• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
पत्रपत्रिका

विस्थापित भन्छन्- ‘राहत होइन, सुरक्षित बास’

रौतहट । प्रमुख जिल्ला अधिकारी किरण थापा प्रहरी र सेनाका अधिकारीसँग राहत लिएर वाग्मती नदीको बाँधमा त्रिपाल टाँगेर बसेका बाढी र डुबानका विस्थापितहरू भेट्न पुगेका थिए । विस्थापित सबैले उनीहरूसँग एउटै माग गरे, ‘हामीलाई राहत चाहिएको छैन । वाग्मतीको डुबानबाट छुटकारा दिलाउनुस् । बस्ती सुरक्षित स्थानमा सार्न पहल गरिदिनुस् ।’ 

 

२०४८ सालमा बडहर्वा गाउँ पहिलोपटक वाग्मतीको बाढीले डुबानमा परेको थियो । त्यसपछि बाँधको आडैमा झन्डै ४ सय घरपरिवार आएर बसेका थिए । ठूलो बाढी आएर बाँध भत्कियो भने बस्ती बगाउने खतरा त्यसै बेलादेखि थियो । त्यसैले वर्षाका बेला बस्तीका मानिसहरू रातभर जाग्राम बस्छन् ।

 

बाँध तल बसेका कसैको पनि निजी जमिन छैन । उनीहरू ऐलानी जग्गामा घर बनाएर बसेका हुन् । वाग्मतीले केहीको खेती बगर बनाएको छ । हिउँदमा त्यहीं खेती गर्छन् । धानबाहेक थोरै उब्जनी गर्छन् । शुक्रबारदेखिको लगातारको वर्षापछि झाझ, लालबकैया र वाग्मतीको पानी गाउँ पसेपछि बस्ती डुबानमा पर्नुका साथै केही घर बगेका थिए । उनीहरूले रातारात माथि बाँधमा आएर ज्यान जोगाएका थिए ।

 

गाउँका अधिकांशको खेत वाग्मतीले बगाइसकेको छ । अहिले धेरैजसो सुकुम्बासी जस्तै भएका छन् । वाग्मतीले डुबान, कटान र घर बगाएपछि उनीहरू बाँधको तलको ठाउँमा आएर बसेका हुन् । गाउँपालिकाका अध्यक्ष अरुण साहले पनि राहतभन्दा सुरक्षित बासस्थानमा जोड दिनुपर्ने बताए । ‘बर्सेनि डुबानमा पर्नेहरूका लागि सुरक्षित स्थानमा बसोबास मिलाउन संघीय सरकारले ठोस कदम चाल्नुपर्छ,’ उनले भने ।

 

लगातारको वर्षापछि आएको बाढी र डुबानले रौतहटका १८ स्थानीय तह प्रभावित भएका थिए । डुबान र बाढीका कारण १७ हजार ९ सय ९३ परिवार विस्थापित भएको जिल्ला प्रहरीले जनाएको छ । बाढीबाट १० जनाको मृत्यु भएको छ । २ हजार ६ सय ६ घर पूर्ण रूपले क्षति भएको छ । ६ हजार १ सय ६ घरमा आंशिक क्षति पुगेको छ । कान्तिपुर

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार