• बुधबार १-५-२०८१/Wednesday 04-17-2024
पत्रपत्रिका

अझै बुझ्न सकिएन तितेपातीको महत्त्व

काठमाडौं । बारीमा पाती पलाउनुलाई राम्रो मानिन्न । यसले अरू बोटबिरुवा सप्रन दिँदैन । कतिले छरछिमेकमा झगडा भयो भने तेरा बारीमा पाती पलाओस् भन्न पनि पछि पर्दैनन् । 

 

तर, त्यही पाती अर्थात् तितेपातीमा अपार औषधीय गुण हुन्छ, आम्दानीको स्रोत बन्नसक्छ भन्ने अझै नेपाली समाजमा व्यापक चेतना फैलिन सकेको छैन । समुद्री सतहको तीन सयदेखि दुई हजार चार सय मिटर उचाइका खुला कुना, कन्दरा र सेपिलो तथा बन्जर भूमिमा समेत सर्लक्क फैलन्छ तितेपाती । फूल फुल्ने बिरुवाअन्तर्गत पर्ने तितेपातीको वैज्ञानिक नाम आर्टिमिसिया भल्ग्यारिस हो । नेपालमा भने भूगोलअनुसार करिब छ प्रजातिका तितेपाती पाइन्छन् । 

 

नेपालमा तितेपातीको औषधीय गुणको गहन अध्ययन र परीक्षणबाट ठोस प्रतिफल वैज्ञानिक तहबाट प्राप्त हुन सकेको छैन । केही स्थानीयले भने राम्रो प्रयास गरिरहेका छन् । दिक्तेल रुपाकोट, मझुवागढी नगरपालिका– १० पाथेकास्थित स्थानीयले तितेपातीको तेल निकालेका छन् । भदौ र असोज महिना तेल निकाल्ने उपयुक्त मौसम हो । 

 

गत वर्ष गाउँका स्थानीय मिलेर समृद्धिपथ एग्रो कम्पनी स्थापना गरे । कम्पनीका अध्यक्ष अग्नि राई भन्छन्, “परीक्षण सफल भएपछि तेल आउँदो रहेछ भनेर थाहा पायौँ, गत वर्ष करिब ४५ केजी तेल निकाल्न सफल भयौँ । ”

 

अध्यक्ष राईका अनुसार तितेपातीको तेल पानीभन्दा हलुका हुन्छ । एक हजार मिलिलिटर पानीको एक केजी हुँदा तितेपातीको तेल भने एक हजार दुई सय मिलिलिटरको एक केजी हुन्छ । आसपासका गाउँमा यसअघि नै भएको परीक्षण असफल बनेको उनले थाहा पाएको थियो । मेसिन बनाएर तितेपातीको तेल निकाल्न सफल भएको उनले बताए । गोरखापत्र

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार