• सोमबार ६-६-२०७६/Monday 09-23-2019
विचार

पहिचान को मुद्धा

जन्म दिन  
सन १९६६ मा एसएलसी परिक्षाको फर्म भर्दा नेपालीमा भएको जन्म मितीलाई अंग्रेजी अनुरूप गर्दा ठुलै सकस परेको थियो । बर्ष निकाल्न कठिन भएन तर गतेलाई तारीखमा निकाल्न कठिन थियो । कयाल्कुलेटर जन्मनु अगवाईको अवस्था ।  मैले गरेको शुष्म अंकगणितको वाक्क हुँदै शुबर्णमान सरले ‘पुष महिना जनवरीमा पर्दछ किन कपाल दुखाई राखेको फष्ट जनवरी लेखे भईहाल्यो भन्नुभयो’ ।

 

त्यस पश्चात जन्म मिती स्थापित भएका १, जनवरी १९५१ हो । एसएलसी सकिएपछि मेरो जन्मदिन १ जनवरी, नागरिकताको प्रमाणपत्र लिए देखी युनिर्भसिटि, कृषि आयोजना सेवा केन्द्रको जागिर, संचयकोष, पासपोर्ट, युएनको पेन्सन सबैमा स्थापित भएको छ । त्यसैगरी एसएलसीको फर्म भर्दा जातीय पहिचान खुलाउनु पर्दा क्षेत्री लेखे, भाषा देबनगरीमा । अहिले यी सबै मेरो पहिचानका अभिन्न अंग भएका छन ।
 

 

पुर्खौली पहिचान 
पुरखाहरू जुम्लाको सिञ्जा उपत्यकाबाट काठमाडौं आएका हुन । त्यसकारण कुपन्डोलमा जन्मे हुर्के पनि पारिवारिक परिचय चाहीं जुमली हो । जुमला हुँदा हाम्रो थरमा बिवाद भएपनि पुर्वजहरू अर्थात बुवाको बुवा उहाँको पनि बुवा आदी सबैले सिजापती थर लेख्ने गरेको हुनाले मैले पनि सिजपती नै लेख्ने गरेको हुँ । यस अर्थमा मेरो थरको पहिचान सिजापती कायम छ । जून पुर्खौली जन्मस्थानसंग सम्बन्धित छ । अनी त्यो स्थान पहाडमा पर्ने भएको हुँदा पहाडिया ‘खोचा’ को पंक्तिमा परेको छु । 
 

 

अरुले ठान्ने पहिचान 
ती सबै हुँदाहुँदै पनि आफुलाई सगर्व नेपाली हुँ भन्छु । यस प्रसंगमा उल्लेख गर्न सांन्दर्भिक घटना भनेको सन १९७९ मा एउटा अमेरिकनले मलाई प्रश्न गर्‍यो, ‘तिमी कहाँबाट आएको’ ? मेरो मुखबाट नेपाल  भन्ने निस्कदा साथै उसले  ‘नेपल्स बाट’  भनेर सच्चाउन खोज्यो । मैले होइन सगरमाथाको देश नेपाल भारत चीन बिचमा छ भनेर वर्णन गरे । त्यसपछि उसले ‘तिब्बत’ भन्यो मैले हाँसेर होइन भने  उसले ‘इण्डिया’ भनेपछि मैले झर्कदै भनेको थिए, ‘होइन नेपाल भनेको नेपाल हो कहिलेपनि उप–निवेष नभएको स्वतन्त्र राष्ट्र’ त्यससमय सम्म पनि अमेरिकनहरूलाई अन्य मुलुकहरू छन् भन्ने ज्ञानको अभाव थियो । किन तिब्बत भन्दा म झोकिन्न तर भारत भन्नासाथ मेरो रिसको पारो तात्यो ?

 

माथी उल्लेख गरेको आफुलाई भारतीय ठान्दा रिस उठने कारणका बिषयमा सोच्दा त्यही भाव मैले अन्य मुलुकका नागरीकहरूमा पनि पाएको छु । जस्तै केनेडियन, त्यसमाथी पनि अंग्रेजी भाषीलाई अमेरीकन हौं भन्दा अधिकांश रिसाउने गरेको मैले प्रसस्तै भेटेको छु । जब की दुबै देशका नागरिकहरुको अनुहार लबज बोलीचाली आदी सबै उस्तै हुन्छ ।

 

अफ्रिकिहरुमा यस्तो भाव अत्याधिक छ । यतीसम्म कि केनियाको सुमालीहरूलाई सुमाली हो भन्योे भने उ आफुलाई अपमानित भए सरह ठान्छ  । युगानडीयनलाई केनियन अथवा सूडानी (उत्तर का) लाई इजिप्सियन भन्दा आगो भई हाल्ने जसरी पाकिस्तानीलाई भारतीय भन्दा गर्दछन् ।

 

सायद मेरो अनुहारको वर्ण तथा आँखा नाकको बनावट आदीले गर्दा होला मेरो राष्ट्रिय पहिचानमा धेरै  झुकिने गर्दछन । श्रीलंकामा कार्यरत रहँदा तामिलहरू तामिल भाषामा कुरा गर्न खोज्थे भने सिंघालीहरू सिंघाली भाषामा बोल्न आइपुग्थे । पुर्वी एसियाली मुलुकहरू जस्तै थाइल्याण्ड, इंडोनेसिया, मलेसिया, फिलिपिन्स, लावस भियतनाममा समेत मलाई सबैले त्यही को बासिन्दा हो भन्दा रहेछन । कतिले दक्षिण अमरीकी निकारागुएन, गुवाटामालियन आदी भनठाने । त्यसो त अफ्रिकामा भने आफुलाई नेपाली भन्दा अधिकांशले ‘भारतीय’ हो भन्ने ठाने । केनियामा एकपटक एउटा मन्त्रीले ‘हाम्रो निमित्त तिमीले नेपाली भने पनि इण्डियन नै भन्ने लाग्छ’ भनेका थिए । 
 

 

हेयको दृष्टि 
सन १९८८, जुलाई १५ मा संयुक्त राष्ट्रसंघीय शरणार्थी नियोगमा काम गर्न कोलोम्बो पुगेको भोलीपल्ट अन्य दुई सहकर्मीहरू (इटाली तथा लगजेम्बर्गका नागरीकहरू) को साथमा मलाई ट्रिककोमाली पठाइयो । त्यस कालखण्डमा भारतीय शान्ति सेनाको (इन्डियन पिस कीपिंग फाककर्स (आईपिकेफ) उत्तर पूर्व श्रीलंकामा अत्यन्त बाक्लो उपस्थिति थियो । लिबरेशन तामिल टाईर्गस आफू इलम (एलटीटी) लाई निशस्त्रीकरण गर्न पुगेका आईपिकेफ तथा एलटीटी बिच घमासान युद्ध चल्दै गरेको थियो ।

 

हामी कार्यक्रम अनुसार नै ट्रिनकोमाली स्थीत आईपिकेफको मुख्यालयमा आईपिकेफको कमाण्डर मेजर जनरल केलक्टसँग भेटन उनको कार्यालय पुगेका थियौं । जनरल केल्कट सँग परिचय हुँदा मैले आफू नेपाली भएको बताएको थिए । उनले ‘ए तँ त कांचा रहिछस्’ भने नेपाली भाषामा । तातेको पारोलाई नियन्त्रण गर्दै मैले अंग्रेजीमा ‘म संयुक्त राष्ट्रसंघको कर्मचारी’ भनेर आफ्नो नयाँ जिम्मेवारी बारे उनलाई  अवगत गराए । आईपिकेफलाई लज्जाजनक अवस्थामा उत्तर –पूर्व श्रीलंका छोड़नु नपर्दाको अवस्थासम्म अक्सर भारतीय आफिसरहरूबाट ‘कांचा’ तथा ‘बहादुर’ बाट सम्बोधन हुँदा मैत्रीभाव भन्दा पनि उनीहरूले होचाउन खोजेको आभास हुनेरहेछ ।
 

 

पहिचान सम्बन्धी धारणा   
माथिका घटनाहरूको प्रस्तुतीको मुख्य उद्देश्य भनेको पहिचानका बिषयमा आफ्ना केही धारणाहरू प्रस्तुत गर्नु हो । अर्थशास्त्र बिषयको नोबल पुरस्कार बिजेता अर्मात्य सेनले ब्याख्या गरे जस्तै कुनैपनि व्यक्तिको एउटा मात्र पहिचान हुँदैन तर उसले एउटालाई बिशेष महत्व दिएको हुन्छ । कतिपय पहिचानहरू खुल्स्त हुन्छन ।

 

कति छुट्याउन कठिन हुने गर्दछ  कती चाँही अरुले निर्माण गरिदिएका हुन्छन । कुनै पहिचान अर्काको पुर्वाग्रहले गर्दा स्थापीत भएका हुने गर्दछन । त्यसैगरी विभिन्न कारणहरूले गर्दा स्थापित पहिचान मध्य पनि केहिलाई सम्मानको दृष्टिले हेरिने रहेछ भने कुनैलाई हेयको दृष्टिले । नेपाली वर्णमालाको ‘राम्रो म’ जस्तै हो आफ्नो स्थापित पहिचान सबैका निमित्त अति प्रिय हुन्छ ।  

 

प्राय : सबै मानिसहरूमा देखापर्ने महत्वपूर्ण गुण भनेको आफ्नो कदर होस भन्ने हो  । स्थापित पहिचानको आधारमा सम्मान नगरिए पनि हेय भाव नहोस भन्ने धारणा सबैको हुन्छ । यस बिषयमा ‘एण्ड अफ हिस्ट्री आयेंड लास्ट म्यान’ पुस्तक लेखेर विश्वमा ख्याती कमाएका राजनीतिक विचारक फ्रांसिस फुकुयामाले आफ्नो पुस्तक ‘आइडेन्टिटिमा पष्ट पारेका छन ।  उनको बिचारमा पहिचानको मुद्दा आत्मसम्मानसँग जोड़िएको छ । सेतोपाटीमा हालै प्रकाशित हरि शर्मा को लेख ‘कर्ण माथी अन्याय नभएको भए अर्कै लेखिने थियो महाभारत कथा’ को अन्तरवस्तु पनि पहिचान हो । 

 

हाम्रो १२२ भाषाभाषी १२५ समुदाय भएको राष्ट्र हो ।  हाम्रा निमित्त फुकुयामाको वर्णन नौलो नभएर जीवन प्रणालीको अभिन्न अंग हुँदै आएको छ । विभिन्न कालखण्डमा विभिन्न आर्थिक सामाजिक तथा राजनीतिक कारणहरूले गर्दा कती जातजातीहरू विकास प्रकृयामा छुटे । शासकीय पद्धतीको तस्वीर ‘मुलुकको मुहार’ पुस्तक मा धुर्व सिम्खाडाले सचित्र प्रस्तुत गरेका छन् । मधेश आन्दोलनको अन्तर निहित कारणहरूलाई बसन्त बस्नेतको पुस्तक ‘७२ को बिषमय’ बाट प्रष्ट तुल्यएका छन । जातीय विभेदका बिषयमा थुप्रै लेखहरू लेखिएका छन । संघीयतामा मुलुक जानुको प्रमुख कारण पनि समावेशी तथा शासकीय स्वरुप समान पहुँचको मागका करणहरूले गर्दा नै हो ।

 

पहिचान, समावेशीकरण तथा समान पहुँचको मुद्धाहरु पहिलो संबिधानसभाको निर्वाचनको पूर्वसन्ध्या तथा संबिधानसभाद्वारा संबिधान निर्माण कालमा निक्कै जोडसँग उठेको थियो । संबिधानको स्वीकार्यतामा उठेका प्रश्नहरू पनि पहिचानका मुद्धाको संबोधनसँग गासिएको छ । पहिचान सम्बन्धी मागहरू सुसुप्त अवस्थामा रहेको अनुभूति गरिएको छ  । तर जबसम्म सरोकारवालाहरूलाई अनुभूती हुँदैन, उनीहरूको माग तथा सिकायतहरूको सम्बोधन भएको छैन तबसम्म त्यो भुषको आगोको रुपमा रहिरहने निश्चित छ । सरकारद्वारा ‘गुठी ऐन’ संशोेधन बिधेयकको स्वतस्फूर्त बिरोध सिनेमाको टे«लर साबित हुने निश्चित छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार