• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
पत्रपत्रिका

सहज छैन एमआरआई सेवा

काठमाडौं । सिटी स्क्यानबाट पत्ता नलागेको वा द्विविधामा परेको रोग पत्ता लगाउन प्रयोग गरिने म्याग्नेटिक रिसोन्सेस इमाजिङ ९एमआरआई०को प्रयोग बढ्दो छ । उपत्यकाका ठूला अस्पतालमा एमआरआईको प्रयोग हुने गरेको छ तर सर्वसाधारणका लागि एमआरआई सहजै र सुलभ मूल्यमा पाउन कठिन छ । 

 

धेरै बिरामीलाई त एमआरआई ‘आकाशको फल आँखा तरी मर’जस्तै छ । एक त प्रविधि नै महँगो छ भने अर्कातिर बिरामी सिफारिस गर्ने चिकित्सकलाई दिनुपर्ने कमिसनले एमआरआई सेवा झनै महँगो बनाएको छ । उपत्यकाका केही सरकारी र निजी स्वास्थ्य संस्थाबाहेक केही मेडिकल कलेजसँग पनि एमआरआई सेवा त उपलब्ध छ तर सेवा शुल्कमा भने एकरूपता छैन ।

 

के हो एमआरआई ?
एमआरआई उच्चस्तरको प्रविधि हो । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेडियोलोजिस्ट डा. डीबी कार्कीका अनुसार चुम्बकीय शक्तिबाट चल्ने अति नै उच्चस्तरको प्रविधिलाई एमआरआई भनिन्छ । यसले स्नायु, मेरुदण्ड, हाडजोर्नी, टाउको, शरीरका विभिन्न नसाको अवस्था पत्ता लगाउन सजिलो हुन्छ । त्यसले सही रूपमा रोग पत्ता लगाई उपचार गर्न सजिलो हुन्छ । ढाड वा कम्मर दुख्ने, घुँडाका रोगी, हाडमा लागेको सङ्क्रमण वा ट्युमरको विशेष जानकारी लिन पनि एमआरआई गर्ने गरिन्छ । मस्तिष्क र मेरुदण्डको ट्युमरको परीक्षण र उपचारका लागि पनि एमआरआई गर्ने गरिन्छ । डा. कार्कीले एमआरआईले नरम तन्तुलाई स्पष्टसँग देखाउने जानकारी दिनुभयो । 

 

आधुनिक एमआरआईमा पेट, स्तन, मुटुको समस्यासमेत स्पष्टसँग पहिचान गर्न सकिन्छ ।  एमआरआईमा अत्यधिक चुम्बकीय शक्ति हुने भएकाले फलामजन्य धातु, मोबाइल, फोन, घडी, क्रेडिट कार्ड तथा विद्युतीय उपकरण एमआरआई गरिएको स्थानमा लैजान मिल्दैन  ।  

 

वीर अस्पतालका पूर्वनिर्देशक तथा वरिष्ठ रेडियोलोजिस्ट डा। स्वयमप्रकाश पण्डितले एमआरआईले सबैजसो रोग पत्ता लगाउन सहयोग गर्ने बताउनुभयो । उहाँले कसैको खुट्टा चल्दैन, खुट्टा झमझम गर्छ भने त्यस्तो अवस्थामा पनि एमआरआई प्रयोग गरिने बताउनुभयो । मुख्यतया नसाको रोगमा एमआरआई प्रयोग गर्ने गरिन्छ । थाई, कम्मर तथा अन्य विभिन्न भागको मासुमा ट्युमर पलाएको अवस्थामा समेत एमआरआई प्रयोग गर्न सकिन्छ ।

 

अत्यधिक महँगो सेवा
विदेशमा विकसित प्रविधि एमआरआई नेपालीका लागि सस्तो भने छैन । डा। पण्डितका अनुसार नेपालमा एमआरआई जडान गर्न आठ करोडदेखि १६ करोड रुपियाँसम्म पर्छ । बिरामीले तिर्ने सेवा शुल्क नै एमआरआईको लागत हो । स्वास्थ्य संस्थाले आर्जन गर्ने चर्को मुनाफाले पनि एमआरआई सस्तो हुँदैन । 
सरकारी अस्पतालमा समेत एमआरआई सुलभ छैन । अस्पतालका अनुसार सातदेखि नौ हजार रुपियाँ शुल्क लाग्छ । निजी क्षेत्रमा एमआरआई झनै बढी महँगो हुने गर्छ । सरकारी अस्पतालमा घर भाडा नपर्ने, चिकित्सक सरकारअन्तर्गत हुने भएकाले थप भत्ता दिइरहनु नपर्ने, मेसिन पनि सरकारले नै खरिद गर्ने हुनाले सरकारीमा केही सस्तो पर्र्ने भए पनि रकम सानो भने होइन ।

 

सरकारीमै सहज छैन 
बढ्दो रोगसँगै सिटी स्क्यानले समेत पत्ता लगाउन नसकेका रोगहरूमा चिकित्सकले एमआरआईका लागि प्रेस्क्रिप्सन गर्ने गर्छन् । तर सरकारी स्वास्थ्य संस्थामा एमआरआई सेवा न्यून मात्रामा रहेको पाइन्छ । सरकारी अस्पतालमध्ये उपत्यकामा वीर अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्र एमआरआई सेवा उपलब्ध छ । अन्य सरकारी अस्पतालमा

एमआरआई सेवा छैन । निजी क्षेत्रबाट सञ्चालित कतिपय स्वास्थ्य संस्थामा मात्र एमआरआई सेवा छ । उपत्यका नजिकै धुलिखेल अस्पतालमा समेत एमआरआई सेवा छ । यी अस्पतालमा दैनिक ८ देखि २० जना बिरामीले एमआरआईमार्फत सेवा लिइरहेका हुन्छन् ।

 

पालो कुर्दै हैरान
वीर अस्पतालमा एमआरआई गराउन महँगो शुल्कसँगै पालो कुर्नुपर्ने बाध्यता छ । वीर अस्पतालका निर्देशक डा। केदार सेन्चुरी एमआरआईका लागि एक सातासम्म पालो कुर्नुपर्ने बताउनुहुन्छ । “बिरामीको सङ्ख्या अत्यधिक भएकाले हामीले तत्काल एमआरआई सेवा दिन सकिरहेका छैनौँ’’, निर्देशक डा। सेन्चुरीले थप्नुभयो, “अत्यधिक बिरामीको चापका कारण बिरामीले केही दिन पालो कुर्नैपर्छ । ” 

 

यस्तै त्रिवि शिक्षण अस्पतालमा समेत तीनदेखि पाँच दिनसम्म पालो कुर्नुपर्ने हुन्छ । त्यहाँ पनि बिरामीको चाप भएकाले एमआरआईमा पालो पाउन मुस्किल छ । अस्पतालका निर्देशक डा। प्रेम खड्गाले गत वर्ष मात्र जापान सरकारले एमआरआई मेसिन दिएकाले उपचारमा सहज भइरहेको जानकारी दिनुभयो । “दैनिक १५ देखि २० जनासम्मलाई हामीले सेवा दिइरहेका छौँ”, निर्देशक खड्गाले भन्नुभयो, “अस्पतालमा एमआरआई गर्दा आठ देखि १६ हजार रुपियाँसम्म लिने गरेका छौँ । ” 

 

यस्तै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समेत एमआरआई सेवा उपलब्ध छ । पाटनमा एमआरआई गराउँदा आठ देखि २५ हजार रुपियाँसम्म लाग्ने गर्छ । अस्पतालका रेडियोलोजिस्ट विभाग प्रमुख डा। डीबी कार्कीले पाटनमा दैनिक सातदेखि १२ जनासम्मको एमआरआई हुने गरेको जानकारी दिनुभयो । 

 

धुलिखेल अस्पतालमा भने एमआरआई सेवा अन्य सरकारी अस्पतालका तुलनामा कम शुल्कमा हुने गरेको छ । धुलिखेल अस्पतालका निर्देशक डा। रमेश मकाजूले धुलिखेल अस्पतालमा चारदेखि आठ हजार रुपियाँमा एमआरआई सेवा लिन सकिने जानकारी दिनुभयो । दैनिक सातदेखि १० जनासम्मले एमआरआई सेवा लिने गरेको भन्दै उहाँले अन्य अस्पतालको तुलनामा कम मूल्यमा सेवा दिइरहेको बताउनुभयो ।

 

एमआरआईका फाइदा 
वरिष्ठ रेडियोलोजिस्ट डा। स्वयमप्रकाश पण्डितका अनुसार एक्सरे र सिटी स्क्यानमा जस्तो रेडिएसन एमआरआईमा हँुदैन । एमआरआई चुम्बकीय शक्ति प्रयोग गरेर बनाइएको हुन्छ । यसको आफ्नै किसिमको विशेषता हुन्छ । एमआरआईको समयमा म्याग्नेटिक वस्तु छ भने भित्र लानै हुँदैन । टाउकोमा कुनै क्लिप लगाएको छ भने म्याग्नेटले तान्दिन सक्छ । 

 

डा. कार्कीले पेसमेकर लगाएको बिरामीलाई एमआरआई गराउन गाह्रो हुने जानकारी दिनुभयो । उहाँले पेसमेकर यताउति हुनेबित्तिकै खतरा हुने भन्दै कुनै पनि चुम्बकीय वस्तु एमआरआई गर्ने बेला भित्र लानै नहुने बताउनुभयो । डा. कार्कीका अनुसार कृत्रिम दाँत लगाएको छ भने पनि फुकालेर मात्र एमआरआई गर्नुपर्ने हुन्छ । दाँतमा कुनै तार लगाएको छ भने पनि त्यसले असर गर्न सक्छ । दाँतमा प्लाटिनम लगाएको छ भने असर गर्छ । एमआरआईको फाइदामा सबै किसिमको रोग पत्ता लगाउन सकिन्छ ।

 

एमआरआई बिग्रँदा सास्ती
नेपालको सबैभन्दा ठूलो वीर अस्पतालमा म्याग्नेटिक रिसोन्सेस इमाजिङ (एमआरआई) मेसिन बिग्रिएको ५३ दिनपछि चार दिनअघि शुक्रबारबाट सञ्चालनमा आएको छ । दुई महिनाभन्दा बढी समय एमआरआई सञ्चालनमा नआउँदा सेवाग्राहीलाई समस्या भएको थियो । 

 

अस्पतालका निर्देशक डा। केदार सेन्चुरीले नेपालमा सामान नपाइएकाले बिग्रिएको एमआरआई बनाउन ढिलाइ भएको जानकारी दिनुभयो । भारतबाट प्राविधिक टोली आएर एमआरआई बनाएपछि सुचारु भएको जानकारी उहाँले दिनुभयो ।

 

उपत्यकाबाहिर निजीमा मात्रै 
एमआरआई सेवा उपत्यकाबाहिर निजी क्षेत्रमा मात्र रहेका छन् । चितवन, विराटनगर, नेपालगन्ज, पोखरा लगायतका मुख्य सहरी क्षेत्रमा सरकारीमा एमआरआई सेवा छैनन् । एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज नेपालका पूर्वअध्यक्ष प्राडा सुरेशकुमार कनोडियाले अधिकांश मेडिकल कलेजमा एमआरआई सेवा रहेको जानकारी दिनुभयो । 

 

उहाँले नेपालगन्ज, विराटनगर, पोखरा, भरतपुर जस्ता सहरका मेडिकल कलेजमा एमआरआई सेवा रहेको जानकारी दिनुभयो । मेडिकल कलेजमा एमआरआई शुल्क भने १० देखि २५ हजार रुपियाँसम्म पर्छ ।

 

 

उपत्यकाबाहिर अझै दुर्लभ
उपत्यका बाहिरका सरकारी अस्पतालहरूमा एमआरआई सेवा सञ्चालनमा छैनन् । केन्द्रीय सरकारअन्तर्गत भरतपुर अस्पतालका निवर्तमान निर्देशक डा। विश्वबन्धु बगालेले भरतपुर अस्पतालमा हालसम्म एमआरआई सेवा नरहेको जानकारी दिनुभयो । उहाँले कुनै बिरामीलाई एमआरआई सेवा आवश्यक भएमा निजी क्षेत्रमा रिफर गर्ने गरिएको जानकारी दिनुभयो । डा. बगालेका अनुसार भरतपुर अस्पताल केन्द्रीय अस्पताल भइसकेपछि एमआरआई सेवा सुचारु हुनुपर्ने बताउनुभयो । 

 

यस्तै उपत्यकाबाहिरको सबैभन्दा ठूलो विराटनगरस्थित कोसी अस्पतालमा समेत एमआरआई सेवा छैन । ओपीडीमा मात्र दैनिक एक हजारभन्दा बढी बिरामी आउने कोसी अस्पताल पछिल्लो समय केन्द्रीय अस्पतालका रूपमा रहेको छ । अस्पतालका निर्देशक डा। रोशन पोखरेलले हालसम्म एमआरआई सेवा नरहेको जानकारी दिनुभयो । उहाँले बिरामीको चापअनुसार अस्पतालमा एमआरआई सेवा अत्यावश्यक रहेको बताउनुभयो । 

 

निजी अस्पतालको छाता सङ्गठन एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युट नेपालका महासचिव होमराज दाहालले उपत्यकाभित्रका हरेक निजी अस्पतालमा एमआरआई सेवा रहेको जानकारी दिनुभयो । उपत्यकाबाहिरका कतिपय अस्पतालमा एमआरआई सेवा विस्तार भइरहेको जानकारी दिँदै दाहालले निजी अस्पतालमा १० देखि २५ हजार सेवा शुल्क लाग्ने बताउनुभयो ।

 

कतिपय निजीमा पनि सहज 
निजी क्षेत्रबाट सञ्चालित संस्थाले पनि विभिन्न अफर ल्याई एमआरआई सेवा सहज बनाउने गरेका छन् । नक्सालस्थित एमआरआई सेन्टरमा सात हजार रुपियाँमा एमआरआई सेवा दिने गरेको जनाइएको छ । सेन्टरका वरिष्ठ रेडियोलोजिस्ट डा। निर्मल न्यौपानेले सेन्टरले सात हजार रुपियाँमा तत्कालै एमआरआई सेवा दिने गरेको बताउनुभयो । 

 

बिरामीलाई सुविधा दिन सेन्टरले हालै मात्र एमआरआईमा नयाँ योजना ल्याएको ल्याएको हो । डा। न्यौपानेले सेन्टरले २०औँ वर्ष प्रवेश गरेको अवसरमा सोमबारदेखि ३३ देखि ५० प्रतिशतसम्म छुट दिएर सात हजार रुपियाँमा सेवा दिने गरेको दाबी गर्नुभयो । उहाँले डाक्टरलाई कमिसन नदिने हो भने अझै सस्तोमा सेवा दिन सकिने पनि बताउनुभयो । गोरखापत्र

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार