• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
पत्रपत्रिका

गैडा बस्ती छिरेपछि 

चितवन । भरतपुरको बसपार्क आडैको टोलमा शनिबार बिहानै ठूलो हल्लाखल्ला मच्चियो । वनमा देखिने गैंडा अचानक बसपार्क आडैमा भेटिएपछि मान्छे त्रस्त मात्रै भएनन्, फोटो खिच्न पनि लालायित देखिए । होहल्ला बढ्दै गएपछि गैंडा जोडसँग दौडिन थाल्यो । बसपार्क आडैमा प्लटिङ भएको जमिन छ । त्यहाँ न घर बनेका छन्, न खेती नै हुन्छ । ठूलो झाडी भएको प्लटिङभित्रै गएर गैंडा लुक्यो ।

 

लुकेको गैंडा जुनसुकै बेला निस्कन सक्थ्यो । दिउँसो भीडभाड बढेका बेला निस्किए झनै खतरा थियो । त्यसैले भरतपुरको डिभिजन वन कार्यालयमा खबर पुग्यो । स्थानीयले बरन्डाभार मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष देवराज सापकोटालाई गैंडा डुलेको खबर सुनाए । सापकोटाले त्यो खबर चितवन निकुञ्ज कार्यालयमा पुर्‍याए । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले छिट्टै उद्धार टोली खटाए ।

 

आठ बज्दा नबज्दै वन्यजन्तु उद्धारमा खट्ने सौराहाको राष्ट्रिय प्रकृति संरक्षण कोषको टोली आइपुग्यो । कोषका संरक्षण अधिकृत अनिल प्रसाईंले उद्धारको चाँजोपाँजो मिलाउन थाले । ६ वटा हात्ती र प्राविधिक जुटाउँदा मध्याह्न मात्रै टोली गैंडा भएतर्फ लम्कियो । ६ वटा हात्ती गैंडा लुकेको प्लटिङको झाडीतर्फ छिर्‍यो । त्यसमध्येको ठूलो हात्तीमा गैंडालाई डार्ट गरेर बेहोस बनाउन तीर्थ लामा चढेका थिए ।

 

लामाले डार्ट हानेर बेहोस बनाएपछि गैंडालाई खोरसम्म राख्ने काम छिटोछिटो गर्नु थियो । बसपार्क नजिकको बस्ती भएका कारण हेर्नेहरूको ठूलो भीड थियो । ‘बेहोस बनाउने औषधि दिएपछि जंगल र शान्त ठाउँमा ४५ मिनेटसम्म काम गर्न सकिन्छ । तर भीड भएको ठाउँमा आवाज र अन्य गतिविधि सुनेर गैंडा चाँडै जाग्छ । त्यसैले छिटो काम सक्नुपर्छ,’ कोषका पशु चिकित्सक डा। अमिर सडौलाले भने ।

 

बेहोस बनाएर नियन्त्रणमा लिएपछि गैंडालाई ट्रकमा लोड गरी भरतपुरबाट २५ किमि दक्षिणपश्चिम चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरा नजिक तमोर तालमा लगिएको छ । बसपार्कदेखि दक्षिण र पूर्वतर्फ निकै पर बरन्डाभार जंगल छ । वन छाडेर त्यो ठाउँ पुग्न चार–पाँच किलो मिटर दूरी पार गर्नुपर्छ ।

 

‘गैंडा चर्दाचर्दै बाहिर निस्कने गर्छन् । मीठो घाँसको खोजीमा बस्ती पस्छन् । यो पनि खेतमा चर्दाचर्दै यहाँसम्म आयो,’ भरतपुरको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत कृष्णप्रसाद पौडेलले भने । वनदेखि यति टाढाको बस्तीसम्म यसअघि गैंडा त्यति नआएको सापकोटाले बताए ।

 

१०/१२ वर्षअघि बसपार्कभन्दा पनि तल घना बजार क्षेत्र हाकिम चोकमै गैंडाले ‘आतंक’ मच्चाएको थियो । तर गैंडा उद्धार सामान्य काम भने हैन । एउटा गैंडा उद्धार गर्न ४० जना खट्नुपर्छ । पशु चिकित्सक डा।सडौलाका अनुसार बेहोस पार्ने औषधि एक पटक प्रयोग गर्दा नै २० हजार रुपैयाँ खर्च हुन्छ । एउटा गैंडा उद्धारमा लगभग एक लाख रुपैयाँ खर्च हुन्छ । अघिल्लो वर्ष बस्तीमा आएका पाँच गैंडाको उद्धार भएको थियो । कान्तिपुर

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार