• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
देश/प्रदेश

वर्षाले साँफे-मार्तडी राजमार्ग सडक अवरुद्ध

बाजुरा । लगातार दुई दिनको अविरल वर्षासँगै साँफे(मार्तडी राजमार्ग सडक अवरुद्ध बनेको छ । लगातारको वर्षाले बार्जुगाड खोला हुँदै मार्तडीसम्म पुग्ने सडकको ठाउँठाउँमा पहिरो जाँदा सडक अवरुद्ध बनेको हो ।

 

सडक अवरुद्ध भएसँगै यातायातका साधनसमेत आवतजावत गर्न समस्या भएको जय मालिका यातायात बस व्यवसायी पृथ्वी रावलले बताए । उनले बार्जुगाड हुँदै गुईगाड खोलाको पुल नजिकै, बल्दे, अम्कोट, तिपाडा लगायतका ठाउँमा माथिबाट पहिरो आएपछि यातायात सडक अवरुद्ध भएको बताए । आज बिहानैबाट ठाउँठाउँमा पहिरो आएपछि लामो दूरीका बस बाम्का बजारभन्दा माथि आउन नसकेको यात्रु विजयनारायण यादवले बताए ।

 

राजमार्गका सडक अविरल वर्षाका कारण अवरुद्ध बनेको प्रमुख जिल्ला अधिकारी  गङ्गाप्रसाद न्यौपानेले जानकारी दिए । अवरुद्ध सडक सञ्चालन गर्न सडक डिभिजन कार्यालय साँफेलाई खबर गरी कार्यालयबाट जेसिभी पठाएपछि अवरुद्ध बनेको सडक सञ्चालनमा आउने उनको भनाइ थियो । 

 

साँफे-मार्तडी राजमार्ग सडक अछाम जिल्लाका बुढाबगरलगायतका ठाउँमा पनि पहिरो गएकाले पहिरो पन्छाउन सडक डिभिजन कार्यालयलाई खबर गरिसकेको प्रजिअ न्यौपानेले बताए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार