• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
पत्रपत्रिका

त्रिविका ३ डिन कार्यालयको काम ठप्प

काठमाडौं । विद्युत् आपूर्ति नहुँदा त्रिभुवन विश्वविद्यालयका ३ वटा डिन कार्यालयको काम १० दिनदेखि ठप्प छ । ६ महिनाअघि जडान गरिएको ट्रान्सफर्मर बिग्रेर मानविकी तथा सामाजिकशास्त्र, शिक्षा र विज्ञान तथा प्रविधि संकायका डिन कार्यालयको कामकाज अडकिएको हो । 

 

नवनिर्मित भवनमा जडान गरिएको विद्युत् लाइन र ट्रान्सफर्मरमा खराबी देखिएको कार्यालयले जनाएका छन् । ट्रान्सफर्मर पडकँदा तीनवटै डिन कार्यालयका कम्प्युटरलगायत विद्युतीय सामग्रीमा क्षति पुगेको थियो । विद्युत् र कम्प्युटर नहुँदा डिन कार्यालयले विद्यार्थीलाई शैक्षिक प्रमाणपत्र जारी गर्न सकेका छैनन् ।

 

कतिपय विषयका नतिजा प्रकाशन र परीक्षाको काम पनि रोकिएको छ । जेनेरेटरबाट दैनिक कामकाज सञ्चालन गर्न खोज्दा कार्यालय भवनभित्रै विद्युत् शट भएका कारण असम्भव भएको मानविकी संकायका सहायक डिन गोपालभक्त धौबन्जारले बताए । ‘कम्प्युटर जले, मर्मत सम्भारकै क्रममा छौं,’ उनले भने, ‘भर्खरै बनेको भवन चुहिएर विद्युत् शट भएको हो, ट्रान्सफर्मर पनि बिग्रेको अवस्था छ ।’

 

बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयपछाडि ३ वर्षअघि बनेको भवनमा ६ महिनाअघि नयाँ ट्रान्सफर्मर जडान गरिएको थियो । निजी कम्पनीले टेन्डरमार्फत जडान गरेको विद्युत् ट्रान्सफर्मर बिग्रेर डिन कार्यालयको काजकाज प्रभावित भएको हो । ‘विद्युत् नहुँदा जेनेनेटरबाट काम चलाइराखिएको छ,’ विज्ञान तथा प्रविधि संकायका डिन रामप्रसाद खतिवडाले भने, ‘धेरै दिनसम्म मर्मतसम्भार नभएपछि पत्र लेखेका छौं ।’

 

डिन कार्यालयका कर्मचारीले भने कमसल खालको ट्रान्सफर्मर राखिएका कारण वर्ष दिन नपुग्दै समस्या आएको बताएका छन् । विश्वविद्यालयले नयाँ भवन बनाएपछि पनिकाबाट विद्युत् ल्याएर जडान गरेको थियो । नयाँ ट्रान्सफर्मर जडान भएदेखि नै बेलाबेलाविद्युत्मा समस्या देखिन थालेको कर्मचारी बताउँछन् । भवनभित्रको विद्युतीकरण कामचलाउ तरिकाले गरिएकाले पटकरपटक बिग्रने गरेको उनीहरूले बताए ।

 

विश्वविद्यालयले टेन्डरमार्फत भवन निर्माण गरी डिन कार्यालयलाई हस्तान्तरण गरेको हो । कमजोर भवन निर्माण गरेका कारण पानी चुहिने र विद्युत्मा समस्या आउने गरेको कर्मचारीको गुनासो छ । डिन कार्यालयहरूले विद्युत् प्राधिकरणलाई मर्मत सम्भारका लागि आग्रह गरेका थिए । निजी कम्पनीमार्फत खरिद गरिएको ट्रान्सफर्मर सोही कम्पनीले मर्मत गर्नुपर्ने भन्दै प्राधिकरणका कर्मचारी पन्छिएको एक प्राध्यापकले बताए । डिन कार्यालयले साताअघि नै विद्युत् मर्मत गर्न विश्वविद्यालयलाई आग्रह गरेका थिए ।

 

विद्युत् जडान गर्ने कम्पनीका सञ्चालक सम्पर्कमै आएका छैनन् । त्रिवि सामान्य प्रशासनका प्रमुख सुभाष कँडेलले भने कम्पनीलाई बोलाएर मर्मत गर्न निर्देशन दिइएको जनाए । ‘पानी चुहिने कुरा थाहा भएन, छडके पानी आउँदा छिरेको होला,’ उनले भने, ‘ट्रान्सफर्मर बनाउन ठेकेदार आएर काम थालिसकेका छन् ।’

 

विश्वविद्यालयका उच्च तहका कर्मचारीहरूले आफूनिकट व्यक्तिलाई विद्युत् जडान र ट्रान्सफर्मर खरिदको जिम्मा दिएका कारण मर्मत सम्भारमा दबाब दिन नसकेको एक सहायक डिनले बताए । कान्तिपुर
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार