• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
विचार

नेपाल र भारतका भगवान् एकै हुन् !

केही दिन पहिले एकजना विद्वान् मित्रले टेलिभिजन अन्तर्वार्तामा भन्नुभयो—“नेपाल र भारतको सनातन धर्म अर्थात् हिन्दू धर्म एउटै होइन । भारतीयहरू वैष्णव सम्प्रदायका हुन् र नेपालीहरू शैव तथा शाक्त सम्प्रदायका हुन् ।”

 

उहाँको निराधार तर्कले उहाँ र उहाँका दर्शक–श्रोताहरूलाई भ्रममा पार्न सक्ने हुनाले श्रीकृष्ण जन्माष्टमीका सन्दर्भमा गुरुकृपावश स्पष्टीकरण दिने अनुमति चाहन्छु ।

 

सामान्यतया अध्यात्म–लोकमा द्विदलीय व्यवस्था छ । १. पुरुष दल २. प्रकृतिदल । भगवान् तथा भगवतीका शासकीय भूमिकालाई सत्, चित् र आनन्द तीन तहमा विभाजन गर्न सकिन्छ । सत् अर्थात् सन्धिनी शक्तिबाट ब्रह्म, चित् अर्थात् संवित् शक्तिबाट परमात्मा अनि ह्लादिनी अर्थात् आनन्द शक्तिबाट भगवान् शक्तिशाली छन् । प्रकृति शक्ति हुन् भने पुरुष शक्तिमान् हुन् । शक्ति र शक्तिमान् भिन्न त हुन् तर भिन्न भएर बस्नै सक्तैनन् ।

 

नेपालका कथित प्रगतिशील तथा प्रजातान्त्रिक सरकारमा बसेकाहरूको विधर्मी चिन्तनले पनि त्यस्तै भ्रम पालेको हुनुपर्छ । श्रीकृष्ण जन्माष्टमीमा सरकारी बिदा दिन छोडिएछ । मानौँ पाखण्ड राष्ट्रवादीहरूका लागि श्रीकृष्ण भारतीय भगवान् हुन् अनि शिव चाहिँ नेपाली भगवान् !

 

अब म भ्रमको उपचारतिर प्रवेश गर्छु । भगवान् श्रीकृष्ण श्रीराधालाई आत्मा मान्दछन् । ‘आत्मा तु राधिका तस्य’ भनिएकै छ । उता श्रीराधा श्रीकृष्णलाई आफ्नो आत्मा मान्दछिन् । श्रीकृष्ण र श्रीराधा एक-अर्काका आत्मा हुन् । राधाविना कृष्ण आधा छन् र कृष्णविना राधा पनि आधा छिन् । यी दुई नित्य सँगसँगै छन् र पूर्णतम छन् ।

 

श्रीकृष्ण र श्रीराधाकै चरणकमलमा करोडौँ ब्रह्माण्ड जगत् अटाएका छन् । हामी बसेको सिङ्गो ब्रह्माण्ड त उनीहरूको एउटा रौँ जत्रो छ ।

 

शिवको सन्दर्भमा राधा कहाँबाट आइन्? पाठकहरूलाई लाग्न सक्छ । यस्तो लाग्नु स्वाभाविक पनि हो । राधा र कृष्ण, शिव र नारायण, सदाशिव र विष्णु, रुद्र र सङ्कर्षण, ब्रह्मा र प्रद्युम्न, चन्द्रमा र अनिरुद्ध नित्य सँगसँगै छन्, सँगसँगै भइरहन्छन् । उपर्युक्त जोडीमध्ये अगिल्लो क्रममा आउने राधा, शिव, सदाशिव, रुद्र, ब्रह्मा र चन्द्रमा शिव–क्षेत्रका हुन् भने कृष्ण, नारायण, विष्णु, सङ्कर्षण, प्रद्युम्न र अनिरुद्ध कृष्ण–क्षेत्रका हुन् । अनेकौँ पुराण तथा गर्ग–संहिताले समेत उपर्युक्त कुरालाई पुष्टि गरेका छन् । जसले भगवान् शिव र श्रीकृष्णमा भेद देख्दछन् तिनैले नरक टेक्दछन् । शिव तथा शक्ति बायाँतिर छन् अनि श्रीकृष्ण र उनका व्यूहरूपहरू दायाँतिर छन् । यी वामपन्थी र दक्षिणपन्थीहरू मिलेर संसारको सृष्टि, स्थिति र संहार गर्दछन् ।

 

जनकपुरकी जानकी विना अयोध्याका श्रीराम रहँदैनन् । भगवान् सदाशिवको पाउ केदारनाथ हुन् भने शिर भगवान् पशुपतिनाथ ! भारतका विश्वनाथ र नेपालका पशुपतिनाथ हाम्रा साझा आराध्य हुन् । नेपाल र भारत समान छन्, नेपाल बायाँ छ, भारत दायाँ छ । नेपालविनाको भारत पनि आधा छ । नेपालको स्वतन्त्रतालाई संरक्षित गर्नु भारतको कर्तव्य हो ।भगवान् शिव अद्र्धनारीश्वर हुन् । उनी शिवशक्तिले युक्त छन् । श्रीमद्भागवतको दशम स्कन्धमा रासलीलाको विस्तृत वर्णन छ । गोपिनीको वेशमा रासभित्र प्रवेश गर्ने राधा नै भगवान् शिव हुन् । 

 

सामान्य द्वापर युगमा अवतरित श्रीकृष्ण विष्णुका अवतार हुन् । तर अट्ठाइसौँ द्वापर युग अर्थात् आजभन्दा पाँच हजार एक सय बीस वर्षभन्दा अगाडिको समयमा धराधाममा अवतरित श्रीकृष्ण परिपूर्णतम भगवान् हुन् । यस समयमा अवतरित श्रीकृष्णले विराट् महाविष्णु, नारायण, विष्णु तथा परिपूर्णतम श्रीकृष्णको भूमिका निर्वाह गरेका छन् । द्वारका दरबारमा सो¥ह हजार एक सय आठ महारानीका महाराज श्रीकृष्ण विष्णु हुन् । अर्जुनलाई रणभूमिमा दर्शन दिने विराट् स्वरूप महाविष्णु हुन् । अर्जुनलाई दर्शन दिने चार हाते श्रीकृष्ण नारायण हुन् । गोपिनीहरूसँग रासलीला गर्ने श्रीकृष्ण चाहिँ परिपूर्णतम श्रीकृष्ण हुन् । 

 

उक्त युगमा बालकृष्ण बन्ने भगवती भद्रकाली हुन् भने बालिका राधा बन्ने चाहिँ भगवान् शिव नै हुन् । 

 

परिपूर्णतम श्रीकृष्ण कै आधा वामाङ्ग श्रीराधा हुन् । तिनै श्रीकृष्णका आधा वामाङ्ग शिव हुन् । शिवका अनेक पर्यायवाची नाममध्ये वामदेव पनि एक हो । विष्णुका हजार नाममध्ये पाँच सय नाम शिवका पर्छन् । शिवका हजार नाममध्ये पाँच सय नाम विष्णुका पर्छन् । शास्त्रज्ञान र भक्तिभाव नभएकाहरूले मात्रै भेद गर्छन् ।

 

पौराणिक कालदेखि नै नेपाल स्वतन्त्र राष्ट्र हो । भारतको वर्तमान सरकारले पनि बुझेकै हुनुपर्छ, नेपाल स्वतन्त्र नभएसम्म भारत स्वतन्त्र हुन सक्तैन । मैले राष्ट्रवादी नेपाली हुनका लागि नेपालकै प्रेम गर्नुपर्छ । भारत अथवा चीनको विरोध गरेर म राष्ट्रवादी हुन सक्तिनँ । नेपालको राजनीतिक भाषामा भन्नुपर्छ भने भगवान् शिव वामपन्थी हुन्, भगवान् श्रीकृष्ण दक्षिणपन्थी हुन् । यिनै वामपन्थी र दक्षिणपन्थीको रचनात्मक संयुक्त शासनद्वारा असंख्य ब्रह्माण्ड र जीवहरूको स्वतन्त्रता सुरक्षित छ । गर्ग–संहिता, ब्रह्मवैवर्त पुराण, उपनिषद्, गीता, महाभागवत (देवीपुराण) आदि ग्रन्थका आधारमा उपर्युक्त विश्लेष्ण गरिएको हो । मैले आत्मसात् गरेको ‘अन्तर्लौकिक लोकतान्त्रिक साम्यवाद’ यही सनातन द्विदलीय व्यवस्थाप्रति प्रतिबद्ध छ । 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार