• शनिबार ७-२-२०७६/Saturday 10-19-2019
पत्रपत्रिका

बाँडिएका राष्ट्रिय परिचयपत्रमा त्रुटि नै त्रुटि

पाँचथर । मिक्लाजुङ गाउँपालिका, रविका मोतीराज फागो राष्ट्रिय परिचयपत्र लिन जिल्ला प्रशासन कार्यालय आए । फाराम भर्दाको प्रतिलिपि लिएर उनी राष्ट्रिय परिचयपत्र फाँट पुगे । कर्मचारीले परिचयपत्र खोजेर निकाले तर नाम र गाउँपालिका फरक देखियो । कर्मचारीले बाबुको नाम, थरबाट मात्र उनको परिचयपत्र ठम्याउन सके । 

 

हिलिहाङ गाउँपालिकाका मनोज अधिकारी त्यसै बेला आफ्नो परिचयपत्रमा त्रुटि रहेको भन्दै आइपुगे । बाबुको नाममा त्रुटि भएकाले सच्याइदिन अनुरोध गरे । उनलाई कर्मचारीले फाराम भर्न लगाएर एक महिनापछि आउन भने । फागोलाई पनि एक महिनापछि आउन भनिएको छ ।

 

आफूहरूले सही विवरण दिए पनि यसरी त्रुटि हुँदा अनाहकमा दुःख पाएको उनीहरूको गुनासो छ । देशमै पहिलो पटक पाँचथर र सिंहदरबारका केही कर्मचारीलाई वितरण सुरु गरिएको राष्ट्रिय परिचयपत्र अहिले अन्यत्र पनि बाँड्न थालिएको छ ।

 

गृह मन्त्रालयबाट पहिलो पटक ८३ हजार १ सय २ जनाको परिचयपत्र बनेर आएको थियो । राष्ट्रिय परिचयपत्र वितरण टोली फर्किसकेकाले हाल प्रशासन कार्यालयबाट वितरण भइरहेको छ । ‘प्राविधिक समस्याका कारण परिचयपत्रमा केही त्रुटि पाइएको छ । सच्याउन मन्त्रालय पठाउने गरेका छौं । एक महिनामा आइपुग्छ,’ प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले भने ।

 

राजधानीमा मंगलबार राष्ट्रिय परिचय प्राप्त गरेलगत्तै प्रधानमन्त्री पत्नी राधिका शाक्यले आफ्नो जन्ममितिमा गल्ती भएको बताएकी थिइन् । कान्तिपुर

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार