• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
राजनीति

कांग्रेसले गर्‍यो अन्तरिम संरचना बनाउने गरी ल्याइएको निर्देशिका पारित

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पार्टीको निर्देशिका पारित गरेको छ । पार्टी कार्यालय सानेपामा आज (आइतबार) बसेको काग्रेस केन्द्रीय कार्यसमिति बैठकले भदौ २० गतेसम्म स्थानीय निकाय र क्षेत्रीय तहमा संरचना बनाउने उल्लेख गरिएको निर्देशिका पारित गरेको हो ।

 

साविकको कार्यसमितिलाई नै समायोजन गर्ने गरी वडा तहसम्म पनि संघीय ढाँचा अनुसारको कार्यसमिति गठन हुने गरी पार्टीको निर्देशिका पारित गरिएको कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए। त्यसका लागि सबै जिल्लामा पार्टीको केन्द्रीय निर्वाचन प्रणालीले प्रतिनिधि खटाउनेछ।

 

कांग्रेसका हालका पदाधिकारी र पूर्वपदाधिकारीबीच सहमतिमा उक्त निर्देशिका ल्याइएको थियो । उक्त निर्देशिकामा कांग्रेसले संघीय संरचना बनाउनका लागि समायोजन नभएका वडा, गाउँपालिका र क्षेत्रमा साविककै संरचनालाई कायम राख्ने उल्लेख गरिएको छ ।

 

केन्द्रीय कार्यसमितिको आइतबारको बैठकमा केन्द्रीय सदस्यहरु महेश आचार्य, दिलेन्द्रप्रसाद बडू, एनपी साउँद, उमाकान्त चौधरी, दीपक गिरी, महेन्द्र यादव, बद्री पाण्डे, रामकृष्ण यादव, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कँडेल, हृदयराम थानी र शिवप्रसाद हुमागाईले आफ्नो धारणा व्यक्त गरेका थिए ।

 

केन्द्रीय समितिले पारित गरेको उक्त निर्देशिका १४ औं महाधिवेशनबाट पारित गराउने सर्वसम्मतिबाट निर्णय भएको छ । केन्द्रीय कार्यसमितिको अर्को बैठक साउन २९ गते दिउँसो १ बजे पुनः बस्ने जनाइएको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार