• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
पत्रपत्रिका

नक्क्ली गुठी खडा गरी रानीमहलको जग्गा व्यक्तिको नाममा

काठमाडौं । नेपालको ताजमहलका रूपमा परिचित पाल्पाको रानीमहलको जग्गा माफिया र मालपोत कार्यालयको मिलेमतोमा व्यक्तिका नाममा नामसारी भएको खुलासा भएको छ । माफियाले नक्कली गुठी खडा गरी रानीमहलको जग्गा व्यक्तिका नाममा दर्ता गराएको पाइएको हो ।

राष्ट्रिय सतर्कता केन्द्रले गरेको छानबिनका क्रममा रानीमहलका जग्गा शंकास्पद रूपमा अतिक्रमणमा परेको तथ्य फेला परेको हो । सतर्कता केन्द्रका अनुसार १८ माघ २०६२ मा पाल्पा दरबारमा आगलागी हुँदा मालपोत तथा नापी कार्यालयका कागजात जलेर नष्ट भएका थिए ।

 

 

तत्पश्चात् १२ असार २०६३ मा नयाँ स्रेस्ता कायम गर्न माग गर्दै खड्गभक्तेश्वर गुठीका मोही महालक्ष्मी श्रेष्ठले गाविस कार्यालयमा स्रेस्ता कायम गर्न माग गर्दै निवेदन दर्ता गराएको पाइएको छ । सोही निवेदनको आधारमा मालपोत कार्यालयले स्रेस्ता कायम गरिदिएको थियो ।

 

यो कार्यमा मालपोत कार्यालयको भूमिका शंकास्पद पाइएको छ । केन्द्रको छानबिन प्रतिवेदनअनुसार २०६० सालमा मिसिल नम्बर ३६० खडा गरी कित्ता ६६० अन्तर्गत मोही महालक्ष्मी श्रेष्ठ कायम भएको पुर्जा प्राप्त गरेको देखिन्छ । सोही आधारमा ५ असोज २०७२ मा मालपोत कार्यालयको निर्णयले मोही नामसारी हुन गएको मालपोतको रेकर्डमा पाइएको थियो । हाल सो कित्ता तारामान श्रेष्ठ, निलम श्रेष्ठ र तानसेन नगरपालिका–७ को नाममा नामसारी भइसकेको छ ।

 

पुराना स्रेस्ता जलेपछि नयाँ स्रेस्ता कायम गर्ने क्रममा साविकमा कायम रहेको कित्ता नम्बर १६६ कित्ताकाट भई ६६० नम्बर कायम भएको छ । त्यस्तै, कित्ता नम्बर ६६१ मा रहेको ८ रोपनी १० आना जग्गाको मोही महलमा चक्रमाणि पाण्डे, थाबहादुर श्रेष्ठ र दुर्गाबहादुर थापाको नाममा मालपोत कार्यालयमा दर्ता भएको छ । यस क्रममा स्रेस्ता कायम गर्न सम्बन्धित पक्ष नै नआएको केन्द्रको छानबिनमा देखिन्छ । तर, यो कित्ता मालपोत कार्यालयमा भने स्रेस्ता कायम नभएको पाइएको केन्द्रले स्पष्ट पारेको छ ।

 

त्यस्तै, कित्ता नम्बर ४६७ को करिब १२ रोपनी १० आना जग्गा रानीघाट गुठीका मोही थानबहादुर श्रेष्ठ भएको दर्ता किताबमा पाइएको प्रतिवेदनमा उल्लेख छ । कित्ता नम्बर ४६४ को ३० रोपनी जग्गा जंगल र ४६६ बगैंचाको नाममा सरकारी÷सार्वजनिक भएको रेकर्ड पाइएको छ ।


नयाँ स्रेस्ता कायम गर्ने क्रममा कागजातमा अंशबन्डा, लिखत आदि कागजात सम्बन्धित पक्षसँग माग नै नगरी लालपुर्जा मात्रको आधारमा नामसारी गरिएको थियो । सतर्कता केन्द्रका अनुसार माफियाले गुठीबाट रैकरमा परिणत गरी व्यक्तिगत बनाउने योजनालाई मालपोत कार्यालय पाल्पाका कर्मचारीले साथ दिएका थिए ।


मालपोतले थप कागजात नभएको अवस्थामा सँगैको कित्ता नम्बर ६६१ का मोहीलाई नै पत्राचार नगरी नामसारी गरेको थियो । मालपोतले उनीहरुलाई उपस्थित गराउँदा कागजात फेला पर्ने सम्भावना रहँदा रहँदै पनि उपस्थित नगराउनु शंकास्पद देखिएको केन्द्रले बताएको छ ।

 

गुठीको जग्गा नामसारी हुँदा गुठी संस्थानसँग लागत भिडाएर हेर्नुपर्नेमा मालपोतले सोको समेत बेवास्ता गर्दै संस्थानलाई जानकारी नै नगराएको देखिन्छ । जब कि कित्ता १६६ को जग्गाको नक्साको कित्ताकाँट भएको अभिलेखमा नै छैन । कित्ताकाँट नै नभएको जग्गा हालको नक्सामा भने कित्ताकाँट भएको छ । तर, कित्ताकाँट भएको मितिबारे उल्लेख छैन ।


अनियमित नामसारीको तयारीमा कित्ता नं ४६६


केन्द्रको छाबिनका क्रममा पाल्पा साविकको बौधगुम्बा गााविसको कित्ता नम्बर ४६६ मा रहेको बगैंचाको भनी उल्लेख गरिएको सरकारी÷सार्वजनिक जग्गासमेत शंकास्पद रूपमा व्यक्तिका नाममा नामसारीको तयारीमा रहेको फेला परेको छ । पेन्सिलले नक्सा बनाइएको पाइएकाले अनियमित रूपमा नामसारीको तयारी भएको हुन सक्ने सतर्कता केन्द्रले आशंका गरेको छ ।

नामसारी भएको जग्गा

साविकको पाल्पा खानिगाउँ गाउँ विकास समिति वडा नम्बर २ अन्तर्गत पर्ने नेपालको रानीमहल सिट नं ०९९–०३२३ कित्ता नम्बर ४६५ को केही भाग र सिट नं ०९९–०३२४ को कित्ता नम्बर ४६५ को केही भागभित्र रानीमहल बनेको छ । नापी कार्यालयबाट प्राप्त प्लट रजिस्टार अनुसार महलले क्षेत्रफल ५ रोपनी १२ आना २ दाम कायम भएको छ ।

 

यसको उत्तरतर्फ सिट नं ०९९–०३२४ को कित्ता नम्बर १६० अन्तर्गत १५ रोपनी ११ आना र सोही सिटको पूर्वतर्फ कित्ता नम्बर १६६ अन्तर्गत १३ रोपनी १० आना जग्गा रहेको अभिलेखमा छ । कित्ता १६६ १६ मंसिर २०६० मा कित्ता नम्बर ६६० र ६६१ का रूपमा क्रमशः ५ रोपनी र ८ रोपनी १० आना कायम भई कित्ताकाँट भएको छ । प्रतिवेदनका अनुसार २०६२ मा आगलागी भएपछि मालपोत कार्यालय पाल्पामा नयाँ स्रेस्ता कायम गर्न गर्दै निवेदन दर्ता गराएको थियो । मालपोतले सोही निवेदनको आधारमा जग्गाको स्रेस्ता कायम गरिदिएको थियो ।

 

थप छानबिनका लागि अख्तियारलाई जिम्मा

यस प्रकरणलाई छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको केन्द्रका सूचना अधिकारी डालनाथ अर्यालले बताए । अर्यालका अनुसार यस प्रकरणमा संलग्न कर्मचारीका सम्बन्धमा अख्तियारले छानबिन जारी राखेको छ । राजधानी दैनिकबाट

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार