• शनिबार १-८-२०८१/Saturday 04-20-2024
मनोरञ्जन

सिड्नीले तोड्यो नेपथ्यसँगको अर्को रेकर्ड

सिड्नी । नेपथ्य ब्याण्ड शनिबार सिड्नीमा तेश्रोपटक प्रस्तुत हुँदैगर्दा पनि २९ सय ५० दर्शक क्षमताको लुनापार्कस्थित ‘बिगटप अडिटोरियम’ टनाटन  थियो । तर, नेपाली मनोरञ्जनका क्षेत्रमा एउटा नयाँ संभावनाको ढोका खोलेकै कारण यसपटकका यी ‘हाउसफूल दर्शक’ भने उल्लेखनीय बन्न पुगे ।

 

यी दर्शकहरु कार्यक्रम हुने बेलामा ढोका छेउ विक्री गरिने टिकटघर भएर गुज्रिएका थिएनन् । सबका सब कम्प्युटरबाटै खरिद विक्री गरिएको टिकटबाटै उपस्थित थिए ।

 

संसारभर प्रतिष्ठित अन्तर्राष्ट्रिय कन्सर्टहरुमा ‘अनलाइन टिकट’ पूर्ण क्षमताका साथ अभ्यासमा आइसकेता पनि नेपाली मनोरञ्जन उद्योगमा यसको उपादेयता अझै सन्देहको घेरामा थियो । नेपथ्यको व्यवस्थापन गर्दैआएको संस्था नेपालयले भने यसप्रकारको कार्यक्रममा ‘अनलाइन टिकट’लाई नै स्थापित गर्ने प्रयास गर्दैआइरहेको थियो ।

 

सिड्नीमा यस वर्ष नेपथ्य कन्सर्टका शतप्रतिशत टिकट ‘अनलाइन’बाटै विक्री भएर नयाँ रेकर्ड कायम हुनपुगेको छ । अनलाइनमा राखिएको टिकट विक्रीको संकेतले कन्सर्ट सुरुहुनुभन्दा धेरै अगाडि नै कम्प्यूटरका पर्दाहरुमा ‘सोल्ड आउट’ (सबै टिकट विक्री भइसकेको) जानकारी दिइसकेको थियो ।

 

‘नेपाली कार्यक्रमको सम्पूर्ण टिकट यसरी इन्टरनेटबाटै सकिएको हेर्ने मेरो लामो समयदेखिको सपना यसपाला सिड्नीले पुरा गरिदिएको छ,’ नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘यत्रो ठूलो आयोजनालाई पूर्णतया अनलाइनको पोल्टामा सुम्पनु धेरै ठूलो जोखिम थियो, जसलाई चुनौतीका रुपमा स्वीकार्न सिड्नीका आयोजक ‘नेपाली टच’ तयार भइदियो र परिणाममा हामीले यति ठूलो सफलता हात पारेका छौं ।’

 

शनिबारको कन्सर्टमा पनि नेपथ्यले सिड्नीका दर्शकहरुलाई सँधैजस्तै लोकरकका भाकाहरुले तरंगीत पार्न सफल भएको छ । ब्याण्डको उपस्थितीलाई अझ भब्य बनाउन सदाबहार र नयाँ गीतहरुको सन्तुलित चयन मात्र नभइ प्राविधिक हिसाबले पनि अझ स्तरिय प्रस्तुतीको प्रयास गरिएको थियो ।

 

अष्ट्रेलियाभर मै सबैभन्दा बढी नेपाली बसोबास गर्ने यो सहरमा नेपथ्यले सन् २००९ मा आफूलाई पहिलोपटक उभ्याएको थियो । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार