• सोमबार ५-३०-२०७६/Monday 09-16-2019
रंगमञ्च

‘रंगमञ्चका कलाकार केही गर्न जान्दैनन् तर घमण्ड धेरै गर्छन’

२०६० सालबाट रगंमञ्चमा प्रवेश गरेका प्रविन खतिवडा 'मीमांसा' नाटक निर्दशन पछि चर्चामा छन । गुरुकुलबाट नाट्य यात्रा सुरु गरेका खतिवडाले नेपाली रंगमञ्चका आरोह अबरोहहरुलाई छिचेल्दै यहाँसम्म आइपुगेका हुन । एक दर्जन बढी नाटकहरुमा उनले आफनो निर्देशकिए खुवी पस्किसकेका छन । रंगमञ्चमा मात्र होइन चलचित्रको पर्दामा पनि रमाउँछन् उनी । पछिल्लो समय 'पण्डित बाजेको लौरी' ले पनि उनलाई चर्चा दिलायो । उनै प्रविनले फ्रेसन्यूज नेपालसंग आफ्नो नाट्य यात्राबारे गरेको कुराकानी :

 

कस्तो चल्दै छ नाटक 'मीमांसा' ? 
नाटक ‘मीमांसा’ बाट एकदमै राम्रो प्रतिक्रियाहरु आइरहेका छन् । जतिपनि दर्शकले नाटक हेर्नुभयो, ती सबैले नाटकको प्रशंसा नै गर्नुभएको पाएको छु । कत्तिले त नाटक दोस्रो र तेस्रो पटक पनि हेर्नुभयो भन्ने सुनेको छु ।

 
कति समयपछि नाटक निर्देशनमा फर्किनुभयो ? 
नाटक निर्देशनमा त खासै ग्याप भएको छैन । मैले निर्देशन गरिनै रहेको हुन्छु । रंगकर्मी सुनिल पोखरेलसँग काम गरेको यो पहिलो पटक हो ।  


रंगकर्मी सुनिल पोखरेलसंग काम गर्न कत्तिको सजिलो हुँदोरहेछ ?  
सुनिल पोखरेलसँग काम गर्न धेरै नै मज्जा आउँछ । उहाँसँग काम गर्दा धेरै कुराहरु सिक्न पाइन्छ । उहाँको बारेमा अनेकन कुराहरु गर्छन होला तर उहाँ भित्र के छ भन्ने कमै मात्रलाई थाहा छ । फेरी काम गर्दा यो सँग सक्ने त्यो सँग नसक्ने भन्ने हुँदैन । यो त आफनो सहमतिको कुरा हो । उहाँसँग काम गर्न एकदमै सजिलो छ । धेरै कुराहरु सिक्ने मौका पाइन्छ । आफुले काम लगाउने भन्दा पनि उहाँले नै धेरै कुराहरु मलाई सिकाउनु भएको छ । 

 

के हो ‘मीमांसा’ 
यो शंकार लामिछानेले लेख्नुभएको आत्माको 'मीमांसा' भन्ने कथा हो । त्यहि कथालाई हामीले नाटक नाट्य रुपान्तरण गरेका हौं । हामीले त्यहि 'मीमांसा' लाई केही फेरबदल गरेर नाटक बनायौं । नाटक हेरेर दर्शकहरु यसलाई माया गरिदिनु भयो । यो देखेर खुशी लाग्छ । दर्शकले हामी माथी न्याय गर्नुभएको छ । मीमांसा दुईजना मनोबिज्ञानका बिशेषज्ञले खोजेको कथा हो । मनोबिज्ञानको खोजी गर्दा गर्दै कसरी मान्छे एकोहोरिएर आत्महत्याको भावनासम्म पुग्न सक्छ भन्ने कुरा नाटकमा हेर्न पाइन्छ ।

 

  
 

रंगमञ्च के हो ? 
मैले पनि अहिलेसम्म रंगमञ्च के हो भन्ने कुरा पत्ता लगाउन सकेको छैन । रंगमञ्च के हो भन्ने कुरा म पनि खोज्दै छु । 


रंगमञ्चमा लाग्नुभएको कति भयो ? 
रंगमञ्चमा लागेको २०६० साल बाट हो । 


अहिलेसम्म कतिजति नाटक गरियो होला ? 
अब अभिनय कै कुरा गर्ने हो भने दुई दर्जन जति पुगे होलान । नाटक निर्देशन चाहि एक दर्जन पुर्याउने कोशिसमा छु । 


चलचिमा पनि तपाई राम्रो जम्नुभएको छ ? 
मलाई नाटकतिर देखिरहने दर्शकहरुले चलचित्रमा नी देख्दा वाह यो कलाकार पो रहेछ भनेर भन्ने गरेका मैले सुनेको छु । यसरी दुबैतिर दर्शकको माया पाउँदा खुशी लाग्छ । 


रंगमञ्च र चलचित्र दुबैतिर काम गरिरहनुभएको छ, अहिले चलचित्र रंगमञ्चले नै टिकेको हो त ? 
यस्तो हो, गुरुकुल नभत्केको भए रंगकर्मीहरु रंगमञ्चमा नै सिमित हुन्थे होला । जब गुरुकुल भत्कियो त्यसपछि धेरै रंगकर्मी स्वतन्त्र भए । उनीहरुले आफनो मनमर्जीले काम गर्न पाउने भए । त्यसपछि यताउता भौतारिने क्रममा हामीले चलचित्रमा पनि काम गर्न थालेका हौं । केही मात्रामा चलचित्रलाई रंगमञ्चले टिकाको पनि होला तर हाम्रा धेरै रंगकर्मी साथीहरु यसलाई म्याजिक भएको पनि भन्ने गर्नुहुन्छ । म चाहि यो सबै समयको कुरा हो भन्छु । 

 


 

तपाईसँग चलचित्र नभएका त होइन नी ?
म सँग मैले अभिनय गरेको चलचित्र भन्दा मैले स्क्रिप्ट मन नपरेर छोडेका चलचित्रहरु धेरै छन् । 


किन चलचित्र देखि यती घृणा ?
यो घृणा भन्दा पनि चलचित्र गर्नका लागी त्यसको केही न केही कुराले मलाई तान्नु पर्‍यो नी । धेरैजसो चलचित्रमा मैले मलाई आर्कषित गर्ने कुराहरु खासै भेटेको छैन । 


रंगमञ्च र चलचित्र दुईबाट कमाई धेरै केमा हुन्छ त ? 
यी दुबै पेशामा कमाई छैन । दुबैमा पारिश्रमिक दिन्छन । त्यहि नै हो । हामीले यी दुबै कुरामा कमाउने भनेको नाम र इज्जत मात्र हो । चलचित्रले होस् या नाटक दुबैले करोडौंको व्यापार नै गर्यो भनेपनि हामीले पाउने भनेको हाम्रो पारिश्रमिक मात्र हो । 


तपाई रंगमञ्चबाट त्यति खुशी देखिनु हुन्न, हो ? 
यो एकदमै गलत कुरा हो । म रंगमञ्चबाट धेरै खुशी छु । मेरो बेखुशी भनेको रंगमञ्चमा एउटा मान्छेले अर्को मान्छेलाई गर्ने व्यवहार प्रति मात्र हो । हामी अहिले पनि आफनो नैतिकता भित्र बाधिन सकेका छैनौं । हामीले धेरै छाडा बन्दै भइरहेका छौं । आफुले आफुलाई धेरै जान्ने सुन्ने भन्छौं । हामीले केही पनि जानेका हुँदैनौं तै पनि हामीमा धेरै जानेको घमण्ड छ । 


तपाई मिडियामा अलि कम नै देखिनुहुन्छ ? किन 
यसमा सधै मिडियामा आइरहने कुरा पनि हुँदैन । मैले केही काम गरे भने मिडियाले मलाई खोज्छ र मैलै पमि मिडियालाई खोज्छु । अब काम केही गर्नु छैन खाली कुरा मात्र धेरै गरेर के गर्ने । म खाली बसेको छु मेरो अन्तर्वार्ता लिन आउनु भन्ने कुरा पनि भएन । 


तपाईले चलचित्र निर्देशन गर्दै हुनुहुन्छ भन्ने सुनिन्छ नी ?
म अहिले पनि सिक्दै छु । मलाई अब म निर्देशन गर्न सक्छु भनेर भित्र मनबाट आयो भने अवश्य गर्छु । अहिले त्यसको अध्यन नै चलिरहेको छ । कुनै दिन पक्का गर्छु । 


अब ‘मीमांसा’ पछि के ?
मीमांशा लगत्तै चलचित्र आधा सुर शुरु गर्नुपर्नेछ । त्यसबाट बचेको समय बिराटनगरमा एउटा नाटक तयार गर्छु भन्ने सोच बनाएको छु ।

 
पहिले र अहिलेको रंगमञ्चमा कस्तो परिवर्तन देख्नुहुन्छ ?
अहिले फस्टाएको छ । अझ धेरै संख्यात्मक वृद्धि भयो भने फाइदा हुन्छ ।  रंगमञ्च एउटा हब जस्तो सोचिन्थ्यो जहाँ  कलाका सम्पूर्ण पाटाहरु अटाउन सक्थे जस्तो गुरुकुल हुँदासम्म कवि ,संगीतकार, सिनेमाकर्मी,नाट्यकर्मी, साहित्यकारहरुको पनि थलो थियो र पछिल्लो चोटी त्यस्तो किसिमको हब बिकास हुन सकेको छैन । अब त्यसतर्फ ध्यान पुग्नुपर्छ ।


तपाईको पहिलो चलचित्र कुन थियो ? 
मलाई चिनारीको रुपमा देखाएको त ‘लुट’ नै हो । त्योभन्दा अगाडी पनि एउटा चलचित्र गरिसकेको थिए । बिश्वप्रकाश शर्माले लेख्नुभएको स्क्रिप्ट नवल नेपालले निर्देशन गर्नुभएको थियो । त्यो खोइ कहाँ आयो गयो केहि पत्तो भएन । 

प्रस्तुति : सुकृत नेपाल

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार