• शनिबार १-८-२०८१/Saturday 04-20-2024
प्रविधी

श्रमदान र नगद सङ्कलनले गाउँ झिलीमिली

म्याग्दी । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने धौलागिरि गाउँपालिका–६ बुलमा विद्युत् सुविधा पुगेको छ । गाउँपालिकाको सहयोगमा स्थानीयवासीले श्रमदान र नगद सङ्कलन गरेर गाउँ झिलीमिली बनाएका हुन् । बुल गाउँका ४० घरमा बिहीबार बेलुकीदेखि बिजुली बलेको वडाध्यक्ष राजाराम सुवेदीले जानकारी दिए । 

 

छिमेकी मल्कवाङमा सञ्चालित नन्दीवाङखोला लघु जलविद्युत् परियोजनाको विद्युत् बुलमा विस्तार गरिएको हो । केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तारको तत्काल सम्भावना नभएकाले लघु जलविद्युतको बिजुली विस्तार गरिएको वडाध्यक्ष सुवेदीले जानकारी दिए । 

 

बुलमा विद्युतीकरणका लागि गाउँपालिकाले आर्थिक वर्ष २०७५(०७६ मा रु २५ लाख विनियोजन गरेको थियो । बिजुलीका पोल र तार ढुवानी गर्न रु तीन लाख २० हजार बराबरको श्रमदान गरेका उपभोक्ता समितिका अध्यक्ष नरबहादुर जुग्जालीले बताए । गाउँपालिकाको अनुदानबाट १०४ किलोग्राम तौल भएका ५६ थान विद्युत्का पोल र साढे सात किलोमिटर तार खरीद गरिएको थियो । पोल गाड्ने खाडल खन्न पनि श्रमदान गरिएको थियो । 

 

स्थानीयवासीबाट नगद सङ्कलन गरेर नन्दीवाङखोला जलविद्युत् परियोजनाको उपभोक्ता समितिलाई विद्युत् खरीदका लागि रु सात लाख ५० हजार बुझाइएको थियो । मल्कवाङको मलम्पारसम्म पुगेको विद्युत्को लाइन विस्तार गरेर बुल पुर्‍याइएको हो । मल्कवाङमा तीन वर्षअघि निर्माण भएको ४८ किलोवाट क्षमताको नन्दीवाङखोला जलविद्युत् परियोजनाको विद्युत् उपभोग हुन नसकेर खेर गइरहेको थियो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार