• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
पत्रपत्रिका

राप्रपा एकता टर्‍यो ‘अध्यक्ष’ पद नै बाधक

काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र पशुपति शमशेर राणा तथा डा. प्रकाशचन्द्र लोहनी संयुक्त अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पाटी (संयुक्त) बीचको एकता पर धकेलिएको छ ।

 

राप्रपा उच्च स्रोतका अनुसार एकतापछिको दलमा अध्यक्ष कति जना रहने भन्नेमा कुरा नमिल्दा तत्कालका लागि एकीकरणको सम्भावना टरेको हो ।स्रोतका अनुसार राप्रपाले एकतापछिको दलमा दुई अध्यक्षको प्रस्ताव गरेको छ भने राप्रपा संयुक्तले तीन अध्यक्ष रहने गरी प्रस्ताव गरेको छ । राप्रपा संयुक्तका अध्यक्ष राणाले भने पदका विषयमा कुनै छलफल नै नभएको भन्दै पहिले आन्तरिक समायोजन सकेर मात्रै अन्य दलसँग एकताको पहल हुने बताए ।

 

‘हाम्रो दल पनि भर्खरै एकीकरण भएको हो, पहिले आन्तरिक समायोजन सक्छौं । अनि मात्रै अन्य दलसँग एकता हुन्छ । पदका विषयमा कुरा भएको छैन,’ अध्यक्ष राणाले राजधानीसँग भने । उनले एकताका विषयमा राप्रपा अध्यक्ष थापासँग कुनै कुराकानी नभएको तर भेट भने भएको बताए । ‘एकताकै विषयमा कुनै छलफल भएको छैन । भेटघाट त भइरहन्छ,’ राप्रपा (संयुक्त) अध्यक्ष राणाले थपे ।

 

राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले भने दुवै अध्यक्षबीच केही समयअघि एकीकरणको विषयमा वार्ता भएको तर राप्रपा ९संयुक्त० नेतृत्वको इच्छाशक्ति नहँुदा एकता तत्कालका लागि धकेलिएको बताए । उनले पार्टी एकताका विषयमा नीतिगत तथा सैद्धान्तिक मुद्दामा भने सहमति भइसकेको जनाए ।

 

‘राप्रपा (संयुक्त) नेतृत्वको इच्छाशक्ति नहुँदा एकता धकेलियो, एकताका विषयमा नीतिगत तथा सैद्धान्तिक मुद्दामा भने सहमति भइसकेको छ,’ श्रेष्ठले भने । एक साताअघि मात्रै राप्रपा अध्यक्ष कमल थापाले राप्रपाबीचको एकता तत्कालका लागि टरेको भन्दै सामाजिक सञ्जालमा नै लेखेका थिए । हाल उनी देश बाहिर छन् । बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिबीच एकता आवश्यक भएको भन्दै दुवै राप्रपाले पार्टी एकतामा जोड दिँदै आएका बेला पदका विषयमा सहमति नहुँदा एकतामा अन्योल देखिएको हो ।

 

२०४७ सालमा गठन भएको राप्रपा यसबीचमा पटक–पटक फुट्दै र जुट्दै आएको छ । मुलुकमा गणतन्त्र स्थापना भएपछि समेत गणतान्त्रिक व्यवस्थालाई स्विकार्न अनकानी गर्दै आएका दुवै दल पछिल्लो समय राजसंस्थालाई नै अंगीकार गर्न तयार भएका हुन् ।

 

राजसंस्था सहित हिन्दू राष्ट्र पुनस्र्थापनाको विषयलाई अहिले दुवै दलले आफ्नो मूल सिद्धान्त मान्दै आएका छन् । यही निकटतामा कुरा नमिलेका कारण उनीहरूबीच २६ साउन २०७५ मा पार्टी एकताको तयारी भए पनि अन्तिम समयमा विफल भएको थियो । त्यसको केही समयपछि राणा र लोहनी नेतृत्वको राप्रपाबीच मात्रै एकता भएको थियो । तत्कालका लागि एकता प्रक्रिया बिथोलिए पनि बलियो राष्ट्रवादी शक्तिबीच निरन्तर एकताको प्रयास भइरहने दुवै पार्टीले बताउँदै आएका छन् । राजधानी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार