• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
पत्रपत्रिका

कांग्रेस राजनीति गुटगत आधारमै भागबन्डा तयारी

काठमाडौं ।  प्रमुख प्रतिपक्षी कांग्रेसले प्रदेश संरचना गठन गुटगत आधारमा भागबन्डाबाटै गर्ने तयारी अघि बढाएको छ । कांग्रेसले सातै प्रदेशको प्रादेशिक संरचना गुटगत आधारमा भागबन्डा मिलाएर टुंगो लगाउने, सिमाना हेरफेर नभएका स्थानीय तहको संरचनामा पनि सहमति गर्ने र सिमाना हेरफेर भएका केही स्थानमा मात्रै निर्वाचन गर्ने गरी सहमति तयारी गरेको स्रोतले जनाएको छ ।

 

गत २२ असारबाट सुरु केन्द्रीय समिति बैठक मुख्यतः सोही विवादका कारण अलमलमा पर्दै आएको थियो । विवादबीच शीर्ष तहमा संरचना विषयलाई निर्देशिका बनाएर टुंगो लगाउने गरी सहमति भएको थियो । तर, हाल नेतृत्व विवाद नरहेका र सीमा हेरफर नभएका स्थानमा पुरानै संरचनालाई आधार मानेर सहमतिबाटै अन्तरिम संरचना बनाउने, विवाद भएका स्थानमा निर्देशिकाले देखाएको मापदण्डबाट विधानअनुसारै संरचना गठन गर्ने गरी सहमति तयारीमा नेता पुगेका हुन् ।

 

पछिल्लो समय सहमतिको विरोध गर्दै आएका कांग्रेसका संस्थापनइतरका नेता नै भागबन्डाबाट नभई नयाँ ‘मेकानिज्म’का आधारमा संरचना टुंगो लगाइने तयारी भइरहेको बताउँदै आएका छन् । तर, उनीहरू सहमति विषयलाई भागबन्डा मान्न भने तयार छैनन् ।

 

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संरचना गठन विषयमा मिलेर ‘कसरी अघि बढ्ने ?’ भन्ने विषयमा छलफल भइरहेको तर जालझेल गर्ने मात्रै कुरा हो भने सहमति नहुने जनाए ।

 

‘संरचना विषयमा कुराकानी भइरहेको छ, सहमति त होला तर कस्तो हुन्छ हेरौं । फेरि पनि जालझेल गर्ने मात्रै हो भने त्यस्तो सहमति हुँदैन,’ वरिष्ठ नेता पौडेलले राजधानीसँग भने ।
नेता अर्जुननरसिंह केसीले सहमति अन्तिम टुंगो नलागेको तर प्रयास भइरहेको भन्दै सहमति भए पनि त्यसलाई भागबन्डाको स्वरूप नदिइने प्रस्ट पारे । राजधानी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार