• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
डबली

जागिर

“सँधै मलिन  अनुहार ।”  ठुलै चिन्तामा हुनुहुन्छ कि क्या हो ।” कर्मचारी साथीले सोधे । 

 

“होइन केही चिन्ता छैन । ठिकठाक छु ।”, उसले जवाफ दियो । उसको अनुहार देखेर नै जिवन प्रतिको असन्तुष्टि स्पष्ट देखिन्थ्यो । सरकारी जागिर खाएकै थियो । सोझो हिसाबले परिवार पालेकै थियो । तै पनि आत्मसन्तुष्टि भने थिएन । 

 

“तपाईले लगाउनुभएको सेतो सर्ट कस्तो मिलेको । कुन टेलर्समा सिलाउनु भएको ।” केशबले सोधे । 

 

“ यही परको रतन टेलर्समा ।” उसले जवाफ दियो । 

 

कर्मचारी साथीहरु उसलाई खुशी बनाउने बाहाना खोज्दै थिए । अफिस समय सुरु भइसकेको थियो । अब काममा जोतिनु पर्ने थियो । देवप्रसादले आफू भित्र ‘पोजिटिभ इनर्जि’ महशुस गर्न सकेको थिएन । बाहिरबाट मानिसले नियाल्दा उसको जिवन कति लोभलाग्दो थियो तर भित्रबाट खोक्रो 

 

“आहा सरकारी जागिरे । महिना बिताईदिए तलब पाकिहाल्छ । ”, मानिसहरु लोभिँदै भन्थे । 
    

एक रात ऊ अप्रत्याशित रुपमा ब्युँझियोे । आफैंलाई चिमट्यो । 

 

“के म ‘म’ नै हुँ वा अरु कोही ?”

 

“के म ज्यूँदै छु । ...

 

अँ ! के भएको छ मलाई ।”

 

देवप्रसाद अल्मल्लियो  र फेरी निदाउने प्रयास ग¥यो । ऊ ब्युँझिएको श्रीमतीले समेत थाहा पाइनन् ।


       कुनै समय मस्तिष्क यति सम्म बोझिलो बन्थ्यो की ऊ पूरानै समयलाई फनक्क फर्काउन चाहान्थ्यो । ग्लोबलाई हातले फनक्क घुमाए झैं पृथ्वीलाई फनक्क बिगतको त्यही मोड मा फर्काएर फरक सुरुवात गर्ने इच्छा थियो । मानौं जागिर प्रति पश्च्याताप भएको छ ।  

 
    जागिरले उसको सम्पूर्ण उर्जाशील उमेर खोस्यो । आफ्ना लागि कहिल्यै समय भएन । अहिलेसम्म बाँचेको जिन्दगी अरुलाई देखाउनकै लागि थियो । अथवा समाजमा मेरो ‘स्टाटस’ यस्तो छ है भन्ने कुरा दुनियाँलाई प्रमाणित गर्नकै लागि थियो । त्यसैले आफ्नो इच्छा अनुसारको जिन्दगी कहिल्यै बाँचेन ।

 
    कमाई गर्न रुचीका अन्य कामहरु पनि थिए । फिल्डमा हिँड्डुल गर्ने एन. जि. ओ.को, आई. एन. जि. ओ  का कामहरु । आफ्नै ट्राभल एजेन्सी दर्ता गरेर कमाई गरेको भए पनि हुन्थ्यो । गाउने बजाउने सोख थियो । त्यतै पहल गरेको भए पनि हन्थ्यो । तर अब त उसको गला र कला दुबैले साथ दिन छोडिसकेको थियो । थोत्रा गितार थन्किसकेका थिए । उतिबेलाका साथीहरु आ–आफ्नो बाटो लागिसकेका थिए । केही साथीहरु चर्चित भईसकेका थिए ।   


उसको रुचीका विषय उसको ‘करियर’ बनेन । बनेको भए सायद त्यसबाट उसले जिवनको हरेक पल ’इन्जोय’ गर्न सक्थ्यो । रुचीको कामले कामको उत्पादकत्व अथवा ‘क्वालिटी’ समेत बढ्थ्यो । आत्मादेखी रोजेको कामले उसको जिवनमा उत्साह भरिदिेन सक्थ्यो । जिवनका हरेक पल खुशीमा बित्थ्यो होला । जिवन बोझिलो हुने थिएन । 


      उमेर ढल्किँदै गएपछि बल्ल जिवनको मूल्य बोध हुँदै जाने रहेछ । आँखाहरु धमिला हुँदै गएका छन् । स्मरण शक्तिमा ह्रास आइसकेको छ। जोश जाँगर हराउँदै जान थालेको छ। जिवनका अमूल्य बर्षहरु तनावै तनावमा  बितायो । दिउँसभरी काममा घोटियो । जुन काममा पटक्कै रमाइलो लाग्दैनथ्यो । तलब थापेको दिन केही क्षण खुशी मिल्थ्यो । त्यसपछि उस्तै । वास्तवमा उसलाई पूरै दिन बोझिलो लाग्थ्यो । दिउँसभरी कुर्सिमा बसेर  टेबुलका झर्कोलाग्दा फाइलहरु पल्टाउँदा दिन पनि निकै लामो भए जस्तो । कम्प्युटरमा घण्टौं घोत्लिँदा पनि काम सकिएको हुन्न थियो । टाउको तातिसक्थ्यो बेलुकी नहुँदै निकै गले जस्तो महशुस हुन्थ्यो । त्यसैले होला सँधै मानसिक तनाव उत्पन्न भइरहन्थ्यो । बेलुकी सम्म गोडा कक्रक्क परिसक्थे । हात दुखे झैं हुन्थ्यो । टाउको कामको बोझले फुट्ला जस्तै हुन्थ्यो । 


    अफिसका केही कर्मचारी यही कामलाई हलुका पाराले लिइरहेका हुन्थे । हाँसी खुशी नै देखिन्थे । केही कर्मचारी भने ऊ जस्तै निरशः निरशः थिए । यही जागिरमा नाम निकालेको दिन कति खुशी लागेको थियो । कम्तिमा जागिरे भईयो भनेर रवाफ त देखाउन पाईयो । 


    देवप्रसादलाई मन नपरेको जागिरले तलब त दियो तर आत्म सन्तुष्टि दिएन । जागिर भएपछि बल्ल बिहे भयो कमाई धमाई नभएको  मान्छेलाई नभए कसले छोरी दिन्थ्यो र ? जागिरको राम्रो पाटो पनि थियो । ‘देवप्रसाद हाकिम’ भनेपछि टोलछिमेकका मानिसहरु नजिकिन खोज्थे ।

 
    विदाको एकदिन देवप्रसादको भेट वसन्तसँग भयो । वसन्त देवप्रसाद उस्तै उमेरका थिए । तर  देख्दा भर्खरका जस्ता देखिएका । उनीहरु खाजा खान एउटा रेष्टुराँ भित्र छिरे । त्यहाँ ठूलो ऐना राखिएको थियो । देवप्रसादले त्यस ऐनामा आफू र वसन्तलाई नियाल्यो । आफू अलि पाको जस्तो । रोगी जस्तो । देवप्रसादको मनमा द्धन्द्ध चल्न थाल्यो । वेटरले मेनु  अनुसारको खाजा ल्याइसकेको थियो । यो उमेरमा देवप्रसादलाई विभिन्न रोगले गाँजिसकेको थियो । तैपनि उसले आफूलाई साथीको अगाडि रोगी देखाउन चाहेन । 


    वसन्त आफ्ना प्रगतिका गफहरु सुनाउँदै थिए । उनले समाजमा राम्रो पहिचान बनाईसकेका थिए । सम्पत्ति कमाईसकेका थिए । स्वास्थ जिवन शैली थियो । वसन्त गीत गाउँथे । संगीत भर्थे । मिडियामा उनका स्वर र संगति घन्किन्थ्यो ।  जिविको आर्जनका लागि पनि वसन्त आफ्नै रुचीको ब्यबसायमा लागेका रहेछन् । ब्यबसायबाट राम्रै आम्दानी प्राप्त हुने रहेछ । आफ्नो सन्तुष्टिका कामहरुको लागि समेत उनले समय छुट्याएका रहेछन् । वसन्तका कुराहरुले देवप्रसादको मनमा एक किसिमको इश्र्या जाग्यो । यदि आफ्नो रुची अनुसारको कामममा लाग्न पाएको भए जिन्दगी यति बोझिलो हुने थिएन ।, आत्मसन्तुष्टिबाट बञ्चित हुनु पर्ने थिएन । जिन्दगीको एक एक समय रमाइलो गरी बित्थ्यो । 


    निष्कृय जिवन शैली हुने ऊ जस्ताका लागि सरकारी जागिर रोग उत्पादन गर्ने कारखाना बनेको थियो ।  जिवनको अधिकांश समय बाँधिएको मजदुर जस्तो महशुस हुन्थ्यो । रिटायर हुनु अघि नै सुगर, प्रेसर, कोलस्टोर, घुँडा जोर्निका समस्याहरु र डिप्रेसनले गाँजिसकेको हुन्थ्यो । देवप्रसादलाई आफ्ना लागि कहिल्यै समय भएन । सँधै मेसिन जस्तो जिन्दगी ।


    देवप्रसादले आफू जस्तै केही कर्मचारीहरुलाई सम्झियो जो आफ्नो रुचिले होइन जागिरको स्थायित्वको लागि मात्र निजामाती सेवामा प्रवेश गरेका थिए । उनीहरुको जिवन देवप्रसादको जस्तै निरश छ । बाहिरबाट जतिसुकै सफल मानिए पनि उनीहरु भित्र पीडाको ठूलो पहाड छ । सम्पत्ति र सन्तुष्टि दुबै प्राप्त गर्न नसकेकोमा थकथकी छ । 


    तर यस्तै निजामती कर्मचारीहरु बीच यस्ता कर्मचारी पनि छन् जो आफ्नो कामलाई सकारात्मक दृष्टिले हेरिरहेका हुन्छन् । काममा नै रमाईलो मानिरहेका हुन्छन् । कामलाई नै पूजा मानि उत्प्रेरणा प्राप्त गरिरहेका हुन्छन् । 

sabinasindhu@gmail.com        
    

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार