• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
देश/प्रदेश

पार्टी नयाँ ढंगबाट अगाडि बढ्न जरुरी : कमल थापा 

इलाम । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश नं– १ को विस्तारित बैठक विभिन्न नौ बुँदे निर्णय गर्दै सम्पन्न भएको छ । इलामको पशुपतिनगरमा बसेको विस्तारित बैठकमा पार्टी अध्यक्ष कमल थापाको उपस्थिति रहेकोे थियो ।

 

बैठकलाई सम्बोधन गर्दै पार्टी का अध्यक्ष कमलथापाले नयाँ शिराबाट पार्टीलाई अगाडि बढाउनु जरुरी भएकाले सैद्धान्तिक, वैचारिक, निष्ठा, साङ्गठानिक क्रियाशीलता, इमानदारी र मेहनतको बलमा पार्टीलाई उठाउने गरी काम गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए । उनले राप्रपालाई मुलुकको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने जिम्मेवारी बहन गर्नबाट कोही पनि चुक्न नहुने विचार व्यक्त गरे ।

 

पार्टीका महामन्त्री तथा सांसद राजेन्द्र लिङ्देनले सङ्गठनबिना पार्टीको उद्देश्य प्राप्त नहुने हुँदा सङ्गठनलाई केन्द्रमा राखेर गतिविधि गर्नुपर्नेमा जोड दिए । प्रदेश अध्यक्ष राम थापाको अध्यक्षतामा भएको बैठकमा प्रदेशभित्रका पार्टीका केन्द्रीय पदाधिकारी, सदस्य, प्रदेश समिति, जिल्ला अध्यक्ष, जनवर्गीय सङ्गठन प्रमुखको उपस्थिति थियो ।

 

पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाका अनुसार बैठकले केही दिन अघिदेखि परेको अविरल वर्षाले पु¥याएको जनधनको क्षतिप्रति दुःख प्रकट गर्दै मृतकका परिवारजनमा समवेदना व्यक्त गर्दै राहत तथा उद्धारमा जुट्न सबैमा आग्रह गरेको छ । साथै बैठकले विदेशबाट आयात हुने तरकारी र फलफूलमा विषादी परीक्षणको तत्काल व्यवस्था गर्न सरकार समक्ष माग गरेको छ ।

 

यस्तै लोभ, लालच, प्रलोभनका आधारमा योजनाबद्ध रुपमा व्यापक धर्म परिवर्तन गराउने काम भइरहेको भन्दै बैठकले आपत्ति जनाउँदै तत्काल धर्म परिवर्तनलाई रोक र संलग्नलाई कारवाही माग गरेको सहायक महामन्त्री बर्तौलाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार