• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
बिश्व

भारतका पूर्व बित्तमन्त्री जेट्लीको निधन

मुम्बई । लामो समयदेखि बिरामी परेका भारतका भूतपूर्व अर्थमन्त्री अरुण जेटलीको शनिवार निधन भएको छ। उनलाई सास फेर्न अप्ठेरो भएपछि अगस्ट ९ तारिखमा दिल्लीस्थित एम्स् अस्पतामा भर्ना गरिएको थियो।

 

प्रधानमन्त्री नरेन्द्र मोदीका नजिकका सहयोगी रहेका ६६ वर्षीय जेटली सत्तारूढ भारतीय जनता पार्टी बीजेपीका वरिष्ठ सदस्य थिए। जेटली भारतका अर्थमन्त्रीका हैसियतमा दुई वर्षअघि नेपालमा लगानी सम्मेलनमा भाग लिन आएका थिए। त्यतिबेला उनले नेपालको आर्थिक विकासका लागि विविध क्षेत्रमा लगानी गर्न भारत सरकार प्रतिबद्ध रहेको बताएका थिए।

 

वस्तु तथा सेवा करका अगुवा
बीजेपीको पहिलो कार्यकालमा अर्थमन्त्रीको पद सम्हालेका जेटलीले भारत स्वतन्त्र भएपछि पहिलो पटक ल्याइएको वस्तु तथा सेवा कर लागु गर्न महत्त्वपूर्ण भूमिका खेलेका थिए। यसै वर्ष पुनस् चुनाव जितेपछि बनेको नयाँ सरकारका भने उनी आफ्नो स्वास्थ्य स्थितिका कारण सहभागी भएनन्। गत वर्ष उनको मिर्गौला प्रत्यारोपण गरिएको थियो।

 

जेटली अर्थमन्त्री भएकै बेलामा प्रधानमन्त्री मोदीले रातारात ५०० र १,००० दरका भारतीय रुपैयाँका नोट वित्तीय प्रणालीबाट हटाउने निर्णय गरिदिएका थिए। भ्रष्टाचार र नोटहरुको अवैध सङ्कलन रोक्न थालिएको नोटबन्दी भनिने त्यो कदमको असर भारतीय अर्थतन्त्र र वित्तीय प्रणालीमा मात्रै परेन। त्यसको असर नेपालमा पनि परेको थियो।

 

भारतले अन्य देशमा भएका नोटहरू साटिदिए पनि नेपालमा रहेका नोटहरू हालसम्म साटेको छैन। जेटलीको अगुवाइमा थालिएको वस्तु तथा सेवा कर जीएसटीले भारतमा छरिएको कर प्रणालीलाई एकरूपता दिन सफल भयो।

 

विद्यार्थी राजनीति
पेसाले वकिल रहेका जेटली सन् १९७० को दशकको अन्त्यतिर भारतको कलेज राजनीतिमा सक्रिय थिए। उनी दिल्ली विश्वविद्यालयको विद्यार्थी युनियनको सभापति चुनिएका थिए।प्रधानमन्त्री इन्दिरा गान्धीले सन् १९७५ देखि १९७७ सम्म लगाएको सङ्कटकालका बेला थुनिएका अभियानकर्ताहरू मध्येका उनी एक थिए।

 

सन् १९८९ मा भारतको अडिशनल सोलिसिटर जनरल नियुक्त भएका जेटली सन् १९९१ मा बीजेपीमा आबद्ध भएका थिए। सन् २००२ मा उनी बीजेपीको महासचिव भए। त्यसपछि उनले पार्टीका प्रवक्ताको भूमिका समेत निर्वाह गरे।

 

राजनीतिक वृत्तहरुमा धेरै मित्रहरू कमाएका जेटलीलाई पार्टीभित्र र बाहिर खटपट पर्दा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्न लगाइन्थ्यो। दिल्लीस्थित बीबीसी सम्वाददाता नीतिन श्रीवास्तव भन्छन् जेटली 'एक क्रिकेटप्रेमी राजनीतिज्ञ थिए जसलाई कानुनबारे पनि उत्तिकै जानकारी थियो।'

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार