बागमतीको आत्मालाप
तिमीले नकाटिदिएको भए
चोभारको डाँडोबाट मलाई
नबनाइदिएको भए धारिलो गल्छेडो
म त यहीँ तलाउ जमेर
फुलिरहेको हुन्थें सायद कमलको फूल
मलाई हेर्दै–लजाउँदै
नाच्थ्यो सायद चराजस्तै चन्द्रागिरी
नागबेली लय समाउँदै बतासको
गाउँथ्यो सायद नागार्जन पहाड
फुर्केन्थे पक्कै फर्पिङ–फुल्चोकी,
उमेरका भन्ज्याङहरु चढ्दै÷ओर्लिदै, चढ्दै÷ओर्लिदै
बैंसको कुरकुरे फूर्लुङ हल्लाएर
आउँथे सायद च्याङबा र मैच्याङहरु
माछा जस्तै पौडिन् यहाँ
हो, तिमीले नकाटिदिएको भए
चोभारको डाँडोबाट मलाई
नबनाइदिएको भए धारिलो गल्छेडो
म त यहीँ तलाउ जमेर
फुलिरहेको हुन्थें प्रेमको फूल
यतैकतै– तलाउकै आसपास
सायद अग्लिन्थ्यो होला सभ्यताको बेग्लै छ्योर्तेन
यसरी त कहिल्यै
सुकिजाने थिएन म
बन्ने थिएन कहिल्यै हिलाम्य–हिलाम्य
कचौरा जस्तो यो छाती
उदाउने थिएन खडेरी घाम
खानुपर्ने थिएन सायद सर्पले भ्यागुता
सुक्नुपर्ने थिएन निर्दोष गड्यौला
हुने नै थिएन यहाँ कुनै अप्रिय कोतपर्व
जन्मिने नै थिएन कुनै तानाशाह
र, उडिजाने थिएन सायद सपनाहरु धुलोजस्तै
जसरी रुमल्लिरेछ काठमाण्डु यतिबेला
धुलाम्य कुहिरोभित्र
ओ ज्याम्याङ !
तिमीले नकाटिदिएको भए
चोभारको डाँडोबाट मलाई
नबनाइदिएको भए धारिलो गल्छेडो
सबभन्दा ठुलो कुरा त,
बगिजाने थिएन यहाँबाट फोहोर
र, र्दुगन्धित बन्ने थिएन हरियाली मधेश
म त यहीँ तलाउ जमेर
सायद– फुलिरहेको हुन्थें सदभावको फूल !
प्रतिकृया दिनुहोस