• शनिबार १-८-२०८१/Saturday 04-20-2024
शिक्षा

फेरी पुरानै बिद्यालय

बलेवा । गत शैक्षिक सत्रमा सातजना शिक्षक रहेको विद्यालयमा छ जना मात्रै विद्यार्थी थिए ।भएका विद्यार्थी समेत नियमित विद्यालय नआउने गरेका कारण विद्यालय सधैं सुनसान जस्तै हुन्थ्यो । बागलुङ बजार नजीकै रहेको गणेश प्राथमिक विद्यालयमा विद्यार्थी कम भएको धेरै समय भइसकेको थियो ।  

 

बागलुङ नगरपालिका–४ पाखाथरका अधिकाँश विद्यार्थी बागलुङ बजारका निजी विद्यालयमा गएपछि विद्यालय सुनसान बन्न थालेको हो । एक वर्ष पहिले सम्म शिक्षकभन्दा विद्यार्थी कम रहेको विद्यालयले यो शैक्षिक सत्रमा भने ८ वटा कक्षामा ४७ जना विद्यार्थीलाई वार्षिक परीक्षामा सहभागी गराउने छ । अहिले निजी विद्यालयकै ढाँचामा कक्षा सञ्चालन भैरहेको यस विद्यालयमा नर्सरीदेखि कक्षा ५ सम्म ८ वटा कक्षा सञ्चालन हुन थालेका छन् ।

 

विद्यार्थी सङ्ख्या न्यून रहेका विद्यालयहरुका विद्यार्थी र शिक्षकलाई पायक पर्ने विद्यालयमा व्यवस्थापन गर्ने भनी बागलुङ नगरपालिकाको शिक्षा समितिले निर्णय गरेपछि गणेश प्राथमिक विद्यालय व्यवस्थापनमा पर्ने पहिलो विद्यालय थियो तर, सोही निर्णयले नै विद्यालय व्यूँतियो । 

 

'नगरले गरेको निर्णय कार्यान्वयन गर्नु पूर्व हामीले १५ दिनको समय माग्यौं,” विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार विक्रम क्षेत्रीले भने, “१५ दिनमा समुदायसँग छलफल गरेर विद्यार्थी सङ्ख्या पुर्‍याउन लाग्यौं ।' अहिले विद्यालयमा सबै विद्यार्थी र शिक्षक समयमै आउँछन् । पठनपाठन पनि राम्रो हुन्छ । विद्यार्थी फेरि छोडेर निजी विद्यालयमा जाने अवस्था अब देखिँदैन ।

 

विद्यालय व्यवस्थापन समिति र समुदायको सक्रियतामा निजी विद्यालयमा अध्ययन गरिरहेका ४१ जना विद्यार्थी अहिले गणेश प्राविमा फर्केका छन् । विद्यालय नै नरहने अवस्था सिर्जना भए पछि निजी विद्यालयकै पाठ्यक्रम लागू गर्ने अभिभावकहरुको शर्त पालना गर्दै विद्यालयले विद्यार्थी सङ्ख्या पुर्‍याएको हो । 

 

'स्वास्थ्य, शिक्षा र सुरक्षा अभिभावकहरुको शर्त थियो,' प्रधानाध्यापक कल्पना पौडेल शर्माले भने, 'स्वास्थ्यको ख्याल, पानी, अंग्रेजी माध्यम र विद्यालय भवन परिसर तारबार गरेर विद्यार्थी सङ्ख्या पुर्‍याएका छौं ।' उनका अनुसार विद्यालय भवन परिसरको तारबारका लागि वडा कार्यालयले सहयोग गरेको हो भने शुद्ध पानीको लागि युरोगार्ड ऋण काँडेर खरिद गरिएको हो ।

 

शिक्षा ऐनमा व्यवस्था भए अनुसार पहाडका विद्यालयहरुमा प्रतिशिक्षक ४५ जना विद्यार्थी हुनुपर्ने व्यवस्था छ । बागलुङ नगरपालिकाले भने त्यसको १० प्रतिशत विद्यार्थी सङ्ख्या हुने विद्यालयले कक्षा सञ्चालन गर्न सक्ने व्यवस्था गरेको छ । नगरको शिक्षा समितिले गरेको व्यवस्था अनुसार अब गणेश प्राविलाई विद्यार्थी सङ्ख्या नपुगेर व्यवस्थापनमा जानुपर्ने छैन । अहिले नर्सरीमा १२ जना, एलकेजीमा आठजना, युकेजीमा सातजना, कक्षा १ मा छजना, कक्षा २ मा पाँचजना, कक्षा ४ र ५ मा चार/चारजना विद्यार्थी छन् । कक्षा तीनमा भने गत वर्ष कक्षा २ मा विद्यार्थी नरहेको र निजी विद्यालयबाट आउने विद्यार्थी समेत नभएकाले खाली रहेको छ । 

 

'हामीले गुणस्तरीय शिक्षा दिने प्रतिबद्धता जनाएर विद्यार्थी फर्काएका हौं,' अध्यक्ष क्षेत्रीले भने, 'राज्यको ठूलो लगानी रहेका सामुदायिक विद्यालयको सुधार आवश्यक छ जसको थालनी हामीले गर्‍यौं ।' पठनपाठनमा प्रभाव पर्न नदिन विद्यालयले बाल विकास केन्द्रका सहजकर्तालाई पनि अतिरिक्त समय उपल्लो कक्षामा दिन भनेको छ । 

 

अहिले यहाँ तीन निजी स्रोतका शिक्षक, तीन दरबन्दीका शिक्षक र एक राहत दरवन्दीका शिक्षकले पठनपाठन गराइरहेका छन् । 'पहिले विद्यार्थीको सङ्ख्या पनि धेरै थियो र विद्यालयहरु ठाउँठाउँमा खुलेका थिए,' नगर प्रमुख जनकराज पौडेल भन्छन्, 'नियुक्ति पाएबापत तलब र पढाउन भत्ता चाहिने मानसिकता शिक्षकहरुमा विकास हुँदा सामुदायिक विद्यालय मारमा परे ।' गणेश प्राविले देखाएको सक्रियता अरु विद्यालयका लागि समेत उदाहरण भएको छ र पौडेल विद्यालयको सफलताको श्रेय प्रशासन, व्यवस्थापन र समुदायलाई दिन्छन् । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार