• आइतबार ८-२२-२०७६/Sunday 12-08-2019
विचार

संस्कृति र सम्वृद्धि

केहि वर्ष अघिको कुरो हो । फ्रान्समा आयोजित एउटा अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुने मौका मिलेको थियो । त्यो कार्यक्रम ‘इन्टरनेशनल एलाएन्स फर रेस्पोन्सिवल सोसाइटिज’ (उत्तरदायी समाजको स्थापनामा समर्पित अन्तर्राष्ट्रिय समूह) ले आयोजना गरेको थियो । पेरिस शहरबाट केही घण्टाको दुरीमा स्थित ‘ला–बर्जेरी’ भन्ने अत्यन्तै सुन्दर ठाउँमा त्यो सम्मेलनको आयोजना गरिएको थियो । ला–बर्जेरी शहर भन्दा टाढा मनोरम प्राकृतिक दृश्यहरूले परिपूर्ण जताततै हरियाली व्याप्त घाटीहरू र विशाल ऐतिहासिक किल्लाहरूले घेरिएको पर्यटकीय ठाउँ भएकाले पनि त्यहाँको अवलोकनले जस–कसैलाई पनि शताब्दी पहिलेको युरोपको अनुभूति हुन पुग्थ्यो ।

 

युरोप र पाश्चात्य मुलुकहरूमा भौतिक पूर्वाधारहरू र श्रोत–साधन आदिको यथोचित प्रयोगले गर्दा भौतिक सम्मुन्नति साधारण जीवनशैलीमा ढलिसकेको छ । तर, हाम्रा भू–भाग अझ भनौँ दक्षिण एसियायी मुलुकहरूका रहन–सहन र जीवन पद्दतीमा त्यति सम्पन्नता र सहजता आउन सकेको छैन । त्यसैले युरोपेली मुलुक र हाम्रो विभिन्न संयन्त्र, पूर्वाधार आदि–इत्यादिमा अन्तर हुनु कुनै नौलो र उल्लेखनीय प्रसंग होइन । 

 

हाम्रो र पाश्चात्य मुलुकहरूबीच थुप्रै भौगोलिक, राजनीतिक भिन्नता मात्र नभएर सामाजिक र सांस्कारिक पृष्ठभूमि पनि अन्तर रहेको हामी सबैले बुझेकै कुरो हो । तर यसो भन्नाले भौतिक सम्पन्नताले त्यताको जीवन सहज भएको भन्न खोजेको होइन  । उनीहरुका आफ्नै जटिलता छन् भने हामी आफ्नै कमजोरी र पछौटेपनले नै ग्रसित रहेको कुरालाई दोहोराउनु पर्ने आवश्यकता देखिदैन ।

 

तर पनि विश्वव्यापीकरण आधुनिक सञ्चार प्रविधिको चरमोत्कर्ष विकासले सम्पूर्ण विश्वलाई एक सूत्रमा बाँधेको सन्दर्भ पनि निर्विवाद छ । त्यसैगरी प्राकृतिक सामाजिक, राजनीतिक, आर्थिक जटिलता मात्र होइन कि विविध  प्रकारका दैवी वा मानव–सृजित सङ्कटहरू उदाहरणका लागि वातावरणमा तीव्र ह्रास मौसम परिवर्तन आतङ्कवाद र वायु प्रदुषण आदि सम्पूर्ण विश्व कै साझा समस्या हुन पुगेकोे छ । यसका अलावा  मानवीय–संवेदना जुनकुनै समाज र क्षेत्रमा बसेका मान्छेको मौलिक गुण र तत्व भएको कुराहरू पनि निर्विवाद छन् ।

 

त्यसैले यहाँ प्रसंग कुनै पनि मुलुकको आर्थिक, राजनीतिक परिवेश र भौतिक–आधुनिक प्रविधि विकासका उपलब्धिको वर्णनको होइन । यसको कुनै औचित्य पनि छैन । यो त स्वाभाविक र सर्वविदित तथ्य हो । वास्तवमा यी पङ्क्तिहरूमा युरोपेलीहरूको अझ भनौँ फ्रान्सेली जनताको आफ्नो ऐतिहासिक धरोहर भाषा र संस्कृति प्रतिको लगाव तथा मोहले मनलाई प्रभावित पारेका केही अनुभूतिको उद्गारहरू मात्र हो ।

 

युरोपेली मुलुक र शहरहरू घुम्दा त्यहाँका ऐतिहासिक तथा सांस्कृतिक वस्तुुहरूका संरक्षण देख्दा जो कोही पनि प्रभावित नभई रहन सक्दैन । आज पनि यसले पौराणिक युरोपको झ–झल्को दिइरहेको स्पष्ट भान हुन्छ । हामीले स्कुलमा पढेका सेक्सपियर तथा अन्य युरोपेली अथवा फ्रेन्च कवि र लेखकहरूका कथाहरू र यसका पात्रहरू यतै–कतै घुम्दै पो छन् कि भन्ने जस्तो भान हुनपुग्छ । विश्व प्रसिद्ध पेन्टिङ्ग ‘मोनालिशा’ को अवलोकनले फेरि एकचोटि हामीलाई तत्कालिन फ्रान्स वा युरोपको स्मरण गराउँछ । लुभ्र म्युजियमको अगाडि नेपोलियनकालको ऐतिहासिक भवन अझै विद्यमान छ । शहरका ठाउँ–ठाउँमा स्थापित मूर्ति र ऐतिहासिक स्थलहरूले सम्पूर्ण शहरलाई नै एउटा पुरातात्विक सङ्ग्राहलयमा परिणत गरिदिएको जस्तो लाग्छ । विश्व चर्चित फ्रेन्च रिभोल्युसन आन्दोलनको प्रारम्भिक ठाउँ आदि पनि दर्शनीय स्थलका रुपमा संरक्षण गरिएको छ । विश्व प्रसिद्ध ‘आइफल टावर’ ले अमेरिकाको ‘स्टाचु अफ लिबर्टी’ सँग जोडिएको आफ्नै इतिहास बोकेर बसेको छ । १८आंै शताब्दीमा बनाइएका कलात्मक ग्यालेरीहरू पेरिसको आकर्षणको केन्द्र बिन्दुको रुपमा अझ विद्यमान हुनपुगेको छ । 

 

यसरी, यहाँका जीवनशैली र ठाउँहरूमा ऐतिहासिक धरोहरका संवेदनशील संरक्षणका साथै आधुनिक प्रविधि र भौतिक उपलब्धिका समुचित सदुपयोगको अनौंठो समिश्रण देखिन्छन् । घर तथा चर्चहरू पुरानै शैली र ढाँचामा ढालिएका र बनाइएका छन् । तर आन्तरिक बनावट र साज–सज्जा तथा सहुलियतहरू अत्यन्त आधुनिक प्रविधिले युक्त हुन पुगेका छन् । संस्कृति, इतिहास र आधुनिक प्रविधि तथा विकासको अत्यन्त सुन्दर सन्तुलित समिश्रणले मन आनन्दित हुन्छ ।

 

यस्तै आफ्ना मौलिकता र संस्कृतिका लागि गौरवान्वित हुँदै संसार भरिबाट नै पर्यटन आकर्षण गर्न सक्षम  मुलुक(शहर तथा प्रान्तहरुको आफ्नै महत्व स्थापित रहने प्रमाणित यथार्थ हो ।  यस्ता ठाउँहरु विश्वका बिभिन्न क्षेत्र र भूभागमा बिकसित(बिकासोन्मुक समाज र मुलुकका रुपमा  प्रसिद्धी कमाउन सफल भएका पनि  छन्  । दक्षिण एशिया अथवा छिमेक कै  मुलुक भारतकै  कुरा गर्दा पनि बिभिन्न प्रान्त र जन(जातीको विविधता  र मौलिकताले परिपूर्ण भएका थुप्रै ठाउँहरु छन्  । कतिपय  ठाउँमा आधुनिकीकरण आदिको प्रभावले परिवर्तनले फड्को मारिसके तापनि, कतै परम्परा र संस्कृतीलाई उल्लेख्य रुपमा जोगाएरै सुख (सम्वृद्धिको बाटोमा बढिरहेको उदाहरणहरु पनि भेटिन्छन । यस्तै सन्दर्भमा आफ्नो मौलिकतालाई कायम राख्दै बिकस र सम्वृद्धीमा अघि बढ्ने प्रदेशमा भारतको राजस्थान पनि उल्लेखनिय हुन आउँछ । 

 

गतवर्ष सन् २०१८ मा जयपुर विश्वविधालयको एउटा कार्यक्रममा सहभागी हुने सन्दर्भमा राजस्थान जाने मौका जुरेको थियो । स्वाभाविक रुपमा भारतको धेरै शहरहरुको भ्रमण गर्न भ्याए पनि राजस्थान पुग्ने पहिलो अवसर थियो । त्यहि अवसर पारेर राजस्थानका अन्य शहरहरु उदयपुर, माउण्टआबु, अजमेर तथा पुष्कर आदि पनि घुमघाम गरियो । राजस्थानका बारेमा सुनेको र श्रव्यदृश्यमा देखेको  किल्ला–खण्डहर, फोर्ट, रेत र चट्टानिलो पहाडीहरु, झील तथा खुड्कीला युक्त इनार आदिको हेर्ने र घुम्ने सोंचले मनमा निकै उत्सुकता जागृत भएको थियो ।

 

राजस्थान भारतको आफ्नो छुट्टै इतिहास, परम्परा संस्कृती, वेशभुषा, पहिरन  र पहिचान बोकेको प्रदेश हो । त्यहाँका वासिन्दाहरुमा  खासगरेर राजपुत, जाठ र मारवाडीहरुको नै  बाहुल्यता रहेको पाइन्छ । आफ्नै परम्परा, संस्कृति र वहादुरीका कथा व्यथाका एतिहासिक पृष्ठभुमि भएको, राजस्थान आर्थिक सम्भाव्यता र बिकासका गतिविधीमा पनि, अग्रणी स्थानमा रहेछ भन्ने लाग्यो । मार्वल उत्पादनमा नेतृत्व लिएको यो प्रदेशले वहुमुल्य रत्न–जुहारत तथा स्टोन तरासने काम एवम् जरी भरिएको कारिगरी युक्त साडी, लत्ता कपडा उत्पादन र  कलात्मक वस्तुका निर्माणका लागि पनि दक्षिण एशियामा मात्र होइन कि विश्वमानै ख्याती आर्जन गर्न सफल रहेको सर्वविदित नै छ । 

 

जयपुरबाट उदयपुर हुँदै माउन्टआबु पुग्दा अथवा आजमेर पुष्कर आदि आउँदा–जाँदा पनि  मोटरबाटोबाट नै पुरा गरिएको थियो । त्यहाँ बाटोको सुगमता सम्पन्नता र उचित व्यवस्थापनले गर्दा, त्यस्तो लामो दुरीको यात्रा पनि सहजै सम्पन्न गर्न सकिदो रहेछ भन्ने मनमा लाग्यो । यसरी एउटा शहरबाट अर्को शहर पुग्ने क्रममा, थुप्रै बस्ती–गाउँ हुँदै राजमार्गको दाँया–वायाँ पर्ने, मरुभूमिको चट्टानिलो शृंखलाहरु चिर्दै अत्यधिक चौडा सुगम र पक्कि बाटोमा अगाडी बढ्दा, आरामदायी यात्राको अनुभूति हुन्थ्यो । यसका साथै, त्यहाका नदी, वालुवाका रेतहरु र उँटको ताँती देख्दा रमाईलो लाग्यो ।

 

माउण्टआबु पुग्ने क्रममा पहाडी बाटो भए पनि, एकातिर पर्ने घना संरक्षित जंगलमा देखिने लंगूर तथा कालो हरिण आदि बिभिन्न किसिमका जीव(जन्तुहरुले, मनको उत्सुकता यात्राभरि बढाइ नै रहेको थियो । राजमार्गको उचित व्यवस्थापनले पनि सफरमा निर्धक्कता थपेकै थियो । यातायातलाई व्यवस्थित र सुरक्षित बनाउन तथा गति नियन्त्रणका लागि निश्चित दुरीमा टोल–फ्री गेटहरु राख्नुका साथै  मोडहरुमा सचेत गराउन पनि ठाउँ–ठाउमा साईनबोर्ड राखिएको थियो । यसका अलावा, निश्चित दुरीमा ठाउँ–ठाउमा दुर्घटना–सहायताका लागि सम्पर्क फोनको व्यवस्था पनि गराइएको थियो । 

 

यस्तै बिविध दृष्यावलोकनले यात्रा भरिनै सुखद र रमाइलो अनुभूति गराएता पनि, एउटा मनस्थितीले पिरोलि नै रह्यो । यसरी, मोटरबाटोबाट लामो दुरीको यात्रा गर्दा, निश्चित रुपमा, हाम्रो आफ्नै परिवेश, बाटो–घाटो र राजमार्गको सम्झना भइरहेको थियो । हाम्रो मुलुकमा यस्तो लामो दुरीको मोटर यात्रा निकै नै कष्टकर र त्रासदीपूर्ण हुनपुग्छ । हुन त, कतिपय स्थितीमा यसको भौगोलिक बनावोटलाई औल्याईएला । तर, इमान्दारीपुर्वक मनन गर्ने हो भने, हामीका यात्राको जोखिम र कष्टका कारक तत्वमा निर्माण–व्यवस्थापनको फितलोपन, सम्बन्धित निकायको लापरवाही र निती नियम–अबलम्बनको कमी–कमजोरीले आदि नै  मुख्य कारण भएको सत्यलाई अस्वीकार गर्न पनि सकिदैन ।

 

दक्षिण एसियाली मुलुकहरु राजनीतिक, आर्थिक, सामाजिक परिवेशमा मिल्दो–जुल्दो पृष्ठभुमीका साझेदार भएता पनि, बिकासका न्युनतम पूर्वाधारहरु  बाटो–घाटो वा राजमार्ग, बजार व्यवस्थापन–नियमन आदि साधारण विषय–वस्तुका  सृजना–सुदृढीकरण र संचालनमा किन यस्तो ठुलो भिन्नता देखा परेको होला भन्ने प्रश्न मनमा सल्बलाउन थालेको थियो । हामीले न्युनतम पुर्वाधारहरु कमसेकम बाटो–घाटो र सहज यातायातको अनुभूति गर्न–गराउन पनि कतिवर्ष लाग्ने होला ? अझ भनौ, राजनीतिक संक्रमण पार गरेर, अब आर्थिक बिकासको पालो..... भन्ने उक्ति सुनिरहेका हामीले, नेपालमा बिकासको अनुभूति कहिले गर्न पाउने होला.....आदि इत्यादीका सोंचले, एउटा नागरिक र अर्थशास्त्रको बिधार्थी भएकाले पनि, धेरैवेरसम्म, मलाई घच्घचाई नै रह्यो ।  

 

राजस्थानको राजधानी तथा प्रमुख शहर जयपुर (पिंक–सिटी) एतिहासिक दृष्टिकोणले पनि सबैभन्दा महत्वपूर्ण र राजपुतानी सभ्यताको उदगम स्थल रहेछ । सोह्रौ शताव्दीमा महाराज जयसिंहले स्थापित तथा बिकसित गरेको ‘अम्बर फोर्ट’ र उनको सैनिक गृह ‘नहारगढ़ फोर्ट’ ‘जय गढ’ आदि यहाँका थुप्रै पुरातात्विक र एतिहासिक आकर्षणका केन्द्रहरुका संरक्षणमा सरकार र स्थानीयहरु निकै सजग रहेको अनुभूति भयो ।

 

यसरी, इतिहास र संस्कृती जोगाउनुका साथै देश–विदेशबाट प्रतिदिन आउने पर्यटकहरुको घुइचोले येथेष्ट राजस्व संकलन गरेका छन् । पर्यटकहरुका आगमन र आवलोकनका लागि  उचित संग्राहलय नियमन र व्यवस्था मिलाएर, आफ्नो मुलुक, संस्कृती र इतिहासलाई विश्व सामु प्रकाशमा ल्याउने कार्य पनि गरिएको छ । 

 

यस्ता एतिहासिक–सांस्कृतिक महत्व बोकेका प्रसंग तथा ठाउँहरु हाम्रो मुलुकमा पनि  प्रशस्त मात्रामा छन् । हुनत, यस्ता गतिबिधीमा, प्रत्येक नागरिक र सिंगो समाजको चेतना तदारुकता र सहभागिता अत्यन्त महत्वपूर्ण हुन्छ । खास गरेर, सम्बन्धित निकायहरु जस्तै राष्ट्रिय अभिलेखालय, नेपाल पर्यटन (टुरिज्म बोर्ड) तथा यससंग आवद्ध अन्य सरोकारवालाहरुको स्वत बढि भुमिका रहनेछ । तर निती नियम सरकारको अगुवाई हुनुपर्ने कुरामा दुईमत हुन सक्दैन । निती नियम तर्जुमा तथा योजना तयार गर्नु मात्र सरकारको दायित्व होइन कि यसको सफल कार्यानवयनको जिम्मेवारी सम्म वहन गर्न सक्नैपर्छ ।

 

आफ्नै साहित्य, संस्कृती मौलिकतालाई कायम राख्दै यसको आधारमा पनि  बिकासको बाटोमा अघि बढ्न सकिने यथार्थ यस्ता शहर र देशहरुका अनुभवले पनि प्रमाणित गर्छ । तर, मुलुकभित्रै पनि यस्ता सम्भाव्यता यथेष्ट रहेता पनि मुलुक र मुलुकबासीका हक–हितमा पूर्णरुपले समर्पित अठोट र नेतृत्वको खाँचोमा भने सुख–सम्वृद्धि प्राप्त नहुने यथार्थलाई पनि नकार्न सकिदैन । अघि बढ्नका लागि विगतको अनुभव र सिखको सर्वाधिक महत्व र भूमिका हुने तथ्य पनि निर्विवाद छ ।

 

त्यसैले, यहाँ पर्ल.यस.बकको भनाई सम्झना हुन्छ– ‘यदी तपाईं आजको स्थिति, राम्ररी बुझ्न चाहनु हुन्छ भने, निश्चित रुपमा, तपाईंले हिजोका दिनहरूको अन्वेषण र अध्ययन गर्नुपर्ने हुन्छ ।’ अघि बढ्नका लागि वा विकासका उपलब्धि हासिल गर्नका लागि कुनै पनि समाज र मुलुकले आफ्नो इतिहास र संस्कृितको परित्याग गर्नुपर्ने आवश्यकता देखिँदैन । फेरि किन दुर्भाग्यवश कतिपय स्थितिमा हाम्रो जस्तो समाज र मुलुकमा विकासका नाममा इतिहास र संस्कृति, सभ्यतालाई नै चोट पुर्‍याउने प्रयास गरिन्छ । त्यसैले, यसतर्फ ध्यान तथा सोच पुर्‍याउन र सुधार ल्याउन अति आवश्यक देखिन्छ ।

 

समय परिवर्तनशील छ, । यो प्रकृतिको नियम नै हो । त्यसैले यहाँ परिवर्तनलाई आत्मसात गर्दै बढ्नु पर्ने व्यावहारिक यथार्थलाई धमिल्याउने आशय कदापी गरिएको पनि होइन । केवल यसको आशय र  निष्कर्ष यति मात्र हो कि, परिवर्तन विकास अथवा अन्य कुनै नाममा पनि, हामीसँग भएका अथवा हाम्रा अग्रजहरूले आर्जन गरेका उपलब्धिहरूलाई नष्ट नगरौँ । यसको पनि संरक्षण गरि राखौँ किनभने, जीवनमा अघि बढ्ने क्रममा विगतका सबै सम्झनालाई मेट्नु पर्ने आवश्यकता हुँदैन । यीनै सम्झनाका खुड्किलाहरुमा टेक्दै हामी आफ्ना गन्तब्य सम्म पुग्छौँ । निर्दिष्ट ठाउँसम्म पुर्‍याउन प्रत्येक खुड्किलाको आ–आफ्नै महत्व रहने तथ्य यहाँ निर्विवाद हुन आउँछ ।

(शाह त्रिवि अर्थशास्त्र केन्द्रीय विभागकी पुर्व प्रमुख हुन्)


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार