• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
राजनीति

मन्त्रीहरूकाे कार्यशैलीप्रति प्रधानमन्त्री रूष्ट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनामा आउँदो साउन १ गतेदेखि पुरानो र सुस्त गति त्यागेर प्रभावकारी रुपमा काम अघि बढाउन निर्देशन दिएका छन् ।

 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आयोजनामा बिहीबार सिंहदरबारमा शुरु भएको आर्थिक वर्ष २०७५र७६ को वार्षिक समीक्षा कार्यक्रमको समापनका अवसरमा प्रधानमन्त्रीले सरकारका राम्रा र असल कामलाई ओझेलमा पर्न नदिई जनतालाई जानकारी दिन पनि निर्देशन दिए । “साठी प्रतिशत काम गरेर सय प्रतिशतको मूल्याङ्कन हुने परिपाटी रहनु हुँदैन ।

 

गएको वर्ष शासकीय सुधार, कानूनी राज र सुशासनका क्षेत्रमा महत्वपूर्ण काम भएर विकास र निर्माणको आधार तयार भएको छ । आर्थिक वृद्धि दर ऐतिहासिक रुपमा बढेको छ”, प्रधानमन्त्री ओलीले भने, 'अब बितेको वर्षका कमीकमजोरीबाट समेत पाठ सिक्दै समयसारिणी बनाएर काम अघि बढ्नुपर्छ । आउने वर्ष कुनै ‘तर’ र ‘यदि’लाई सहन गर्न सकिँदैन ।' मन्त्री, सचिवलगायत सम्बन्धित सबैलाई आआफ्नो जिम्मेवारी गम्भीरतापूर्वक बोध गर्न आग्रह गर्दै उनले सरकारका विभिन्न मन्त्रालयबीच प्रभावकारी समन्वय हुनुपर्ने बताए ।
 

प्रधानमन्त्रीले भने, 'बाटो किन बनेन भन्दा अर्को निकायले पोल सारिदिएन भन्ने परिपाटीको अन्त्य हुनुपर्छ । प्रशासकहरुले समन्वय, निर्देशन र कार्यान्वयन गराउने कुरामा गम्भीरतापूर्वक ध्यान पुर्याउन आवश्यक छ । आर्थिक वर्षको अन्त्यमा आएर काम सक्ने प्रवृत्ति पनि गलत हो ।' प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालका अनुसार सरकारका सदस्य वा उच्च पदाधिकारीको परस्परमा बाझिएका धारणा सार्वजनिक हुन नहुने निर्देशन पनि प्रधानमन्त्री ओलीले दिएका थिए ।
 

जनताको काममा ढिलासुस्ती हुनै नहुने बताउँदै उनले भने, 'लोकतन्त्र विकास र जनताले पाउने सुविधा प्राप्त गराउने व्यवस्था हो । तजबिजी अधिकार प्रयोग गर्दै ढिलासुस्ती गरे पनि हुने व्यवस्था होइन । उपलब्धि हासिल हुने गरी काम हुनुपर्यो ।

 

सरकारका सबै सदस्य, उच्च प्रशासकलगायत सबैले जिम्मेवारीबोध गर्नैपर्छ ।' कामकारवाहीमा मितव्ययिता अपनाउन आग्रह गर्दै प्रधानमन्त्री ओलीले भने, 'मातहतका कर्मचारीलाई भनिदिनोस्, हरेकको अनुगमन भइरहेको छ । सबैमाथि विश्वास गरिन्छ तर हरेकमाथि निगरानी पनि गरिन्छ ।'
 

राजधानीको विकास र निर्माण अनि सौन्दर्यमा सम्बन्धित सबै मन्त्रालयले विशेष ध्यान पुर्याउनैपर्ने विचार व्यक्त गर्दैै उनले सफा, हरियालीयुक्त काठमाडौँ बनाउन आग्रह गरे । शान्ति सुरक्षामाथि नै चुनौती उत्पन्न गर्न दुष्प्रयास भइरहेका बेला प्रहरीले अझ सशक्त र सक्रिय भएर कर्तव्य निर्वाह गर्नुपर्नेमा उनले जोड दिए ।

 

आउने आर्थिक वर्षमा सबै मन्त्रालय तथा निकायबीच समन्वयात्मक र सक्रियताका साथ काम हुने विश्वास व्यक्त गर्दै उनले नेपालको पर्यटनजस्तो आर्थिक विकासको मेरुदण्डका विरुद्ध हुने षड्यन्त्रलाई परास्त गर्नुपर्ने धारणा व्यक्त गरे ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार