• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
फेशन

साउन २४ मा ‘मिस एण्ड मिस्टर हस्पिट्यालिटी नेपाल २०१९’

काठमाडौं । धेरै प्रतियोगिताको माझमा केही फरक किसिमको प्रतियोगिता ‘मिस एन्ड मिस्टर हस्पिट्यालिटी नेपाल २०१९’ आयोजना हुने भएको छ ।

 

नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई टेवा पुर्याउने मूल उद्देश्यका साथ यो प्रतिस्पर्धात्मक कार्यक्रम आयोजना गर्न लागिएको आयोजक संस्थाकी प्रमुख तथा मिस नेपाल २००५ सुगरिका केसीले बताएकी छिन् ।


शुभदिन मिडिया तथा रिसर्च सेन्टर मुल आयोजक, होटल एसोसिएसन सह-आयोजक, नेपाल पर्यटन बोर्डको प्रबद्र्धन तथा अन्य शिक्षण संस्थाहरु, युवासँग सम्बन्धित ब्राण्डहरु, क्यान्सर केयर नेपाल, युनिभर्सल पिस फेडरेसन लगायत संघसंस्थाको सहयोगमा यो कार्यक्रम आयोजना गरिएको हो ।

 

डेढ महिना अघिदेखि सुरु भएको यो प्रतिस्पर्धात्मक कार्यक्रममा काठमाडौं उपत्यका र बाहिरका जिल्लामा होटल म्यानेजमेन्ट र हस्पिट्यालिटी पढाइ हुने र तालिम दिने विभिन्न शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीहरुले सहभागीता जनाएका छन् ।

 

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जनाइए अनुसार उक्त प्रतियोगिताको ग्राण्ड फिनाले साउन २४ गते शुक्रवार होटल अन्नपूर्णमा हुने छ । ग्रान्ड फिनालेमा पुग्न सफल ५० प्रतिस्पर्धीहरुलाई विभिन्न विषय विज्ञहरुले नेपालको पर्यटन, यसका सम्भावना र चुनौतीका विषयमा  प्रशिक्षण दिइएको थियो ।

 

प्रशिक्षण अवधिभर नेपालको पर्यटन क्षेत्रको पहिचान, प्रवर्दन र प्रचार गर्ने, पर्यटकहरुलाई नेपालमा लामो समय बस्ने वातावरण सिर्जना गर्ने, हस्पिट्यालिटी क्षेत्रमा कार्यरत संस्थाहरुलाई एक ठाउँमा ल्याउने, पर्यटन, होटल म्यानेजमेन्ट तथा हस्पिटालिटी क्षेत्रमा दक्ष जनशक्ति निमार्ण गर्ने, हस्पिट्यालिटीको क्षेत्रमा विश्वमाझ नेपाललाई चिनाउने उदेश्यले यो प्रतियोगिता आयोजना गरिएको हो । जसमा खाना, पहिरन र भाषालाई प्रबद्र्धन गरिने छ । मिस एन्ड मिस्टर नेपाल २०१९ मा महिला तथा पुरुषबाट एक–एक जना विजेता बन्नेछन् ।


विजेताले एक–एक लाख नगद पुरस्कार, होटल एसोसिएसन नेपालको सदभावना दूत, क्यान्सर केयर नेपालको सदभावना दूत, युनिभर्सल पिस फेडेरेसनको शान्ति दूत, एभरेष्ट फिल्म एकेडेमीबाट निशुल्क कोर्स, फ्लाई टेक इन्टरनेशनलबाट निशुल्क एयर होस्टेज तालिम पाउने छने भने उपविजेताले विभिन्न कलेज तथा ब्रान्डको ब्रान्ड एम्बेसेडर, नेपाल स्किन केयर सेन्टरको ब्रान्ड एम्बेसडर, टीभी, रेडियो तथा विभिन्न विज्ञानपनहरु मोडलिङ् गर्ने अवसर प्राप्त गर्ने छन ।


विजेताले भिजिट नेपालका विभिन्न कार्यक्रमहरुमा नजिकबाट काम गर्ने अवसर पाउने आयोजक संस्थाकी प्रमुख केसीेले स्पष्ट पारेकी छिन् ।

 

प्रस्तुति : जयन सुब्बा मानन्धर

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार