• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
राजनीति

सभामुखले फट्याइँ गरे : सभापति देउवा 

काठमाडौं । सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाको बैठक आउँदो साउन ८ गतेसम्मका लागि स्थगित गरेका छन् । प्रतिपक्ष दल नेपाली कांग्रेस तथा राजपा नेपालले संसदको नियमित कार्यसूचीलाई थाती राखेर सोमबारको बैठकमा बाढी–पहिरोका कारण भएको क्षति तथा त्यसमा भइरहेका प्रयासबारे छलफल गर्न माग गरेका थिए ।

 

कांग्रेस र राजपाले संसदमा बाढी–पहिरोबारे छलफल गर्न माग गर्दै जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका थिए । तर, सत्तापक्ष नेकपा भने सो प्रस्तावमा छलफल गर्न सहमत भएन र सभामुख महराले बैठक साउन ८ गतेसम्मका लागि स्थगित गरेका हुन् ।

 

बैठक स्थगन हुनुमा कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले सभामुखले फट्याइँ गरेको प्रतिक्रिया दिएका छन् । उनले मुलुकमा विपद् स्थिति भएको बेला पीडितको सहयोगका लागि सम्पूर्ण संसद् एकढिक्का छ भन्ने सन्देश दिनुपर्नेमा सूचना टाँसेर बैठक एकाएक स्थगन भएको सुन्दा अचम्म लागेको बताए ।

 

सभापति देउवाले भने, 'बाढी, पहिरो र डुबानबाट ६३ जनाको मृत्यु भएको भन्ने खबर आएको छ, यस्तो बेलामा सम्पूर्ण संसद् एक भएर छलफल गरी सहयोगका लागि एक ठाउँमा छौँ भन्ने सन्देश दिनुपर्छ, सदनमा छलफल गरौं, सहयोगका लागि जुटौं भनेर हामीले प्रस्ताव राख्दा किन अचानक बैठक स्थगन गरियो, यत्रो गम्भीर र मानवीय कुरामा छलफल गर्न नदिने भन्ने कुरा अच्चम छ ।'

 

उनले विपद्का बेला सबै एक हुनुपर्ने बेलामा त्यसका लागि सत्तापक्ष इच्छुक नदेखिएको आरोप लगाए ।सत्तापक्षका कतिपय सांसदहरु पनि लामो समय प्रतिनिधिसभा बैठक स्थगित गरिएको प्रति असन्तुष्ट छन् । बैठक स्थगित सम्बन्धी सूचनामा भने ‘देशका विभिन्न भागमा आएको बाढी–पहिरो र डुबानबाट भएको जनधनको क्षतिको अनुगमन एवं समन्वय गर्न सांसदहरु आ–आफ्नो क्षेत्रमा जानुपर्ने भएकाले बैठक स्थगन’ गर्नुपरेको उल्लेख गरिएको छ ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार