बताए ।

 

बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना पनि गरेको छ । प्रतिवेदनमा पार्टी एकता प्रक्रिया टुंगोमा नपुग्दा पार्टी संगठन अन्यौलग्रस्त भएको पनि उल्लेख गरिएको छ।

 

त्यसैगरि पार्टीका महासचिव विष्णु पौडेलले विधान संशोधनको प्रस्ताव प्रस्तुत गरेका थिए । बामदेव गौतमलाई सचिवालय बैठकले उपाध्यक्षका लागि प्रस्ताव गरेपछि विधान संशोधन गर्न लागिएको हो । प्रवक्ता श्रेष्ठले विधानमा उपाध्यक्षको व्यवस्था गर्ने लगायतका विषयहरुमा संशोधन गर्न स्थायी कमिटी बैठकमा संशोधन प्रस्ताव प्रस्तुत गरिएको बताए । पार्टीका स्थायी कमिटी सदस्य भीम रावलले आइतबारको बैठकमा दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि सामान्य समीक्षा गरेर सकिएको बताए ।

 

रावलले प्रत्येक तीन महिनामा बस्नु पर्ने स्थायी कमिटी बैठक एक वर्ष ढिला हुनुको कारण के ? के कस्तो असाधारण परिस्थितीले बैठक एक वर्षसम्म बस्न सकेन ? कसका कारण बैठक ढिला बस्यो ? यसको पनि समीक्षा हुनुपर्ने धारणा आफुले बैठकको सुरुमै राखेको बताए । 

 

प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठकले तय गरेको ५ वटा प्रस्ताव पेश गरिएको र त्यसमाथि सोमबारबाट छलफल सुरु हुने भन्दै बैठक केही दिन लम्बन सक्ने बताए । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार