• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
पत्रपत्रिका

विद्यालय पुग्न साढे तीन घण्टा

काभ्रे । जिल्लाको विकट महाभारत र खानीखोला गाउँपालिकामा माध्यमिक विद्यालयको सङ्ख्या कम हुँदा विद्यार्थीलाई साढे तीन घण्टाभन्दा बढी हिँडेर विद्यालय धाउनुपर्ने बाध्यता छ ।

 

विद्यालयमा छात्रावासको व्यवस्था हुन नसक्दा यी दुई गाउँपालिकाका विद्यार्थी वर्षौंदेखि साढे तीन घण्टाको बाटो हिँडेर विद्यालय पढ्न जाने गरेका छन् । नेपाल सरकारले आधा घण्टाभन्दा बढी हिँडेर विद्यालय जान नपर्ने नीति बनाएको भए पनि यहाँका बालबालिका भने दैनिक साढे तीन घण्टासम्म हिँडेरै पढ्न जानुपर्ने बाध्यतामा छन् ।

 

महाभारत गाउँपालिका वडा नं। ६ मा रहेको जनमोहन माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत छात्रा चमेली घलानले साढे तीन घण्टा हिँडेर विद्यालय आउने गरेको बताउनुभयो । वडा नं। ७ कालीमाटीमा घर रहेको बताउने उनी दैनिक ६ः३० बजे घरबाट हिँड्ने गरेकी छन् ।

 

उठ्नेबित्तिकै घरबाट विद्यालयका लागि हिँड्ने गरेको छु । नजिकै माध्यमिक विद्यालय नहुँदा पढ्नकै लागि आफू साढे तीन घण्टा हिँडेर आउने गरेको उहाँले गुनासो गर्नुभयो । उहाँले घर फर्किंदा पनि त्यति नै समय लाग्ने गरेको बताउनुभयो । कक्षा १० मा अध्ययनरत छात्र फुर्साङ मोक्तानले तीन घण्टा हिँडेर विद्यालय आएको बताउनुभयो । विद्यालयमा छात्रावास छैन, भूकम्पले घर भत्किएपछि कोठा लिएर बस्ने ठाउँ पनि छैनन् । त्यसैले दैनिक तीन घण्टा हिँडेर विद्यालय आउने गरेको छु ।

 

महाभारत गाउँपालिका वडा नं। ५ मा रहेको ग्रामोन्नति माध्यमिक विद्यालयका कक्षा ६ मा अध्ययनरत छात्रा पञ्चमाया बल दुई घण्टा हिँडेर विद्यालय आउने गरेको बताउनुहुन्छ । प्राथमिक तहसम्म त गाउँमा नै पढियो तर त्यसभन्दा माथि पढ्ने विद्यालय नहुँदा दुई घण्टा हिँडेर विद्यालय आउने गरेका छौँ । उनीहरू दैनिक २० जना भलडाँडा भन्ने ठाउँबाट विद्यालय आउने गरेका छन् । यी त केही प्रतिनिधि पात्र मात्र भए ।

 

जिल्लाको डाँडापारि क्षेत्रमा अझै पनि शिक्षा लिनकै लागि घण्टौँसम्म बालबालिका हिँडेर आउजाउ गर्नुपर्ने बाध्यतामा छन् । छात्रावासका लागि पहल नहुँदा घण्टौंसम्म असुरक्षित बाटोबाट बालबालिका आउनुपर्ने अवस्थामा रहेको स्थानीय रामबहादुर ब्लोनले बताउनुभयो ।

 

जनमोहन माध्यमिक विद्यालयका प्रधानाध्यापक रामवली सिंह दनुवारले ५० भन्दा बढी विद्यार्थी तीन घण्टा भन्दा बढी हिँडेर आउने गरेको बताउनुभयो । महाभारत गाउँपालिकामा पाँच हजार सात सय विद्यार्थी अध्ययनरत छन् । आठ वडा रहेको यस महाभारत गाउँपालिकामा गोकुले माध्यमिक विद्यालय, जनकल्याण माध्यमिक विद्यालय, भैरव माध्यमिक विद्यालय, सिद्धेश्वर माध्यमिक विद्यालय र कालीदेवी माध्यमिक विद्यालय छन् । गोरखापत्र

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार