• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
खेलकुद

भारतलाई हराउँदै न्युजिल्यान्ड विश्वकप फाइनलमा

एजेन्सी । विश्वकप क्रिकेटको बुधबार  भएको पहिलो सेमिफाइनल खेलमा भारतलाई १८ रनले हराउँदै न्युजिल्यान्ड फाइनलमा प्रवेश गरेको छ । म्यान्चेस्टरमा ४९ ओभर ३ बल खेलेको भारतले पूरै विकेट गुमाउँदै २२१ मात्र रन बनायो ।

 

भारतका लागि रवीन्द्र जडेजा र महेन्द्र सिंह धोनीले अर्धशतकीय पारी खेले । ५९ बल खेलेका रवीन्द्रले ४ चौका र ४ छक्काको सहयोगमा ७७ रनको योगदान गरे । ७२ बल खेलेका धोनीले १ चौका र १ छक्काको सहयोगमा ५० रन बनाए ।

 

यस्तै भारतका हार्दिक पाण्डया र ऋषब पन्तले समान ३२र३२ रन बनाए । कप्तान विराट कोहली, ओपनर रोहित शर्मा र लोकेश राहुल एक एक रनमा आउट भए । 

 

न्युजिल्याण्डका म्याट हेनरीले ३ विकेट लिए । यस्तै ट्रेण्ड बोल्ट र मिचेल स्टाननरले २र२ विकेट लिए  भने ल्युक फर्गुसन र जिम्मी निशमले समान एक–एक विकेट लिए ।  यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ३९ रन बनाएपछि भारतले फाइनल पुग्न २ सय ४० रनको लक्ष्य पाएको थियो ।

 

मंगलबार न्युजिल्याण्डले ब्याटिङ गरिरहदा खेल वर्षाले स्थगित भएको थियो  । वर्षाले खेल रोकिनु अघि न्युजिल्याण्डले ४६ ओभर १ बलमा ५ विकेट गुमाएर २११ रन बनाएको थियो ।

 

बुधबार न्युजिल्याण्डले त्यहि स्थितिबाट ब्याटिङ गर्दै भारतलाई २४० रनको लक्ष्य दिएको थियो  । बुधबार न्युजिल्याण्डले थप २८ रन जोड्दा ३ विकेट गुमाएको थियो । न्युजिल्याण्डका लागि रोस टेलर र कप्तान केन विलियम्सनले अर्धशतकीय इनिङ्स खेले । टेलरले ७४ रनको अर्धशतकीय इनिङ्स खेल्दा कप्तान विलियम्सनले ६७ रन बनाए । यस्तै हेनरी निकोलसले २८ तथा कोलिन डी ग्राण्डहोमले १६ रन जोडे ।

 

१० रन बनाएका टोम लाथम भुवनेश्वर कुमारको बलमा रवीन्द्र जडेजा मार्फत क्याच भए । म्याट हेनरीले १ रनमात्र जोड्न सके । उनी पनि भुवनेश्वरको बलमा कप्तान कोहली मार्फत क्याच भए । मिचेल स्यान्टनरले ९ र टेन्ट बोल्टले ३ रन बनाए ।

 

अब न्युजिल्याण्डले उपाधिका लागि अष्ट्रेलिया र इंग्ल्याण्डबीचको विजेतासँग खेल्नेछ । साबिकको विजेता अष्ट्रेलिया र इंग्ल्याण्डबीचको दोस्रो सेमिफाइनल खेल बिहिबार हुनेछ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार