• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
मनोरञ्जन

समय सँगै फेरिएको तीज

फ्रेसन्युज संवाददाता, काठमाडौं । हुनत शहर बजारमा तीजको रौनक सुरु भएको महिना दिन हुन लाग्यो । गाउँघरतिर पनि हप्तादिनदेखि तीजको माहोल तातेको छ । साउन महिनाभरी भगवान शिवको आराधना गरेर ब्रत बसेसँगै हातमा लगाइने हरिया रंङ्गका चुरा, हरियो पोते, मेहेन्दी र राता पहिरनले तीज आएको प्रष्ट पार्छ ।

 

गाउँघरतिर साँझपख मादलको घिन्ताङ र तीजको भाकाले हिन्दु नारीहरुलाई प्रफूल्लित तुल्याउने गर्छ । घरको कामले थिचिएका महिलाहरुका लागी तीज एक उल्लासको पर्व हुने गर्छ । कीनकी कतिपय महिलाहरुले माइतीघर जानका लागी तीज नै पर्खनु पर्ने बाध्यता छ ।  

 

आफ्नो जन्म घर, आमाबुबा, भाइबहिनी, अन्य नातागोता र साथीसंगीलाई चटक्क छोडी पराइघरमा जीवन विताउँदा आउने माइतीको यादलाई कमी गर्ने एउटा महत्वपूर्ण अवसरको रुपमा तीज पर्वलाई लिइन्छ । यस पर्वमा विवाह बन्धनमा बाँधिएका चेलीबेटी माईती घरमा आउने र आफ्ना मनको भावना साटासाट गर्ने गर्दछन् ।

 

महिलाहरुलाई पराइघरको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झना कम गर्न यो पर्वले ठुलो भुमिका खेलेको हुन्छ । व्यस्तताका कारण माइत घर पुग्न नसकेका महिलाहरुको माइत पुग्ने ठूलो अवसरका रुपमा तीजलाई लिने गर्छन ।

माइतघर पुगेका चेलीहरु धार्मिक विधी अनुसार आफन्त र साथीसंगी मिलेर पंचमी पुजा गर्ने, मिठो मसिनो बनाएर खाने र रमाइलो गर्ने प्रचलन छ । हुनत तीज हिन्दु नारीहरुको पौराणीक पर्वका रुपमा मानिदै आएको छ । तर पौराणीय यो पर्वले विस्तारै रुप–रंग बदल्दै गइरहेको छ । धार्मिक विधीमा फेरबदल आउन थालेको छ । साथै पर्व मनाउने शैली र तौर तरीकामा परिवर्तन आउन थालेको छ । 

 

रोजाइमा ग्ल्यामरस साडी 

नेपालमा चौबन्दी चोलो र साडीलाई भद्र पोशाकका रुपमा पहिरिने गरिन्छ । नेपाली समाजमा पहिले पहिले साडीलाई महिलाहरुको लाज ढाक्ने उपयुक्त पहिरनको रुपमा लिइन्थ्यो । साडीले धपक्कै शरीर ढाकेपछि महिलालाई असल चरित्र भएकीमा गनिन्थ्यो । तर पछिल्लो समयमा साडी पहिरन गर्ने तरीका बदलिन थालेको छ । कुनै बेला टे«डिसनल आउटफिट साडी यतिबेला अन्यन्त सेक्सी र ग्ल्याम्मरस बन्न थालेको छ । तीजका बेला आधुनिक महिलाहरुले लगाउने साडीको स्टाइल हेर्दा उहिले लगाइने चौबन्दी चोली र साडी प्रतिको मोह घटदै गएको पाइन्छ ।

 

बारुले कम्मरमा गज्जबको मुजा बनाएर अड्याइएको साडीमाथि नाभी नदेखिए र पिठ्यूमा खुल्ला नभएको व्लाउस नलगाए हिजोआज साडीको गरिमा नै घटन थालेको छ । साडी लगाउँदा नाभी र पिठ्यू देखाउने होडबाजी चल्न थालेको छ । हिन्दु धर्मावलम्बी नारीहरुलाई लाज ढाक्न मात्र होइन परम्परा धान्न पनि साडीको पहिरन अनिवार्य मानिन्छ ।

तर पछिल्लो समयमा साडी लगाउने तौरतरिका बदलिएको छ । हिन्दु नारीहरुले साउन महिनामा हरियो, तीज र दशैंमा रातो साडी लगाउने गर्छन । हुनत हिन्दु नारीहरुको सौन्दर्यको प्रतिकका रुपमा साडी र गरगहनालाई लिने गरिन्छ । पछिल्लो समयमा युनिक र स्टाइलिस साडीले महिलाहरुलाई सेक्सी र ग्ल्याम्मरस देखिन थालेका छन् । 

 

अस्सीको दशकमा बलिउडका नायिकाहरुले साडी लगाउने तरिका परिवर्तन गरेसँगै नेपाली गाउँ शहरमा पनि तरिका बदलिएको हो । हुन पनि बलिउडका नायिकाहरु साडी पहिरनका मामला ट्रेड सेन्टरकै रुपमा गनिन्छन । बलिउडमा ५० को दशकदेखि साडीको रंग रुप र स्टाइल परिवर्तन हुँदै आएको पाइन्छ ।

 

५० को दशकमा बैजयन्ति माला, माला सिन्हा लगायतका अभिनेतृहरु सिम्पल साडीमा सिल्भर स्क्रिनमा देखा परेका थिए । आधुनिक तथा डिजिटल युगको सुरुवातसँगै साडीको स्टाइल र लुक्स परिवर्तन भएर गएको छ । बलिउड अभिनेतृहरु ऐश्वर्या राय, काजोल, रानी मुखर्जी हुदै विन्द्यया वालन, करिना कपुर, विपासा बसु, दिपिका पादुकोडले आफनो चलचित्रमा पहिरिएको साडीको स्टाइलमा नेपाली नारीहरु रङ्गिरहेका भेटिन्छन् । 

 

तीजका भाकामा आधारित कतिपय म्यूजिक भिडियोमा देखिएको साडीको स्टाइलले नेपाली नारीहरुलाई पूर्णरुपमा ग्ल्याम्मरस बनाएको छ । तीजका अवसरमा कतिपय बुटिकहरुमा साडी लगाउने तरिका सिक्न पाइन्छ । जसले नेपाली महिलाहरुलाई सहज बनाएको छ । 

 

ट्रेडिसनल  साडीहरु पनि विकिनी व्लाउजमा लगाए पछि बोल्ड र ग्लाम्मरस बन्ने गर्छ । नेट जालीदार तथा हलुका साडीहरु साथै बनारसी साडी नेपाली महिलाहरुका रोजाइ हुन । त्यस वाहेक सिल्क, सिफोन, नेट, लेहेंगा, जर्जट साडी पनि नेपाली नारीहरुका लागी छनोटमा पर्छन ।

 

हिन्दु महिलाहरुले भाकल पुरा गर्न मन्दिरमा साडी चढाउने प्रचलन पनि छ । यसबर्षको तीजमा सजिएका कतिपय नारीहरुले साडी लगाउने तौरतरीकाले पनि साडीलाई ग्ल्याम्मर, बोल्ट फेसनका रुपमा स्विकारेको पाइन्छ । युवतीहरु भन्दा पनि उमेर ढल्केका महिलाहरुले साडी लगाउने तरीकालाई परिवर्तन गर्दै लगिरहेका छन । वयस्क महिलाहरु साडीमा धेरै सेक्सी र बोल्ड देखिन थालेका छन् । 

 

महंगा लेहेगा र कुर्ता    

चाडवाडको समयमा लेहेंङा र कुर्ताको माग अत्याधिक बढने गर्छ । प्रायजसो तीजका बेला यसको व्यापार धेरै हुन्छ । नेपालका ठूला शहरहरुमा करिब एकलाख रुपैयाँभन्दा धेरै मूल्य पर्ने सारी र लेहेगा उपलब्ध हुन थालिसकेका छन् ।

 

तीजलाई लक्षित गरी भारत, पाकिस्तान, बंगलादेश, सिंगापुर, थाइल्याण्ड, चीन लगायतका देशबाट मंहगा कुर्ता तथा लेहेंगाहरु नेपाली बजारमा भित्रिने गर्छन ।

 

तीज मात्र नभई दशै तिहारका बेला बहुमूल्य पत्थर, सितारा, जरी, चाँदी र सुनको जलपका साथै अतिरिक्त सज्जा गरिएका कुर्ता सुरुवाल र लेङ्गाको माग बढन थालेको छ  ।

 

साधारणभन्दा पनि बुट्टा भरेका कुर्ता, सुरुवाल, लेहेगामा पनि महिलाको अकर्षण बढ्न थालेको छ । बुट्टामा प्रयोग गरिने वस्तु र त्यसको डिजाइनको आधारमा यी पहिरनहरूको मूल्यमा पनि फरक पर्ने गरेको छ ।

 

लेहेगा र कुर्ता सुरुवाल कति महँगो बनाउने भनेर स्वयं व्यवसायी आफैंले समेत मूल्य निर्धारण गर्ने गरेका छन् । यसरी उहिले भन्दा अहिले मंहगा फेसनका पहिरनहरुमा महिलाहरुको क्रेज बढदै गएको पाइन्छ । जसका कारण नेपाली मौलिक पहिरनहरु ओझेल पर्न थालेका छन । 

 

दुईदिने तीज महिना दिनसम्म

उहिले गाउँघरमा माइत आएका साथीसंगीहरु मिलेर पाटी पौवा र चौतारोमा भेला भएर तीजे भाका गीत गाउँदै दर खाने प्रचलन थियो । मादल र ताली पड्काएर भजन र सिलोकमा रमाइलो गर्ने गरिन्थ्यो । यद्यपी, कतिपय गाउँहरुमा यस्तो चलन जीवीतै छ । 

 

पौराणिक कालदेखि चलिआएको परम्परालाई जोगाउने प्रयास गरिन्थ्यो । माइत आएका चेलीहरु चाँडै आफ्नै घर नपुगे श्रीमानको हप्की सहनुपर्ने वाध्यता थियो । तर समयानुकुल केही वर्षयता तीज एक महिनासम्मै मनाउने प्रचलन बढेको छ ।  रेष्टुरेन्ट, डिस्कोबार, पार्टी प्यालेसहरुमा दर खुवाउने होडबाजी हुने गरेको छ ।  राता साडी र गरगहनाको होडबाजी गर्न मंहगा स्थानमा दर खुवाउने प्रचलन बढन थालेको छ । एक दिन माईतीमा आएर खाइने दर महिनौं अघिदेखि खान र खुवाउन थालिएको छ ।

 

विभिन्न संघसंस्था र संगठनका महिलाले तीजको दर खाने नाममा चन्दा उठाउने, महँगा हल र पार्टी प्यालेस बुक गर्ने परम्परा बसेको छ । उनीहरूले यसलाई स्वतन्त्रता भन्न रुचाएका छन् । विशेष गरेर शहरी क्षेत्रमा दिनहु जसो पार्टीप्यालेस, होटल देखि तारे होटलसम्म र डिस्कोमा दर खाने र खुवाउने भन्दै धेरै रकम खर्च गर्ने प्रचलन बढेको छ । जसका कारण तीज महगो र भद्धा बन्दै गइरहेको छ । 

 

बदलिएको भाका

तीजमा गाउने गीतको आफनै महत्व र विशेषता छ । धार्मिक र पौराणीक शब्दहरुको संयोजनमा तयार भएका तीजे भाकाले धेरैलाई प्रफूल्लित पार्छ । उहीले तीजमा महिलाले मात्र गीत गाउने प्रचलन थियो । महिला मात्रै नाच्ने गर्थे । गीतमा गाँउ–ठाँउका घटना, चेलीबेटीका दुःखपीडा र ब्यथा, मुलुकका घटनाक्रम समेटिन्थे ।

 

तर हिजोआज पुरुषले पनि तीजका गीत गाँउन थालेका छन । अन्य दोहोरी गीतमा जस्तै केटाकेटी कम्मर मर्काइ मर्काइ नाच्ने प्रचलन बढेको छ ।  दोहोरी गीतमा जस्तै केटाकेटीले माया प्रीतीका गीत गाँउछन् । केटा र केटी नारिएर नाच्ने प्रचलन बढ्दै गइरहेको छ । 

 

अहिलेको प्राय तीजका गीतमा तीजका लय नै भेटिदैन । तीजको भाका, लय र शब्द बिगारेर गाइन्छ । पहिलेको गीतमा पुरुषको स्वर भएपनि चेलिबेटी लिन जाने, माइतीसँगको सम्बन्ध, आमाबुबाको सम्झनाका कुरासंग संवादको रुपमा प्रयोग हुन्थ्यो ।  

 

पहिलेको गीतमा चेलिबेटीका मर्म स्पर्सी भावना समेटिएको हुन्थ्यो, तर आजभोली यस्तो गाउन छाडिएको छ । पुराना तीजका गितमा पराईघर जाँदा उत्पन्न हुने विभिन्न जिम्मेवारी, तनाव र समस्या समेटिएको हुन्थ्यो जुन आजभोली हराउदै गएका छन् ।

 

तीजको गीतमा घटनाप्रधान र सृजनात्मक अभिब्यक्ति हुनुपर्ने मान्यता राखिए पनि यस्तो पाउन छाडिएको छ । सांगीतिक बजारमा निस्किएका तीजका गीत खर्चिलो र भड्किलो हुन थालेका छन । सन्देश दिने खालका तीजका गीत सांगीतिक बजारमा न्युन संख्यामा आउने गरेको छ । 

 

अधिकारको आवाज

तीज पर्वमा गाउँको चुल्हो देखि तारे होटलको किचेनसम्म महिला अधिकारको कुराले स्थान जमाउन थालेको छ । राजनीतिक, सामाजिक तथा सांस्कृतीक जागरणले महिलाहरुले देशको हरेक तह तप्कामा अधिकारको खोजी गर्ने अवसर पनि तीज बनेको छ ।

 

तीजमा आयोजना गरिने दर खाने कार्यक्रमहरुमा धेरैजसो महिलाअधिकारकर्मी, राजनीतिक दलका प्रतिनिधीहरुले चर्को भाषण गरेर अधिकार र अवसरका कुरा गर्ने गरेका छन् । उहिले तीज मनाउँदा उल्लास र उमंग कसरी बनाउने र धार्मिक तथा पौराणीक पक्षलाई कसरी पालना गर्ने भन्ने विषयले प्राथमिकता पाउँथ्यो । तर समयक्रमसँगै लैङ्गिक अर्थात महिला हिंसाका विरुद्ध आवाज सुनाउने अवसरका रुपमा पनि तीजलाई लिन थालिएको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार