‘नाटकले मेरो परिवारलाई ऋण बोकायो’
रंगमञ्चमा लाग्नुभएको कति भयो ?
रंगमञ्चमा लागेको आज १७ वर्ष जति भयो ।
नाटकमा तपाईको सुरुवात कसरी भयो ? कहिले तपाई लाग्यो यही क्षेत्रमा काम गर्छु भन्ने ?
मेरो नाटकमा सुरुवात नाटकीय पारामा भएको हो । म लहलहैमा नाटकको निर्माता भएको थिए । तर नाटकले मलाई एकदमै ठुलो घाटा लगायो । परिवारलाई ऋण बोकायो । घरमा पनि नराम्रो भईयो । तै पनि मैले हिम्मत हारिन् । जीवनभर यही नाटकमा नै लाग्छु भन्ने मुर्ख सोच बनाए । त्यतिबेला नाटकमा खासै राम्रो अवसर थिएन । तर जब गुरुकुल खुल्यो । त्यसपछि त मेरो भाग्य खुल्यो भन्दा हुन्छ । मैले आफुले सोचेको कुराहरु गर्न पाए । त्यसपछि मेरो असली जीवनको सुरुवात नाटकबाट भयो ।
नाटक गरेर के हुन्छ खासमा ? आम मानिसले किन नाटक हेर्ने जस्तो लाग्छ तपाईलाई ?
यो ब्रहमाण्डको हामी मानव जाती अन्य जाती जस्तै (पशु, बोटबिरुवा) भन्दा बढि गति र लय भएका प्राणी हौं । हामी आफुमा गति र लय भएन भने जीवनलाई सार्थक मान्दैनौं अझ भनौं हामी जीवनलाई मृत्यु ठान्छौं ।
यसमा गति भनेको, हामी जहिले अगाडी बढ्न खोज्छौ, केहि गर्न खोज्छौं , केहि नयाँ बनाउन खोज्छौं , सिर्जना गर्न खोज्छौं, हामी त्यसै चुप लगेर बस्ने सक्दैनौं , लय भनेको, हामी उत्सुक हुन्छौं, प्रभावित हुन्छौं, प्रोत्साहित हुन्छौं , बुझ्छौ, सिक्छौ , सुधरिन्छौ, यसरी हेर्दा गति भनेको भौतिक निर्माण र बिकास हो ।
लय भनेको मानविय सभ्यता निर्माण र विकास हो । भौतिक विकासमा हाम्रो प्रत्यक्ष काम छैन तर मानवीय सभ्यता निर्माण विकासमा नाटकको प्रतत्यक्ष संलग्नता छ । हामीले नाटक गर्दा मञ्चमा सम्वाद मात्रै बोलेका वा शारिरिक हाउभाऊ मात्रै देखाएका हुदैनौं । त्यसभन्दा बढी हामी गहिरो रुप मा मानविय आचरण र सम्बोधन बोलिरहेका हुन्छौं ।
यो गम्भिर कुरा हो। मानव आचरण को सम्बोधनलाई उत्सुक र बुझक दर्शक माझ प्रस्तुत गरेर उनीहरूलाई प्रभावित गर्नु, प्रोत्साहित गर्नु, र सिक्ने सुधारिने ठाउँ दिनु नाटक को मुख्य काम हो । या भनौं सम्पूर्ण प्रस्तुति कलाको दयित्व हो । त्यसैले नाटकले हाम्रो जीवनमा ठुलो महत्व राखेको छ र यसलाई इमान्दार, अनुशासित र जिम्मेवार भएर गर्नुपर्छ ।
बिश्वबिधालयको कक्षा कोठामा एकजना प्रोफेसरले सय दुईसय बिधार्थी अगाडी राखेर आफ्नो क्षमताले भ्यायसम्मको हाउभाउ देखाएर प्रस्तुति दिन्छ, एकल प्रस्तुति, कथा हुन्छ , सम्वाद हुन्छ, शारिरिक चाल हुन्छ । त्यो पनि प्रस्तुति कै एउटा अंग हो । त्यहाँ पनि उसले आफ्नो क्षमताले भ्याएसम्म बिद्यार्थी दर्शकलाई उत्सुक बनाउने, प्रभावित गर्ने र प्रोत्साहित गर्ने गर्छ ।
कुनै पनि मानविय विकासले परिपक्क मुलुकमा हेर्ने हो भने त्यहाँका हरेक शैक्षिक सस्थामा नाटक बिभाग हुन्छ र नाटक गरिन्छ । यसबाट पनि हामी बुझ्नु सक्छौ ती मुलुकको मानव सभ्यताको विकासमा नाटकले भूमिका खेलेको छ ।
तपाईले नाटकमा अभिनय गरेको खासै देखिदैन, नाटकमा अभिनय गर्न मन लाग्दैन कि चान्स नपाएको ?
हाहाहाहाहा...... कति स्वादिलो प्रश्न । यो एकदमै गलत कुरा हो । म पेशागत रुपमा नाटकबाट नै बाँचेको थोरै मध्य देखिने नदेखिने एक हुँ । अब अरुको कुरा मलाई खासै थाहा हुँदैन ।
आफैंले नाटक निर्देशन गरेर नाटक चलाउन कत्तिको सजिलो छ ?
अहिले एकदमै सजिलो छ । नाटकघरहरु पनि मनग्य छन् । अहिले नाटकमा जनशक्ति पनि छ र नाटक हेर्ने दर्शकको पनि कमी छैन ।
पुरानो रंगकर्मी कसको कामबाट तपाई धेरै प्रभावित हुनुहुन्छ ?
यसमा पुरानो नयाँ भन्दा पनि हरिहर शर्मा, सुनिल पोखरेल, अनुप बरालको कामहरुबाट म धैरै प्रभावित छु ।
विश्व बजारमा हाम्रो कला साहित्य परिचित हुन नसकेको हो ?
यसमा बिचार र सोचाई गम्भिर कुरा हो । यसमा हाम्रो आफनै क्षमताको कारणले यस्तो भएको हो कि जस्तो लाग्छ । हामीले हाम्रो कामको व्यवस्थापनलाई भयंकर सुधार गर्नुपर्छ । बिश्व बजार माया, दया र दानले मात्र चल्दैन । त्यहाँ इमानदारिता, लगनशिलता र अनुशासन अलि धेरै चाहिन्छ । यसबारेमा हामीहरुले आत्मसमिक्षा गर्नुपर्छ ।
रंगमञ्चलाई सरकारले त्यति चासो नदिएकोे हो ?
होइन, बिश्वका अन्य देशको तुलनामा हेर्ने हो भने नेपाल सरकारले रगमञ्चलाई आवश्यकता अनुसार चासो दिएको देखिन्छ ।
नाटक मै लागेर जिन्दगी धान्न सकिन्छ ?
अवश्य सकिन्छ । यो क्षेत्रमा आज १७ वर्ष भयो । जिन्दगी धानीनै रहेको छु । अब आफुलाई हेरेर कसरी सकिँदैन भनौं ।
अहिले रंगकर्मीमा नाटक निर्देशन गर्ने होडबाजी चलेको छ, के हो यो ?
यो रंगकर्मीमा देखिएको समस्या हो ।
तपाई कम बोल्ने तर काम धेरै गर्ने भन्छन् नी हो ?
मलाई बोल्न एकदमै अल्छी लाग्छ । म बोलेर भन्दा पनि काम गरेर देखाउन चाहन्छु । मेरो पहिलो प्राथमिकता भनेको काम नै हो ।
प्रस्तुति : सुकृत नेपाल
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस