• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
प्रविधी

‘पत्रकारितामा नवीनतम प्रयोग प्रवद्र्धनका लागि मोबाइल पत्रकारिता तालीम’

बनेपा । सञ्चार रजिष्ट्रार प्रदेश नं ३ को कार्यालयले धुलिखेलमा आयोजना गरिएको ‘पत्रकारितामा नवीनतम प्रयोग प्रवद्र्धनका लागि मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालीम’ शनिबार सम्पन्न भएको छ ।

 

प्रदेश नं ३ का काभ्रेपलाञ्चोकलगायत सिन्धुपाल्चोक, रामेछाप, दोलखा र सिन्धुलीका पत्रकारको सहभागिता रहेको तालीममा मोबाइलबाट नै भिडियो खिच्ने, अडियो रेकर्ड गर्ने, इडिट गर्ने र मिक्सिङ गरी कार्यक्रम उत्पादन गर्ने तालीम दिएको हो ।

 

सो तालीम समापन कार्यक्रममा रामेछापका सहभागी मञ्जु उप्रेतीले तालीमबाट धेरै राम्रो ज्ञान लिन पाएको बताए । दैनिक गर्ने काममा मोबाइल धेरै उपयोगी हुन्छ भन्ने कुरालाई व्यावहारिक रूपमा प्रयोगमा ल्याई पेशालाई थप जिम्मेवार र दक्ष बनाउनका लागि तालीमले सहयोग पु¥याएको उनले बताए । अर्का सहभागी काभ्रेपलाञ्चोकका अञ्जली तामाङले तालीमले पेशामा थप ऊर्जा थपिदिएको बताए ।

 

पहिला सामान्य रूपमा भिडियो इडिटिङ र रेकर्डिङका लागि काठमाडौँसम्म खर्च गरी धाएर सिकेको भए पनि खासै प्रगति गर्न नसकेको अवस्थामा जिल्लामै बसेर सो सम्बन्धी ज्ञान हासिल गर्दै पत्रकारिता पेशामा अर्को मनोबल बढाएको उनको भनाइ थियो । 

 

कार्यक्रममा प्रदेश नं ३ का सञ्चार रजिष्ट्रार रेवतीप्रसाद सापकोटाले पत्रकारिताको दैनिक काममा मोबाइल प्रयोग हुन थालेपछि पत्रकारलाई नयाँ प्रविधि र ज्ञान सीपको आवश्यक्ता पूर्ति गर्न तालीम आयोजना गरेको बताए । तालीममा जिल्लामा रहेर रेडियो, टेलिभिजन, अनलाइन पत्रकारितामा सक्रिय २० पत्रकारको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार