• मंगलबार १-४-२०८१/Tuesday 04-16-2024
अर्थ

मदिरा निषेधित वडा घोषणा

बैतडी । मदिराका कारण महिला तथा बालबालिकामाथि हुने हिंसामा वृद्धि भएको भन्दै बैतडीको दशरथचन्द नगरपालिका वडा नं ९ लाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ ।

 

वडामा भएको आमभेला र वडा समितिको निर्णय अनुसार वडालाई मदिरा निषेधित वडा घोषणा गरिएको वडासचिव कृष्णबहादुर बोहराले जानकारी दिए । मदिराका कारण महिला तथा बालबालिकामाथि हुने हिंसामा वृद्धि भएको, सामाजिक अपराध बढ्दै गएकाले मदिरा निषेधित वडा घोषणा  गरिएको हो ।

 

भेलाले लीलाधर जोशीको संयोजकत्वमा सात सदस्यीय मदिरा नियन्त्रण समिति र लक्ष्मीदत्त जोशीको संयोजकत्वमा तीन सदस्यीय अनुगमन समिति पनि गठन गरेको छ । मदिरा निषेधित क्षेत्रमा कसैले मदिरा बिक्री वितरण गरेमा पहिलोपटकका लागि रु १५ हजार, कसैले ओसारपसार गरेमा पहिलोपटकका लागि रु १० हजार र मदिरा सेवन गरी होहल्ला गरेमा पहिलोपटकका लागि घटनाको प्रकृति हेरेर रु एक हजार ५०० देखि पाँच हजारसम्म जरिवाना तोकिएको छ ।

 

दोस्रो, तेस्रो सोही व्यक्ति दोहोरिएमा जरिवाना दोब्बर–तेब्बर हुने वडासचिव बोहराले जानकारी दिए । तीन पटकभन्दा बढी  कसैले मदिराको कारोवार, ओसारपसार र सेवन गरेको पाइएमा सार्वजनिक मुद्दा दर्ता गर्ने निर्णयसमेत भएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार