• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
बिश्व

ब्राजिलमा अमेजनको डढेलो नियन्त्रणका लागि सेना परिचालन

काराकस । ब्राजिलका राष्ट्रपतिले अमेजन जङ्गल क्षेत्रमा लागेका आगो निभाउन सशस्त्र सुरक्षा फौजलाई आदेश दिएका छन् । राष्ट्रपति जइर बोल्सोनारुले देशका संरक्षित प्राकृतिक क्षेत्र, आदिवासी भूभाग र सीमावर्ती क्षेत्रहरूमा लागेका आगो नियन्त्रणमा लिनका लागि सैनिकहरू खटाउन आदेश दिएका हुन्।

 

युरोपेली नेताहरूले अमेजन क्षेत्रमा लागेका आगो निभाउनका लागि ब्राजिलमाथि दबाब तीव्र बनाएपछि बोल्सोनारुले यस्तो आदेश दिएका हुन्। उनले जङ्गलमा लागेको आगोको बहानामा कुनै पनि देशविरुद्ध सजाय दिइनु उचित नहुने भन्दै ब्रजिलविरुद्ध अन्य देशहरूले दिएको प्रतिक्रियाको आलोचना गरेका छन्।

 

ब्राजिलले अमेजनका जङ्गलमा लागेका आगो निभाउन थप काम नगरे दक्षिण अमेरिकी देशहरूसँगको आफ्नो ठूलो व्यापार सम्झौता नवीकरण नगर्ने चेतावनी फ्रान्स र आयरल्याण्डले दिएपछि बोल्सोनारुले पछिल्लो कदम चालेका हुन्।

 

जानाजान आगो लगाएको आशङ्का
धेरैजसो आगो किसानहरूले वन मासेर खेतीयोग्य जमिन पाउनका लागि जानाजान लगाएको हुनसक्ने आशङ्का गरिएको छ। बोल्सोनारुको अमेजनको जमिनलाई कृषि र खानीको लागि प्रयोग गर्न दिने नीतिका कारण उनको आलोचना भइरहेको छ।

 

तर शुक्रवार टेलिभिजनमार्फत् सम्बोधन गर्दै उनले 'विश्वभर नै वनमा आगलागी हुने गरेको' बताउँदै त्यसलाई ब्रजिलविरुद्ध 'सम्भाव्य अन्तर्राष्ट्रिय प्रतिबन्धको बहाना बनाउन नहुने'मा जोड दिए।

 

अमेजनका वनमा आगलागी भइरहँदा ब्रजिलमा वातावरणवादी समूहहरूले विरोध प्रदर्शन गर्दै आगोसँग जुध्न थप कदम चालिनु पर्ने माग गरेका छन्। अन्य देशमा रहेका ब्रजिलका दूतावासहरू बाहिर पनि त्यस्तै प्रदर्शनहरू भएका छन्।

 

अमेजन विश्वकै ठूलो वर्षावन अर्थात् रेन फरेस्ट हो र त्यहाँ भित्र सङ्ग्रहित हुने कार्बनले विश्वको तापमानमा वृद्धि हुने क्रमलाई सुस्त बनाइदिन्छ।

 

'विश्वको फोक्सो' मानिने अमेजन क्षेत्रमा ३० लाख प्रजातिका वनस्पति तथा वन्यजन्तु पाइन्छन्। त्यहाँ करिब १० लाख आदिवासी मानिस बसोबास गर्दछन् । बीबीसी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार