• मंगलबार १-११-२०८१/Tuesday 04-23-2024
पत्रपत्रिका

पशुसँगै सुत्छन् बाढीपीडित

रौतहट । रौतहटको दुर्गाभगवती गाउँपालिकाको सरस्वती मावि भलोहिया पुग्नुभयो भने तपाईंले विद्यार्थी देख्नुहुन्न । अहिले त्यहाँका कोठाचोटामा गाईबस्तु बाँधिएका छन् । बालबालिका पनि त्यतै कतै खेल्दै गरेका भेटिन्छन् । कुनै कोठामा कसैले खानाको तरखर गर्दै हुन्छन् त कसैले लालाबाला स्याहार्दै गरेका पनि देखिन्छन् ।

 

यो दृश्यको एउटै कारण हो, बाढीको वितण्डा । गाउँपालिकाका १ देखि ५ सम्मका वडा सबै डुबानमा परेका छन् । पीडितमध्ये केहीले विद्यालयमा आश्रय लिएका छन् भने केहीले मन्दिर र आफन्तकहाँ बास मागेका छन् । पीडितहरू विद्यालयका डेस्कबेञ्च जोडेर सुत्छन् । यसबाट विशेषगरी वृद्धवृद्धालाई समस्या भएको छ ।

 

बालबालिकालाई पनि उत्तिकै पीडा छ । त्यसमा पनि गाईबस्तुले गरेको फोहोरले बाढीपीडितमा महामारी लाग्ने हो कि भन्ने त्रास बढ्दो छ । विस्थापितको बासस्थान र पशु बाँध्ने ठाउँ एउटै भएकाले महामारीको डर बढेको हो । विस्थापितले एक सयभन्दा बढी गाईभैंसी, बाख्रा विद्यालयमा बाँधेका छन् । त्यहीँ नजिकै विस्थापितले चुलो बनाएका छन् । तर खाद्यान्न अभावमा धेरैको चुलोमा आगो बलेको छैन ।

 

लगातारको वर्षापछि आएको बाढीले सबै वडा डुबानमा परेको गाउँपालिकाका अध्यक्ष अरुणकुमार साहले बताए । ‘यति नै क्षति भयो भन्न सक्ने अवस्था छैन,’ उनले भने, ‘सबैभन्दा बढी २ नम्बर वडाका ४ सयभन्दा बढी मानिस विस्थापित भएका छन् । उनीहरूलाई खाद्यान्नलगायतको जोगाड गर्दै छौं ।’ गाउँपालिकाले चिउरा, चाउचाउलगायत खानेकुरा सहयोग गरेको छ । अन्य खाद्यान्न पनि दिने तयारी भइरहेको साहले जानकारी दिए । बाढीबाट विस्थापितको पुनःस्थापनाका लागि एक करोड रुपैयाँ बजेट विनियोजन गर्ने उनको भनाइ छ ।

 

अहिले डुबेका घरमा पानी घटेको छ । तर त्यत्तिमै घर जान विस्थापितलाई डर लागेको छ । फेरि बाढी आउने पो हो कि भन्ने त्रास रहेको पीडित बताउँछन् । त्यसैले केही समय स्कुलमै बस्ने उनीहरूको भनाइ छ । स्कुलमा पानीको समस्या छ । विस्थापित सबैले एउटै धाराबाट काम चलाउनुपर्छ । ‘कष्टले बसेका छौं । सधैं गाउँपालिकाले खान देला भनेर कसरी बस्नु रु’ स्थानीय हरेन्द्र सहनी भन्छन्, ‘ज्यान त जोगाइयो, अब खान र बस्नको समस्या छ ।’ सहनीको ८ जनाको परिवार स्कुलमा शरण लिई बसेको छ । पानीको सतह बढेर घर डुब्न थालेपछि ३ छोरा, ३ छोरी, श्रीमती र आफू साथै भागेर ज्यान जोगाएको उनले जानकारी दिए ।

 

तराई, मधेसका जिल्लामा प्राकृतिक विपत्तिको सधैं त्रास हुन्छ । आगलागी, हावाहुरी, शीतलहर र बाढीका कारण बर्सेनि ज्यान गुमाउनेको संख्या ठूलो छ । यस वर्ष मात्र बाढीबाट रौतहटमा ८ जनाले ज्यान गुमाए । १ जना बेपत्ता छन् । लगातारको वर्षापछि लालबकैया र वाग्मती नदी बस्ती पस्दा जिल्लाको ८० प्रतिशत भूभाग डुबानमा छ ।

 

जिल्लामा बाढीबाट झन्डै ७० हजार घर प्रभावित भएको जिल्ला प्रशासन कार्यालयको तथ्यांक छ । २० हजार घरपरिवार विस्थापित भएको प्रारम्भिक अनुमान छ । ४ सय घर पूर्ण रूपमा क्षतिग्रस्त छन् । यसबाट ३० हजार मानिस प्रभावित छन् । अझै क्षतिको तथ्यांक बढ्न सक्ने प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए । कान्तिपुर 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार