• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
रंगमञ्च

आत्माको कथा : मीमांसा

काठमाडौं । के आत्मा हुन्छ ? के आत्माले बोल्छ ? हामी आत्मासँग कुरा गर्न सक्छौं त । आत्मा हुन्छ कि हुँदैन भन्ने कुरामा दुई मनोचिकित्सक अल्झिएका छन् । यी दुईको दिमागमा आत्माको बारे अनेकन कुराहरु खेल्छ । आत्माको बारे दुई मनोचिकित्सकले खोजी गरेको कथा हो नाटक ‘मीमांसा’ । आत्मा हुन्छ कि हुँदैन भन्ने कुराको खोजी नै नाटकको मुख्य विषय हो । 

 

आत्माको कुरा गर्दा गर्दा दुबै आत्मासम्म पुग्न त खोज्छन् तर सफल हुँदैनन् । डा. हरिहर सिग्देलको मुत्यु को बिषयबाट नाटकको शुरु हुन्छ । उनको मृत्यु कसरी भयो ? के उनको हत्या भएको हो या उनले सुसाइड गरेका हुन । प्रहरीको मनमा अनेकन शंका उप–शंका उब्जिन्छन् । डा.हरिहर सिग्देल आफना सहायक डा.अतुल चौलागाईको श्रीमतीको आत्मा बोलाउने प्रयासमा बारम्बार लागेका हुन्छन् र उनी केही मात्रामा सफल पनि हुन्छन् ।  तर उनलाई उनीसँग अझ धेरै कुराहरु गर्नुछ ।

 

नाटकको एक दृश्यमा उनी भन्छन्, ‘न्युटन, आइन्स्टाइनलाई आत्माका माध्यमबाट सोध्न पाए, कार्ल माक्र्स वा एरिस्टोटर्लसँग अहिलेका बारेमा बुझ्न पाए ? दरबार हत्याकाण्ड, ३३ किलो सुन, निर्मला काण्डका बारेमा पीडित वा मृतककै मुखबाट बुझ्न पाए ? यी कुराहरुले डा. सिग्देललाई यतिसम्म उत्साहित बनाउँछ कि उनी आफैं मृत भर्ई सहायक डा.चौलागाईंसँग आत्मालाप गर्ने बाटोमा लाग्छन् ।

 

 

डा. सिग्देल अत्माहरुको संसारमा जान चाहन्छन् र अत्माहरुबाट धेरै कुरा बुझन चाहन्छन् । यसका लागि डाक्टर सिग्देलले आफूलाई सोध्ने केही प्रश्न र सम्मोहन गरी आत्मा बोलाउने तौरतरिका सहायक डाक्टरलाई सिकाएर आफु आत्महत्या गर्छन् । यता डा.अतुल आफनो श्रीमतीको आत्मासँग कुरा गर्न पाउँदा एकदमै खुशी देखिएका हुन्छन् तर उनको खुशी धेरै समय टिक्दैन । त्यसको कारण हो डा. हरिहर सिग्देलको मृत्यु । 

 

नाटकमा सुनिल पोखरेलको अभिनय जादु छ । यो भन्दा फरक पर्दैन कि उनको अभिनय कै कारणले पनि दर्शक नाटक घरसम्म पुगेका छन् । यसको मतलब यो पनि होइन कि अन्य कलाकारहरुको अभिनय नराम्रो तर अरु कलाकारहरुको भन्दा उनको अभिनय धेरै उच्च छ । अहिले पनि उनमा त्यो जोश जाँगर देखिनु भनेको सानो कुरा होइन । नाटककले शुरु देखि अन्त्यसम्म दर्शकलाई यसरी बाँधेर राख्छ कि सवा एक घण्टाको नाटक सकिए पनि फेरीे दोहोराएर हेरौं हेरौं हुन्छ । 

 

कलाकार राजकुमार पुडासैनीको अभिनयमा केही कमी छैन । उनी आफनो गुरु सुनिल पोखरलेसँग एकदमै जजेका छन् । उनले नाटकमा बोल्ने शैली आजपनि उस्तै छ । उनी यस्ता कलाकार हुन जसले जे जस्तो भुमिका नी सजिलै गर्न सक्छ । उनी हसाउने देखि लिएर अनेकन भुमिका गर्न माहिर छन् । 

 

 

नाटकका अन्य कलाकारहरु विजय बराल, घनश्याम जोशी, सुरज तमु, अर्जुन शिवाकोटी, मौसम खड्का, आलोक थामी, सुमित तामाङ र वृद्धको भूमिकामा राज न्यौपानेको अभिनयले नाटकलाई झन बिशाल बनाइदिएको छ । नाटकको नेपथ्यमा आत्माको भूमिकामा रंगकर्मी निशा शर्माको पनि आवाज सुन्न सकिन्छ । 

 

निर्देशक खतिवडाको नाट्य रूपान्तरण रहेको नाटक ‘मीमांसा’ लाई आरोहण गुरुकुलले प्रस्तुत गरेको हो । निर्देशक खतिवडा भन्छन्, लामिछानेको लेखाइ प्रभाव म मा अथाह छ । उनको रचना मलाई सधैं आत्मीय लाग्छ ।

 

 

शंकर लामिछाने लिखित कथा ‘आत्माको मीमांसा’ मा आधारित रही प्रवीण खतिवडाले आफ्नो निर्देशनमा नाटक ‘मीमांसा’ तयार पारेका हुन् । नाटकको प्रकाश र संगीतले मञ्चलाई झन रसिलो बनाइदिएको छ  । नाटकमा प्रकाश परिकल्पना सुनील पोखरेल, राजकुमार पुडासैनी, प्रवीण खतिवडा र उमेश तामाङको समूहले गरेका छन् भने संगीतमा निर्देशक प्रवीणलाई उत्सव बुढाथोकीले सघाएका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार