• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
खेलकुद

पिपिएल टी-२० मा पोखरा र काठमाडौंबीच प्रतिस्पर्धा

पोखरा । पोखरामा आइतबारदेखि  सुरू हुने दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पिपिएल) टी-२० क्रिकेट प्रतियोगिताको उद्घाटन खेल साविक विजेता पोखरा पल्टन र काठमाडौं गोल्डेन्सबीच हुने भएको छ ।

 

शनिबारदेखि प्रतियोगिता शुभारम्भ गर्ने कार्यक्रम रहे पनि मौसममा आएको खराबीले प्रतियोगिता एक दिन पछि सारिएको छ । प्रतियोगिता आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालीका प्रबन्ध निर्देशक छुम्वी लामाले पिच, अस्थायी प्यारापिट, प्लेयर बक्स, मिडिया सेन्टरलगायतको आवश्यक सम्पूर्ण तयारी पूरा भएको बताउँदै छ वटै टोलीका खेलाडीसमेत पोखरा आइपुगेका जानकारी दिए । 

 

आगामी पुस १२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताले क्रिकेट खेलप्रतिको आकर्षण बढाउनाका साथै पोखरालाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउनसमेत मद्दत पुग्ने भएकाले पर्यटन प्रवद्र्धनमा सघाउने विश्वास लिइएको छ । नेपाली क्रिकेटमा सर्वाधिक पुरस्कार राशि रहेको प्रतियोगिताको विजेताले रु २७ लाख तथा उपविजेताले रु १० लाख पुरस्कार पाउनेछन् । 

 

‘म्यान अफ दी सिरिज’, ‘उत्कृष्ट ब्याट्सम्यान’ र ‘उत्कृष्ट बलर’ गरी तीन खेलाडीलाई टिभिएस मोटरसाइकल पुरस्कार प्रदान गरिनेछ । त्यसैगरी प्रतियोगिताको ‘मोस्ट भ्यालुएबल’ खेलाडीलाई रु एक लाख, ‘इमर्जिङ’ खेलाडीलाई रु ५० हजार तथा प्रत्येक खेलको ‘म्यान अफ दी म्याच’लाई रु १० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । 

 

साविक विजेता पोखरा पल्टन, विराटनगर टाइटन्स, बुटवल ब्लास्टर्स, चितवन राइनोज, काठमाडौँ गोल्डेन वारियर्स र एक्सपर्ट धनगढी ब्लुज गरी देशका विभिन्न छ शहरका छ टोलीको सहभागिता रहेको छ । शुक्रबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रतियोगिताको ट्रफी सार्वजनिक गरेका थिए।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार