• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
देश/प्रदेश

वर्षापछिको बाढी–पहिरोबाट ७८ जनाको मृत्यु, १७ हजार घरधुरी विस्थापित

काठमाडौं । मुलुकमा केही दिनअघि परेको वर्षापछिको बाढी–पहिरो र डुबानका कारण मंगलबार मध्याह्नसम्म ७८ जनाको मृत्यु भएको छ भने ३२ बेपत्ता र ४० जना घाइते भएका छन् ।

गृह मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार असार २६ गतेदेखि परेको अविरल वर्षापछि आएको बाढी–पहिरोमा परेर १७ हजार ४२० घरधुरी विस्थापित भएका र तीन हजार ३६६ जनाको उद्धार गरिएको छ ।

गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्यसन्चालन केन्द्रका प्रमुख वेदनिधि खनालले ती घरधुरीका मानिसलाई अस्थायी आश्रयस्थलमा राखिएको र राहत वितरण कार्यलाई तीव्रता दिएको बताए ।

 

अझै केही दिन आंशिक र केही स्थानमा बढी वर्षा हुने अनुमान जल तथा मौसम विज्ञान विभागको छ । अहिलेसम्म बाढी–पहिरो र डुबानबाट ३२ जिल्ला प्रभावित भएको छ ।

बेपत्ताको खोजी र राहतकार्य तीव्र पारिएको सरकारले जनाएको छ । तीनै तहका सुरक्षा निकायका ४१ हजार बढी जनशक्ति उक्त अभियानमा सक्रिय छन् ।


राजमार्ग खुलाउने प्रयास जारी

 

उदयपुर–गाईघाट–खोटाङ, खोटाङ–हलेसी–तुवाचुङ, महोत्तरी–जनकपुर–जलेश्वर ९भाप्सी खोला डाइभर्सन०, सिन्धुली–मध्यपहाडी लोकमार्ग, कान्ति लोकपथ (हेटौंडा), कुलेखानी–फाखेल–फर्पिङ, बेसीसहर–मनाङ, धुन्चे–रसुवागढी सडक खुलाउने प्रयास जारी रहेको सरकारले जनाएको छ ।

यस्तै, हेटौंडा–दक्षिणकाली, भालुवान–प्यूठान, गोरखाको बाह्रकिलो–बारपाक तथा साघारादेखि सिरहा जाने हुलाकी राजमार्गसमेत खुलाउने प्रयास भइरहेको छ ।

केही सडक भने सन्चालनमा आइसकेको गृह मन्त्रालयले जनाएको छ ।

 

राहत वितरण तीव्र, १२ हजार त्रिपाल पठाइयो

 

तीनै तहका सरकारले राहत वितरण कार्यलाई तीव्रता दिएका छन् ।

त्रिपाल, खाद्यान्न, औषधिजस्ता अत्यावश्यक सामग्री स्थानीय तह, जिल्ला विपद् व्यवस्थापन समिति, निजी क्षेत्र, रेडक्रस, मानवीय सहायताका क्षेत्रमा काम गर्ने संघ–संस्थाले राहत वितरण गरिरहेको गृह मन्त्रालयले जनाएको छ ।

प्रदेश नम्बर–३ को गोदामघर हेटौंडाबाट सिरहा, सर्लाही, रौतहट र महोत्तरी जिल्लाका लागि तीनरतीन हजारथानका दरले १२ हजारओटा त्रिपाल र चार रोल म्याटसहित राहत सामग्री पठाइएको छ ।

 

गृह मन्त्रालयले ललितपुर जिल्लाको गोटीखेल र गिम्दीका लागि हेलिकोप्टरबाट ४० थान त्रिपाल पठाएको र तराईमा थप एक हजार १०० थान त्रिपाल र जेनेरेटर पठाएको जनाएको छ ।

प्रदेश नम्बर–२ को सरकारले उद्धार तथा राहतमा खर्च गर्नेगरी ८ ओटै जिल्ला विपद् व्यवस्थापन समितिका लागि रु १० लाखका दरले उद्धार तथा राहत खर्च उपलब्ध गराउने एवं मृतक परिवारलाई प्रतिमृतक रु तीन लाखका दरले आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेकोसमेत गृह मन्त्रालयले जानकारी दिएको छ ।रासस

 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार