• शनिबार १-८-२०८१/Saturday 04-20-2024
पत्रपत्रिका

बर्खा लागेसँगै यातायात ठप्प

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा १६ वटा वडा छन्।  बर्खा लागेसँगै यहाँका चारवटा वडासँग सडक यातायातको सम्पर्क टुट्छ।  पाँच वर्षअघि वीरेन्द्रनगरसँग गाभिएका गढी, गर्पन र रतुका बासिन्दा वर्षा सुरु भएसँगै यातायातको सुविधाबाट वञ्चित हुने गर्छन् ।  

 

प्रदेश राजधानीभित्र एक सय ७५ किलोमिटर सडक छ।  त्यसमा कालोपत्रै गरिएको सडक ४२ किलोमिटर मात्रै छ।  ‘बर्खा लागेसँगै यहाँका अधिकांश सडक सञ्चालन हुन छाड्छ, वीरेन्द्रनगरनगरपालिका–१३ का आरपी लामिछानेले भने, ‘राजधानीभित्रकै सडकको यो अवस्था छ भने बाहिरको के होला रु’

 

३० हजार तीन सय १३ वर्ग किलोमिटर भूगोल रहेको कर्णाली प्रदेशमा दुई हजार तीन सय ५२ किलोमिटर सडक छ।  प्रदेश ट्राफिक प्रहरी कार्यालयको तथ्यांकअनुसार कालोपत्रे सडकको लम्बाइ ६ सय ३२ किलोमिटर मात्रै छ।  

 

तीन सय ४७ ग्राभेल सडक छ भने एक हजार तीन सय ७३ किलोमिटर सडक कच्ची अवस्थामा छ।  ‘कच्ची र ग्राभेल सडक मात्रै होइन, यो प्रदेशमा कालोपत्रे सडकमा पनि बर्खामा गाडी गुड्न समस्या हुन्छ,’ प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराजप्रसाद चौरसियाले भने, ‘भएका सडकको स्तरोन्नति नहुँदा यात्रुहरूलाई समस्या हुने गरेको छ। ’ बर्खा लागेसँगै कर्णालीका ग्रामीण सडकहरू अवरुद्ध छन् ।  वडाबाट पालिकाको केन्द्र, पालिकाको केन्द्रबाट सदरमुकाम र सदरमुकामबाट प्रदेश राजधानी जोड्ने सडकहरू अवरुद्ध बनेका हुन्।

 

कर्णालीका १० जिल्लामध्ये हुम्ला राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छैन।  यहाँ १२ किलोमिटरमा साना यातायातका साधन सञ्चालन हुन्छन्।  भर्खरै सडक सञ्जालले छोएको डोल्पामा ३९ किलोमिटर सडक छ।  

 

बर्खा लागेसँगै यहाँका सडक अवरुद्ध छन्।  कर्णाली प्रदेशको राजधानीसँग जोडिएका कर्णाली राजमार्ग, रत्न राजमार्ग, छिन्चु–जाजरकोट, वीरेन्द्रनगर–दैलेख सडकखण्ड नै बर्खाको समयमा अवरुद्ध हुने गरेका छन्।  सडक डिभिजन कार्यालयका इन्जिनियर रेशम वली प्राविधिक अध्ययनबिना डोजरले खनेका सडक बर्खा लाग्नेबित्तिकै अवरुद्ध हुने गरेको बताउँछन्। नागरिक

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार