• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
देश/प्रदेश

असारको कामले बालकोट–सिरुटार सडकको अवस्था नाजुक

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका बालकोट–सिरुटार र बालकोट–चाँगाथली जाने सडकको अवस्था नाजुक बनेको छ । असार लागेपछि सडक विस्तारको काम शुरु गरेसँगै यी दुई सडकको बिग्रिदा यहाँका बासिन्दाले दुई महीनादेखि सास्ती झेल्नुपरेको छ । 

 

बालकोट–सिरुटार जोड्ने ढुङ्ग्रे खोलामा जेठ लागेपछि पुल र सिरुटार–बिरुवा सडकमा बाटो विस्तारको काम शुरु भएपछि यहाँका बासिन्दाले दैनिक सास्ती खेप्नुपरेको हो । वर्षा लागेपछि सडक विस्तार गरी पर्खाल लगाउदा निस्केको माटो सडक भरी छरिँदा दैनिक दर्जनौँ मोटरसाइकल दुर्घटना हुने गरेका छन् । 

 

साथै निर्माण कै क्रममा ढुङ्गा र माटो जथाभावी थुपारिदा साँघुरो बनेको सडकमा हरेक दिन बिहान ७ः०० बजेदेखि नै घण्टौ सवारी जाम हुने गरेको छ । सडक जाम कै कारण १०ः०० बजेसम्म धेरै विद्यालयका बसहरु सडकमै अलपत्र पर्ने गरेका देखिन्छन् । सूर्यविनायक नगरपालिकाको बजेटमा वर्षामा पर्खाल लगाउने काम भएको छ भने प्रदेश नं ३ को रु एक करोडको लागतमा पुल निर्माण कार्य भएको हो ।

 

सिरुटारका बासिन्दा मिलन केसीले वर्षामा बजेट सिध्याउन कै लागि सडक फराकिलो गर्ने, पर्खाल लाउने र पुल बनाउने काम गर्दा यहाँका बासिन्दाले सास्ती खेप्नुपरेको बताए । सडक भरी खाल्डा, साँघुरो र हिलो हुनुका साथै पुल निर्माण गर्दा खोलाबाट हिड्नुपर्ने हुँदा पैदल यात्रीदेखि साना सवारी साधनलाई समेत निकै समस्या परेको उनको भनाई छ ।रासस

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार