त्यो स्वरूप अनुरागको
फेरि सम्झे तिमीलाई
भर्खरै मात्र
आज जति सम्झेको छु
अनि लाग्छ
यो हिजोको भन्दा धेरै फरक छ
अर्कै अनुराग छ यसमा
माथिल्लो तहमा उठ्दै आएको
कुण्डलिनीमा जस्तो
त्यसैले यो बेग्लै छ
हिजोको जस्तो मिश्रण होइन यो अनुरागमा
म तिमीलाई अर्कै देखिरहेको छु
हिजोको त्यो केन्द्रिभूत भएको मिश्रणमा
अर्कै खुशीको सम्मिलन छ अहिले
घनिभूत भएका ती सतहको
विभिन्न पत्रैपत्र पार गरेर
केही अगाडि बढे जस्तो लाग्छ
त्यसैले तिमीलाई अहिले सम्झदा
मेरो एक्लोपनाभित्र
अनुरागको अर्को स्वरूपको सम्मिलन भएको छ
जति समेट्न खोज्छु त्यो स्वरूप
त्यति फराकिलो हुन पुगेको छु म
प्रतिकृया दिनुहोस