• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

‘अब बल्ल चलचित्र क्षेत्रलाई बुझ्दै छु ’

व्यस्तता 
अहिले चलचित्र ‘मारुनी’ देशभर प्रदर्शनमा आएको छ । त्यसैको दौडधुपमा व्यस्त छु । चलचित्रले राम्रो व्यापार गरिरहेको छ । जतिपनि दर्शकले चलचित्र हेर्नुभएको छ सबैले रुचाउनु नै भएको छ । यो मेरो तेस्रो चलचित्र हो । ‘अझै पनि’, एउटा छोटो चलचित्र ‘ओ माई मेम’ र ‘मारुनी’ । 
 

 

चलचित्र निर्माणको अनुभव 
‘अझै पनि’ चलचित्र बनाउँदा मैले लगानीकर्ता कै हिसाबमा काम गरे । यसमा मेरो पैसा हाल्ने मात्र भयो । चलचित्र कसरी बन्छ, कस्तो बन्छ भन्ने कुराको मलाई खासै मतलब भएन । अहिले मारुनीसम्म आईपुग्दा म एउटा फिल्म मेकर भएर काम गर्दैछु । यसमा मैले सबैकुराको ध्यान दिएकी छु । 
 

 

सजिलो/असजिलो 
एउटा लगानीकर्ता भएर काम गर्दा आनन्द नै छ । यसमा लगानीकर्ताले खासै केही गर्नुपर्दैन । बजार भाउ के हो, चलचित्रको बजार कस्तो छ, मार्केटिङ के हो, चलचित्रको बितरण कसरी गर्ने, सिंगल थिएटर, मल्टिप्लेक्स के हो, कस्तो किसिमका दर्शकहरु चलचित्र हेर्न आउँछन् भन्ने, यी सबैकुराहरु थाहा हुँदैन । लगानीकर्ता बनेपछि मैले चलचित्र बनाएको छु भनेर मक्ख परेर बसे भयो । तर एउटा चलचित्र मेकर भएर काम गरेपछि हरेक कुराहरु थाहा हुन जरुरी छ । यसमा भिन्नता के छ भने अहिले मैले चलचित्रलाई बुझन पाएकी छु । चलचित्र क्षेत्र के हो र कस्तो छ भन्ने कुरा थाहा पाउँदै छु । चलचित्र क्षेत्रमा मैले कसरी काम गर्नुपर्छ भन्ने मलाई थाहा हुँदै छ । मैले नेपाली माटोलाई एउटा सुहाउँदो तरिकाले चलचित्र कसरी बनाउन सक्छु भन्ने हेतु लिएर एउटा चलचित्र मेकरको हिसाबले यो क्षेत्रमा लागेकी हुँ । 


 

 

चलचित्र क्षेत्र रमाइलो 
नेपाली चलचित्र क्षेत्र रमाइलो छैन । यो एकदमै गलत बुझाई हो । रमाइलो त्यहाँ छ जहाँ तपाईले त्यसलाई रमाइलो तरिकाले लिनुहुन्छ । मेरो पैसा डुबे नी डुब्छ । म यसमा देखिन त पाउँछु र मिडियाले पनि मलाई चिन्छ भनेर दुई दिनको लागी लिने हो भने यो क्षेत्र एकदमै रमाइलो छ । नत्र चलचित्र क्षेत्रमा काम गर्न जस्तो गाह्रो कुनैमा छैन । यो किनभने, हामी अरु क्षेत्रमा पनि व्यवसाय गर्छौ तर यो चलचित्र क्षेत्र भनेको नाजुक, खतरनाक र डरलाग्दो क्षेत्र हो । यदी तपाई यो क्षेत्रमा जम्म सक्नु भयो भने मजाले जम्नुहुन्छ तर एकछिन मै भत्किनु भयो भने मजाले भत्किनु हुन्छ । चलचित्र क्षेत्र भनेको एउटा खेल हो । म यसलाई एउटा खेलको रुपमा लिन्छु । यो खेलमा तपाईको भाग्य, संघर्ष, समर्पण र शिक्षा एकदमै जरुरी छ । यो क्षेत्रमा लागेपछि आफुमा मान्छे रिझाउन सक्ने क्षमता भएको पनि हुनुपर्छ । 
 

 

चलचित्रमा पैसा सबथोक 
चलचित्र क्षेत्रमा पैसा लगाउने लगानीकर्ताले हो निर्माताले होइन । यसमा पैसा लगानी गर्नु र दिमाग लगानी गर्नु भनेको भिन्न कुरा हो । एउटा पढेको मान्छे जो यो क्षेत्रमा आएको छ भने पहिला त्यसको पृष्ठभुमि हेर्नुपर्छ र यो क्षेत्रमा यती कै केही नजानी प्रवेश गरेको मान्छेलाई एउटै श्रेणीमा राख्नु गलत कुरा हुन्छ । म फेरी एकदमै प्रजातन्त्रलाई मानेर हिड्ने सिद्धान्तको मान्छे हो । म यसमा आफुलाई कसरी हेर्छु भने मैले गरेको कामको मुल्यांकन गर्दा मैले कुन तहको काम गरेको छु त्यो काम हेरेर मात्र मलाई मुल्यांकन गर्नुपर्छ भन्ने मेरो सोच हो ।
 

 

चलचित्र क्षेत्रबाट सन्तुष्टि
चलचित्र ‘अझै पनि’ बाट म सन्तुष्ट भईन किनकी मैले त्यसमा लगानीकर्ता भएर काम गरेकी हुँ । त्यसबेला मलाई चलचित्र क्षेत्र के हो र यो क्षेत्रमा लगानी गरेर कसरी पैसा कमाउन सकिन्छ भन्ने पनि थाहा थिएन । त्यसबेला खाली मेरो एउटा सपना थियो कि मलाई चलचित्र बनाउनु छ । त्यो सपनालाई मैले चलचित्रमा खर्च गरेकी हुँ । त्यो खर्च गर्ने मसँग क्षमता पनि थियो । अहिले र त्योबेलामा धेरै फरक छ । त्यतिबेला मेरो पैसा डुब्यो तर पैसा डुबे पनि मलाई एउटा सचेत नागरिक बन्न सिकायो । 
 

 

मारुनी 
मारुनीको अर्थ एउटा आत्मा हो । तपाईले आफनो अस्तित्व, ढाँचा लुकाउनु नै मारुनी हो । तपाईको ढाँचा लुकाएर तपाईको अत्मा आफुसँग बसेर तपाईले आफुलाई परिवर्तन गर्नु नै मारुनी हो । एउटा केटा मान्छे केटी मान्छेको कपडा लगाएर नृत्य गर्न जान्छ त्यो नै मारुनी हो । अरुको कुरामा रुमाउनु नै मारुनी हो । 
 

 

किन हेर्ने मारुनी   
यो हरेक दर्शकको आफनो कथा हो । जीवनमा धेरै घटनाहरु घटेको हुन्छ । तर कुन घटनालाई कसरी लिएर आउने र एउटा यस्तो घटना छ जुन साह्रै नै सुन्दर, मर्मरिय र दर्दनाक छ त्यो घटनालाई उचालेर समाजको पात्रहरुलाई देखाउनु नै एउटा मारुनी हो । त्यसैले पनि यो समाजको हरेक पात्रले हेर्नु पर्ने चलचित्र हो, मारुनी । 
 

 

चलचित्रमा राजनीति
अहिले राजनीति कहाँ छैन । चलचित्र क्षेत्रमा मात्र होइन म त घरमा पनि राजनीति देखिरहेकी हुन्छु । हाम्रो देश आर्थिक, भौगोलिक राजनीतिक, धार्मिक अवस्थामा गुज्रिरहेको छ  । हरेक ठाउँमा राजनीति छ र राजनीति बिना मुलुक चल्नै सक्दैन । राजनीति त्यहाँ हुन्छ जुन कुामलाई मान्छेले नियालेर लिन सक्दैन । राजनीति त्यहाँ हुन्छ जहाँ सरकारले त्यसलाई लिएको हुँदैन ।  चलचित्र क्षेत्रलाई सरकारले अहिलेसम्म स्वीकारेको छैन । चलचित्र क्षेत्रलाई बलियो बनाउनका लागी सरकारको साथ चाहिन्छ जुन हामीसँग एकदमै कम छ । 

 

प्रस्तुति : सुकृत नेपाल 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार