• मंगलबार १-११-२०८१/Tuesday 04-23-2024
देश/प्रदेश

विराटनगरमा भुस्याहा कुकुरको आतंक 

विराटनगर । विराटनगर–४ का महेश कार्की कुकुरसँग औधी डरलाग्ने बताउँछन् । “हाम्रो टोलमा यति कुकुर छन् कि बिहान र रातिमा हिँड्नै मुस्किल हुन्छ ।” उनले भने, “बिहान छ्याङ्ग उज्यालो भएपछि मात्र हिँड्छु, राति त घरबाटै निस्कदिन”, उनी त एउटा प्रतिनिधिपात्र मात्र हुन् । उनीजस्ता धेरै विराटनगरवासी भुस्याहा कुकुरको डरले घरदेखि बाहिर निस्कदैनन् । रातको समयमा विराटनगरका सडकमा कुकुरका कारण पैदल हिँड्नै कठिन हुने गरेको बताउँछन् सञ्चारकर्मी यज्ञ अधिकारी । राति पत्रिकाको काम सकेर घर फर्कंदा खल्तीमा ढुङ्गा बोकेर हिँड्ने गरेको अनुभव छ उनीसँग । आजकल उनी मोटरसाइकल प्रयोग गर्छन् । 

 

विराटनगर–८ निवासी अर्का स्थानीय पदम सरदारको टोलमा पनि कुकुरको बिगबिगी उस्तै छ । “बाइक पछिपछि लखेटेर लडाउँला जत्तिकै पार्छन्”, उनले भने, “विचरा कुकुरसँग धेरै डराउने कोही कोही त रोकेर विस्तारै डोर्याउँदै जान्छन् ।” स्थानीय रमेश श्रेष्ठले पाँच वर्षकी छोरीलाई विराटनगर बजार लिएर निस्किए । सडकको छेउमा भाले कुकुर र पोथी कुकुरले यौन सम्पर्क गरेको दृश्य देखियो । उनी साइड लागेर हिँडे । त्यतिमात्र होइन भुस्याहा कुकुरहरु छाउरी कुकुर देख्ने बित्तिकै लाइन लागेर खेदाइरहेको बजारमा देख्न पाइन्छ ।
 

भुस्याहा कुकुरको बिगबिगी बढेपछि विराटनगरवासीले हैरानी खेप्नुपरेको छ । दिउँसै यौन सम्पर्क गरेरबीच बाटोमा उर्भिहने दृष्यले परिवारका सदस्यको पदैल यात्रासमेत लाजमर्दो बन्ने गरेको विराटनगर–७ का रमेश कोइरालाको भनाइ छ । 


राति काम परेको खण्डमा घर बाहिर निस्कनसमेत मुस्किल हुने गरेको विराटनगरका शर्मिला गौतमको भनाइ छ । साँझमा केटाकेटीलाई घर बाहिर निस्कँदा टोकी देला भन्ने त्यतिकै डर हुने उनले गुनासो गरिन् । महानगरमा कुकुर जतासुकै झगडा गरिरहेको, बिरामी र घाइते देखिन्छन् । कुकुरको वृद्धि नियन्त्रणमा महानगरले ध्यान नदिँदा जतासुकै कुकुरै कुकुर भएका छन् । साँझ परेपछि त झन सडकमा हिँड्नै मुस्किल हुने गरेको यात्री गुनासो गर्छन् । 

 

कुकुरको सङ्ख्या अत्यधिक भएपछि विराटनगरमा सवारी दुर्घटनाको सम्भावना बढाएको छ ।  विराटनगर पोखरीयाका सिटी रिक्सा चालक आमोद कुर्मी कुदीरहेको बेला खुट्टामै झम्टने गरेको बताउँछन् ।  


विराटनगर महानगरपालिकाका भेटेनरी शाखा प्रमुख हीरालाल यादवले कुकुर बन्ध्याकरण कार्यक्रम सञ्चालन गरेको बताए ।  उनले भने, “बन्ध्याकरणको कार्यक्रम प्रत्येक वर्ष चल्छ । कुकुरकै कारणले सवारी दुर्घटना बढ्यो भन्न नमिल्ने मोरङ ट्राफिक प्रमुख शिव पोखरेल बताउँछन् । विराटनगरमा कुकुरको सख्या निक्कै भए पनि सडकमा सवारी चाप भएको समयमा कुकुरहरु ननिस्कने उनको भनाइ छ ।  

 

 कुकुर बन्ध्याकरण प्रभावकारी नहुँदा समस्या 

महानगरपालिकाको पशुपक्षी शाखाले सञ्चालन गर्ने बन्ध्याकरण प्रभावकारी नभएपछि कुकुर आतङ्क बढेको स्थानीय चन्दु धाडेवा बताउँछन् । २२ दशमलव ६ वर्गमिटर क्षेत्रफल रहेको महानगरमा २५ हजार कुकुर बस्ने गरेको तथ्याङ्क महानगरपालिकाका शाखा प्रमुख हीरालाल यादवले बताए । 

 

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली भन्छन्,  अझै प्रभावकारी तरिकाले काम गर्छौं । यसअघि कुकुरको नियन्त्रण हत्या गरेर गरिन्थ्यो । कुकुरको हत्या कानुनले बन्देज लगाएको छ ।  विसं २०७० मा कुकुर हत्या गर्न नपाइने भन्दै जिल्ला पशुसेवा कार्यलय मोरङले परिपत्र गरेको प्रमुख यादवको भनाइ छ । 

 

द्रुत गतिमा विकास भइरहेको विराटनगर महानगरको सुन्दरतालाई बढ्दो भुस्याहा कुकुरले चुनौती दिएको छ । सडक निर्माणले मात्र नगर सुन्दर हुँदैन यस्ता छाडा कुकुर र चौपाया पनि नियन्त्रण हुन उत्तिकै आवश्यक रहेको विराटनगरवासीको भनाइ छ ।गोपालप्रसाद पोखरेल /रासस

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार