• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
राजनीति

विपक्षी दलप्रति मेरो कुनै नकारात्मक धारणा छैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले विपक्षी दलप्रति आफ्नो कुनै नकारात्मक धारणा नरहेको प्रष्ट पारेको छन्। आज बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले मुलुकको विकास र समृद्धिका लागि सबै दल मिलेर जान आव्हान गरे ।

 

विशेषगरी सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारीको टुंगो लगाउनेगरी बसेको बैठकले कुनै ठोस निर्णय गर्न सकेन । प्रधानमन्त्री स्वास्थ्योपचारबाट फर्किएपछि फेरि बैठक बस्ने बताइएको छ ।

 

बैठकमा प्रधानमन्त्री केपी ओलीले आफ्नो स्वास्थ्य अवस्थाबारे पनि जानकारी दिएका थिए। उनले बाहिर हल्ला चलेजस्तो आफ्नो स्वास्थ्य अवस्था गम्भीर नरहेको बताएका प्रवक्ता नारायण श्रेष्ठले जानकारी दिए। प्रधानमन्त्री ओली चिकित्सकहरुको सल्लाह अनुसार नै नियमित स्वास्थ्य परीक्षणका लागि सिंगापुर जान लागेको उनले बताए।

 

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले धेरै निर्णय एकलौटी गर्दा समस्या भएको बताए । सरकारले विपक्षी दललाई बेवास्ता गरेर एक्लै संसदमा विधेयक ल्याउँदा कतिपय विधेयकको विरोध गर्नुपरेको प्रसंग जोड्दै अबदेखि सल्लाह गरेर मात्र त्यस्ता विधेयक ल्याउन सरकार र सत्तारुढ दलको ध्यानाकर्षण गराएका थिए। बैठकमा राजपाका नेताहरुले मधेस आन्दोलनका क्रममा जेलमा रहेकाहरु अझै पनि नछुटेको प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।


बैठकमा प्रधानमन्त्री ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू झलनाथ खनाल, बाबुराम भट्टराई सहभागी थिए। नेकपाका शीर्ष नेतामध्ये माधवकुमार नेपाल सहभागी थिएनन।

 

त्यस्तै बैठकमा गृहमन्त्री रामबहादुर थापा, कानुन मन्त्री भानुभक्त ढकाल पनि सहभागी थिए भने कांग्रेसबाट उपसभापति विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, नेताहरू बालकृष्ण खाँण, मीनेन्द्र रिजाल सहभागी भएका थिए। नेकपाबाट बामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, महासचिव विष्णु पौडेलको उपस्थित थियो।

 

यता उपप्रधानमन्त्री समेत रहेका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राजपा नेता महन्थ ठाकुर र अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवलगायत पनि बैठकमा सहभागी भएका थिए।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार