• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
पत्रपत्रिका

फोहोर फ्याँक्नेको पहिचान सीसीटीभीबाट

काठमाडौं । अरूको आँखा छल्दै फोहोरको पोको बोकेर कता लाग्दै हुनुहुन्छ रु कतै बाटोघाटो, चौबाटोको मोड र छिमेकीका घरढोकाअगाडि फोहोरको पोको बिसाउने मनशाय त छैन रु यसो हो भने महानगरीय प्रहरी परिसर र काठमाडौँ महानगरपालिकाको नगर प्रहरी टोलीले तपाईंलाई सीसीटीभीबाट पहिचान गरी ५० हजार रुपियाँसम्म जरिवाना गर्नेछ । 

महानगरपालिकाले यो प्रयोजनका लागि प्रहरी परिसरलाई पाँच करोड ८० लाख रुपियाँ अनुदान सहयोग गरिसकेको छ । प्रहरी परिसरको सडकमा जडित सीसीटीभी विगतमा अपराध अनुसन्धान र ट्राफिक व्यवस्थापनमा प्रयोग हुँदै आएको थियो । 

 

अब बाटोघाटोमा फोहोर छोडेर फुत्कनेलाई पनि यही सीसीटीभीमार्फत पक्रने छ । त्यति मात्र होइन, निजी स्तरबाट राखिएका सीसीटीभीमा कैद भएका प्रमाण वा मोबाइलबाट खिचिएको दृश्यलाई पनि मान्यता दिएर फोहोर फाल्नेलाई कारबाही गरिने छ । महानगरपालिका कार्यान्वयन विभाग प्रमुख धनपति सापकोटाका अनुसार अपराध अनुसन्धान, गुन्डागर्दी, सवारी दुर्घटनामा र ट्राफिक नियमको उल्लङ्घन, सामाजिक अभद्र व्यवहार सबैलाई सीसीटीभीको केन्द्रीय कक्षबाटै पहिचान गरेर कारबाही गरिन्छ । 

 

महानगरपालिकाका प्रवक्ता ईश्वरमान सिंहका अनुसार आर्थिक वर्ष २०७६÷७७ को सुरुबाटै महानगरका सबै दोबाटो, चौबाटोमा सीसीटीभी जडान हुने छ । अहिले पनि फोहोर जथाभावी फ्याँक्नेलाई कारबाही नभएको भने होइन । कार्यान्वयन विभाग प्रमुख सापकोटाका अनुसार तीन लाख रुपियाँ जरिवाना शुल्क महानगरपालिकाले उठाएको छ । 

 

नियमअनुसार एक हजारदेखि ५० हजार रुपियाँसम्म महानगरपालिकाले जरिवाना गर्न सक्छ । यसलाई अझ प्रभावकारी बनाउँदै सर्वसाधारणमा सार्वजनिक स्थानमा फोहोर थुपार्न हुन्न भन्ने सजगताका लागि पनि सीसीटीभी जडान गर्ने योजना तयार भएको हो । “प्रहरी र महानगरपालिकाले संयुक्त रूपमा यो कारबाही अगाडि सार्दा फोहोर गर्नु पनि अपराध हो भन्ने कुरा अब झल्काउँछ”, प्रमुख धनपति सापकोटा भन्नुहुन्छ । 

 

हालै मात्र डिल्लीबजार पीपलबोटमा फालिँदै आएको फोहोरलाई व्यवस्थापन गरी यहाँ फोहोर फाल्न निषेध गरिएको छ । यो स्थानमा फोहोर फ्याँक्दै आएकाले यही स्थानबाट एक सय मिटर आसपास ढकाल आलुप्याज सेन्टर, वसन्तेश्वर महादेव र सामुन्नेको शिव पराजुली किराना पसलअगाडि फोहोर थुपार्न थालेका छन् । जाडोमा खास्टोभित्र फोहोरको पोको राखेर, मोटरसाइकलको लेगगार्डमा झुन्ड्याएर र वर्षादमा छाताको डन्डीमा फोहरको पोका गुथेर खुसुक्क बाटोमा फाल्ने प्रवृत्ति अझै हटेको छैन । 

 

प्रवक्ता सिंह भन्नुहुन्छ, “अब फोहोर फाल्नेलाई पटकैपिच्छे ५० हजार रुपियाँ जरिवाना हुन्छ । जडित सीसीटीभीबाट यस्ताको पहिचान गरेर घरडेरामै पुगेर कारबाही गरिन्छ । ” नेपाल प्रहरीले सीसीटीभी जडानका लागि बोलपत्र नै आह्वान गरिसकेको छ । गोरखापत्र

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार