• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

चार देशका लागि राजदूतको नाम अनुमोदित

काठमाडौं । विभिन्न चार देशका लागि सिफारिस भएका राजदूतहरु अनुमोदित भएका छन् । सोमबार बसेको संसदको विशेष सुनुवाइ समितिले सबै राजदूतको नामलाई अनुमोदन गरेको हो।

 

समितिको आज सिंहदरबारमा भएको बैठकले प्रस्तावित राजदूत क्रमशः बङ्गलादेशका लागि डा वंशीधर मिश्र, कतारका लागि डा.नारदनाथ भारद्वाज, अष्ट्रेलियाका लागि महेशराज दाहाल र स्पेनका लागि दावाफुटी शेर्पालाई अनुमोदन गरेको हो ।

 

प्रस्तावित नामहरुलाई समितिले सर्वसम्मत अनुमोदन गरेको हो।परराष्ट्र मन्त्रालयको पत्रबमोजिम नेपालको संविधानको धारा, २९२ को उपधार १ बमोजिम संसदीय सुनुवाइका लागि पठाइएकामा सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली–२०७५ को नियम २५ र २६ तथा समितिको कार्यविधि–२०७५ बमोजिम चार राजदूतको सुनुवाइपछि नाम अनुमोदित गरेको हो ।

 

समितिका सदस्य सुरेन्द्र पाण्डे, ज्ञानेन्द्रबहादुर कार्की, राजेन्द्र श्रेष्ठ, योगेश भट्टराई, पुष्पा भुसाल, पूर्णकुमारी सुवेदी, पार्वत गुरुङ, निरुदेवी पाललगायतले प्रस्तावित राजदूतलाई राजदूत बनेपछि गर्ने कामका बारेमा प्रश्न गरेका थिए ।

 

राजदूतमा अनुमोदन भएकामध्ये बङ्गलादेशका लागि राजदूत डा. मिश्र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता हुन । कतारका लागि राजदूत अनुमोदित भएका डा भारद्वाज पुराना कम्युनिष्ट नेता हुन । उनले तत्कालीन झापा विद्रोहमा सक्रिय भई १२ वर्ष जेल जीवन बिताइसकेका छन् ।

 

अष्ट्रेलियाका लागि नेपाली राजदूत दाहाल नेपाल टेलिभिजनका पूर्वअध्यक्ष र नेपाल जेसिसका केन्द्रीय अध्यक्षसमेत भइसकेका छन् । त्यसैगरी स्पेनको राजदूतमा अनुमोदन भएका दावाफुटी शेर्पा प्रथम नेपाली महिला सगरमाथा आरोही पासाङल्हामु शेर्पाकी छोरी हुन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार