• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
पत्रपत्रिका

धामीझाँक्रीलाई पनि भिसा अनिवार्य

हुम्ला   । मानसरोवर-कैलाश तीर्थयात्रामा आउने धामीझाँक्रीलाई पनि चीनले भिसा अनिवार्य गरेको छ । वर्षौंदेखि यहाँका धामीझाँक्रीबिना रोकतोक मानसरोवर-कैलाश तीर्थयात्रामा जाने गरेका थिए । भिसाको व्यवस्था गरिए पनि हुम्लाका धामीझाँक्रीको एउटा टोली भर्खरै जिल्ला प्रशासनको सिफारिस लिएर मानसरोवर यात्रामा निस्किएको छ

। 


धार्मिक-सांस्कृतिक परम्पराअनुसार बर्सेनि साउने पूर्णिमामा धामीझाँक्रीले कैलाश मानसरोवर गएर स्नान गर्ने गरेका छन् । पहिलोपटक धामी बनेकाहरूले मानसरोवर तालमा गएर नुहाउनैपर्ने चलन छ । चीन सरकारले भिसा खोजेपछि हुम्लाका ४१ धामीझाँक्री जिल्ला प्रशासनको सीमा पास सिफारिस बनाएर मानसरोवर यात्रामा निस्केको प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले बताइन् ।

 

वषौँदेखि बेरोकतोक मानसरोवरको धार्मिक यात्रा गर्दै आएकाहरूलाई भिसा लिएर जानुपर्ने बाध्यकारी व्यवस्थाले अप्ठेरो पारेको सिमकोट-६ को कालासिल्तादेवीका धामी जुना रोकायले बताइन् । पहिलोपटक कैलाश मानसरोवर जान २०७० मा भिसा अनिवार्य नियम लागू गरिएको थियो । उक्त व्यवस्था लागू भएयता तीन वर्षसम्म धामीझाँक्री सीमा प्रवेश पास लिएर आउजाउ गर्दै थिए । यो वर्ष चिनियाँ नाका प्रवेशमा थप कडाइ गरिएको उनको भनाइ छ ।

 

नियममा कडाइपछि चिनियाँ सीमा ताक्लाकोटबाट आफूहरूलाई फिर्ता पठाइने हो कि भन्ने त्रास रहेको सर्केगाड गाउँपालिकाका धामी राजेन्द्र कार्कीले बताए । ‘पाँच दिन पैदल हिँडेर सिमकोट आई सीमा पास त बनाइयो,’ उनले भने, ‘ताक्लाकोटबाट जान पाइँदैन भनेर फिर्ता पठाउने हो कि भन्ने चिन्ता छ ।’कान्तिपुरबाट

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार