• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
देश/प्रदेश

अवैधरूपमा बालुवा निकासी गर्ने सात ट्र्याक्टर नियन्त्रणमा

खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङले नदीबाट अवैधरूपमा बालुवा निकासी गरिरहेको अवस्थामा सात ट्र्याक्टर नियन्त्रणमा लिएको छ । 

जिल्लाको उत्तरीक्षेत्रमा पर्ने रावाबेँसी गाउँपालिका–३ लामीडाँडाको रभुँवास्थित दूधकोशीको बालुवा निकालेर दिक्तेलतर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरीले बुधबार नुनथलाबाट सात ट्र्याक्टर नियन्त्रणमा लिएको हो ।

 

बालुवा लिएर आउँदै गरेको अवस्थामा प्रहरीले ना४त ९१७२, को२त ८२३८, ना४त ९६५५, ना५त ६६८३, को२त १३८४ र को१त ३८१२ नम्बरको ट्र्याक्टरसहित चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक बामदेव गौतमले बताए ।

 

स्थानीयवासीले दिएको सूचनाको आधारमा बालुवा निकासी गर्ने ट्र्याक्टर र चालकलाई प्रहरी चौकी नुनथलाले नियन्त्रणमा लिएको हो ।

रावाबेँसी गाउँपालिका–३ लामीडाँडा वडा कार्यालयलाई प्रतिट्र्याक्टर रु ५०० राजश्व बुझाएको रसिद हुँदाहुँदै प्रहरीले बालुवा नियन्त्रणमा लिएको निकासीकर्ताले आरोप लगाएका छन् । जुनसुकै खोला तथा नदीबाट असारदेखि भदौको बीचमा ढुङ्गा, गिट्टी, बालुवालगायत निर्माण सामग्री उत्खनन गर्न नपाइने नेपाल सरकारको नियमानुसार ट्र्याक्टर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

 

प्रहरीले नियन्त्रणमा लिएको ट्र्याक्टरलाई जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा गठित जिल्ला अनुगमन समितिलाई बुझाइएकोे छ । सातमध्ये एक ट्र्याक्टर भने प्रहरी चौकी नुनथलाकै नियन्त्रणमा राखिएको जनाइएको छ ।

ट्र्याक्टर चालकलाई भने सवारी चालक अनुमतिपत्र र सवारी दर्ता प्रमाणपत्र राखेर छाडिएको छ । वातावरणीय प्रभावकारी मूल्याङ्कन नगरी बालुवा निकासी गरेको पाइएकाले प्रहरीले ट्र्याक्टर र बालुवा जफत गरिएको जिल्ला समन्वय समितिका प्रमुख एवम् अनुगमन समितिका संयोजक बबि चाम्लिङले बताए ।

 

जिल्लाको दूधकोशीको रभुँवाघाट, जयराम, लुलीमा, हात्तीटार, सुनकोशीको बतासेघाट, फोक्सिङटारलगायतका क्षेत्रबाट वातावरणीय प्रभावकारी मूल्याङ्कन नगरी अनियन्त्रित तरिकाले दैनिक ढुङ्गा, गिट्टी, बालुवा निकाल्ने काम भइरहेको छ । रावाखोला, साप्सुखोलाका विभिन्न खोलाबाट समेत गिट्टी, बालुवा निकासी भइरहेको छ ।रासस
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार