• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
पत्रपत्रिका

लोकगीतको लोकप्रियता 

काठमाडौं । कुनै बेला लोकगीत भनेपछि नाक खुम्च्याउने युवापुस्ता अहिले यसैमा झुम्न थालेका छन् । लोकगीतमा नाच्न, गाउन र रमाउन उनीहरू अगाडि नै छन् । आधुनिकताको विकाससँगै लोकसाङ्गीत धराशयी बन्दै गएको थियो तर प्रविधिको कारण लोकगीत फेरि जुर्मुराउन थालेको छ । यतिखेर लोकगीत युवाको मात्र होइन बालबालिकाको मुखमा पनि झुन्डिएकै हुन्छ । देशभित्रकै लोकगीतले बाहिर गीतसङ्गीतलाई पनि विस्थापित गर्दै छ । कुनैबेला हिन्दी गीतसङ्गीतको एकछत्र प्रभाव थियो तर अहिले होटल, रेस्टुराँ, पार्टी आदिमा लोकगीतकै प्रभाव बढ्दो छ । 

 

सार्वजिनक स्थलमा मात्र होइन, प्रविधिमा पनि लोकगीतले प्रभाव जमाउँदै छ । लोकगायिका दुर्गा गुरुङ भन्छिन्, ‘अहिले युट्युबको जमाना आयो । सर्जकले आफ्ना गीतहरू नचाहँदा नचाहँदै पनि युट्युबबाट सार्वजनिक गर्नुपर्ने परिस्थिति निर्माण भएको छ ।’ आजभोलि कुन गीत कति चर्चामा छ भन्ने मूल्याङ्कन युट्युबको ट्रेडिङलाई आधार मानेर गरिन्छ । युट्युबको ट्रेडिङमा नेपाली लोक तथा दोहोरी गीतले पकड जमाएको उदाहरण दिँदै उहाँ यसबाट कलाकारहरूले राम्रो आम्दानी पनि गरिरहेको बताए । 

 

हाल चर्चामा रहेको लोकदोहोरि  ‘गलबन्दी’ ले युट्युबमा राखिएको १० दिनमा ७१ लाख बढी  ‘भ्युज’ पाएको थियो । प्रकाश सपूत र शान्तिश्री परियारको यो गीतले हालसम्म एक करोड ३३ लाख १५४ भ्युज पाइसकेको छ । अहिले सार्वजनिक यातायातदेखि टिकटक भिडियोसम्म गलबन्दी बोलको गीत बजिरहेको हुन्छ । गायक प्रकाश सपुत भन्छन्, ‘लोकदोहरी युवापुस्ताको मन मनमा रहन थालेको छ ।’

 

उनीहरु कै  तीन महिनाअघि आएको ‘दोहोरी ब्याटल’ पनि युवापुस्ता माझ लोकप्रिय भएको थियो । उन को एक वर्ष पहिले बजारमा आएको अर्को गीत  ‘बोल माया’ ले पनि युट्युबमा हालसम्म एक करोड २९ लाख ६४ हजार १७८ भन्दा बढी भ्युज पाइसकेको छ । यस्तै १७ हजारभन्दा बढी कमेन्ट नै पाएको छ । विक्रम परियार तथा सुमित्रा तामाङको ‘चौतारीमा बर....’ बोलको गीतले पनि २६ लाख ६४ हजार युट्युबमा हेरिसकेका छन् । कुलेन्द्र विश्वकर्मा र मेलिना राईको स्वरमा रहेको ‘मलाई देखेर।।’ बोलको गीत पनि चर्चामा छ । 

 

म्युजिक नेपालको अफिसियल पेजबाट तीन महिनाअघि सार्वजनिक भएको उक्त गीतलाई लगभग ४५ लाख पटक हेरिएको छ । दुई हजार २१ प्रतिक्रिया आएका छन् । गायिका मेलिना राई भन्नुहुन्छ, ‘आफ्नो मिहिनेतलाई दर्शकले मन पराउँदा ऊर्जा झन् बढ्दो रहेछ ।’ गीतको लोकप्रियतासँगै माग पनि बढ्दै गएको उनको अनुभव छ । 

 

युट्युबमा सन्दिप लामिछानेको  ‘लालुमै’ लाई एक करोड ९० लाखभन्दा बढीले हेरिसकेका छन् । विगत एक दशकदेखि अस्ट्रेलिया बस्दै आएका विक्रम परियारले नेपालमा त युवापुस्ताले लोकगीतलाई मन पराउन थालिसकेको बताउँदै भने, ‘यहाँ पनि लोकगीतको धेरै माग छ ।’

 

‘बल्ल पर्‍यो निरमाया माकुरी जालैमा’, ‘खैरेनीमा गेट’, ‘घुम्तीनिर भेट भयो’ लगायत गीत सदाबाहर छ’, उनले बताए । पहिलेका नेपाली गीतमा छुट्टै खालका मीठास हुन्थे, लोक, आधुनिक र भजन गायिका ज्ञानु राणा भन्छन्, ‘‘अहिलेका नेपाली गीतले हाम्रो संस्कृति नै हराउँदै गएको आभास हुन्छ ।’

 

युवापुस्ताले मन पराएको छ, यसमा कुनै दुई मत छैन तर नयाँ गीत यथार्थमा भन्दा पनि काल्पनिकतामा रच्ने गरिएको उनको अनुभव छ । गीतको रचनाका लागि समाजसँग भिज्नु आवश्यक रहेको गायिका राणा बताउँछिन् । पहिले गीतको बजार सानो थियो, तर अहिले यो एउटा ठूलो उद्योगको रूपमा स्थापित भइसकेपछि प्रतिस्पर्धाका नाममा विकृति पनि भित्रिएको उनको अनुभव छ । 

 

कुनै गीतका शब्द राम्रा भए पनि छायाङ्कनमा पहिरनको छनोट राम्रो पाइँदैन । ‘तरकारी काउली बसी बसी खाउली’– कृष्ण समीप सुवेदीको यो गीतमा केही मौलिकता पाइए पनि पहिरनको छनोट भने सुहाउँदो छैन –गायिका राणाको भनाइ छ । नेपाली सङ्गीतमा नयाँपन ल्याउँदै राष्ट्रियता बचाउने गीतमा नयाँ पुस्ताको ध्यान बढी जानुपर्ने उनको सुझाव छ । बाहिरी गीतलाई लोकगीतले विस्तापित गर्दा देशकै कला संस्कृतिको विकास हुनुका साथै आय पनि बढ्ने बताइएको छ । गोरखापत्र

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार