• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

महराविरुद्ध रोशनी शाहीले दिइन् प्रहरीमा उजुरी, पक्राउ गर्ने तयारी

काठमाडौं । कृष्णबहादुर महराविरुद्ध बलात्कार अभियोगमा प्रहरीमा किटानी जाहेरी परेको छ ।  संसद् सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीले महराले आफूमाथि बलात्कार प्रयास गरेको भन्दै महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर पुगेर किटानी जाहेरी दिएकी हुन् । 

 

गत आइतबार राति महराले आफूलाई बलात्कार गरेको भन्दै मिडियामा आएकी शाहीले भोलिपल्ट भने त्यस्तो केही नभएको बताएकी थिइन् । उनले महरा आफ्नो कोठामै नआएको दाबी गरेकी थिइन् ।

 

घटना भएको छैटौं दिन बानेश्वर प्रहरी वृत्तमा भएको लामो छलफलपछि उजुरी दर्ता भएको हो । प्रहरीले गरेको प्राविधिक अनुसन्धानमा महरा आइतबार रोशनीको कोठामा देखिएको पुष्टि भएको छ । 

 

महराविरुद्ध उजुरी परेसँगै उनी पक्राउ पर्ने सम्भावना बलियो बनेको छ । प्रहरी स्रोतले उजुरीपछि थप अनुसन्धान भइरहेको जनाएको  छ । बलात्कार आरोप लागेपछि महराले नेकपाको सुझावको आधारमा सोमबार सभामुख पदबाट राजीनामा दिएका थिए ।

 

महराले आफू रोशनीको कोठामा नगएको दाबी गर्दै आएका छन् । तर प्रहरी अनुसन्धानबाट भने महरा रोशनीको कोठामा पुगेको पुष्टि भइसकेको छ । यस्तै महरामाथि कारबाही गर्न दबाब बढेपछि शुक्रबार गृहमन्त्री रामबहादुर थापा र आईजीपी सर्वेन्द्र खनाल सहित बैठक भएको छ । 

 

बैठकमा गृहमन्त्री थापाले  अनुसन्धान प्रक्रियामा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका थिए ।  सोही छलफलपछि रोशनी आफ्ना श्रीमानसहित किटानी जाहेरी दर्ता गर्न प्रहरी कहाँ पुगेको बताइएको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार