• शनिबार ४-४-२०७६/Saturday 07-20-2019
अर्थ

तरकारी खेतीमा युवाको बढ्दो आकर्षण

पर्वत ।  एक मुरी धान फल्ने खेतको आम्दानीले वर्षभरि खान पुग्छ । बाँकी खेतको आम्दानी बचत हुन्छ । जलजला–७ धाइरिङका एकनारायण पौडेल व्यावसायिक तरकारीबाट मात्रै वार्षिक रु १२ लाख जति आम्दानी गर्दै आएका छन् । 

 

करिब अढाइ दशकदेखि तरकारीमा लागेका एकनारायणले तरकारीबाट जोडेको सम्पत्ति मात्रै दुई करोडभन्दा बढी पुगेको छ । उनकै सिको गर्दै धाइरिङमा अहिले करीब १५० परिवारले बाह्रै महीना व्यावसायिक तरकारीखेती गर्छन् । त्यहाँका बिरलै किसानले असारमा धान रोप्छन् । धानको तुलनामा दसौँ गुणासम्म बढी आम्दानी हुने भएपछि धेरैले धान रोप्न छोडेका छन् । 

 

साविक धाइरिङ गाविस–४ र ५ मा करीब २०० परिवारको बस्ती छ । उनीहरु सबै व्यावसायिक तरकारीखेतीमा मात्रै निर्भर छन् । युवा, केटाकेटी र पाको उमेरका सबैजसो बिहान सबेरैदेखि साँझ अबेरसम्म खेतमा व्यस्त हुने गरेका छन् । 

 

नजिकैको धाइरिङ सिँचाइ आयोजनाले बस्तीभन्दा तलको समथर फाँटमा बाह्रै महीना सिँचाइ पुगेको छ । आधुनिक प्रविधिको प्रयोग, उन्नत जातको बीउ, रोगकिराको सहज निदान, गाउँसम्म सडकको पहुँचलगायत कारणले पछिल्ला केही वर्षयता तरकारी उत्पादनमा समस्या छैन । 

 

उत्पादन भएको तरकारी लिन पोखराका व्यापारी घरै पुग्छन् । अहिले यहाँका सबैजसो किसानले वर्षे धान मात्रै नभएर हिउँदका सबै बाली छोडेर तरकारी मात्रै लगाउन थालेका छन् । 

 

कुनै बेला यहाँका युवा घरायसी खर्च जुटाउनकै लागि विदेश जान्थे तर, हिजोआज त्यो बाध्यता छैन । ‘पहिला अहिलेजस्तो सिँचाइ थिएन । तरकारी लगाएर बेच्दा इज्जत जान्थ्यो’, स्थानीय बुद्धिप्रसाद सुवेदीले भने, ‘विदेश गएर फर्किएको भनेपछि विवाह गर्न सजिलै केटी पाइन्थ्यो । अहिले संस्कार फेरिएको छ ।’ 

 

तीन वर्ष विदेशमा बिताएका उनले अहिले जागरिलो युवा पाए तरकारी लगाउनकै लागि मासिक २० हजारसम्म पारिश्रमिक दिएर राख्ने बताए । बुद्धिप्रसादले अहिले नौ रोपनी खेतमा मौसमी तथा बेमौसमी तरकारी लगाएका छन् । वर्षमा तीन सिजनको तरकारी फल्छ । डेढ दशक अघिसम्म गाउँमा आम्दानीको कुनै माध्यम नदेखेर खाडी मुलुक पुगेका यहाँका दर्जन बढी युवाले गाउँ फर्किएर गरेको प्रगति लोभलाग्दो बन्न थालेको छ ।

 

तरकारीको आम्दानीले बेनी, कुश्मा, बाग्लुङ, पोखरालगायत बजारमा घरघडेरी जोड्नेको सङ्ख्या ५० भन्दा बढी पुगेको किसान हरि आचार्यले बताए । ‘यहाँका सबैजसोको बजारमा घर छ’, आचार्यले भने, ‘त्यो तरकारीकै आम्दानी हो । बेमौसमीमा राम्रो उत्पादन हुने भएकाले यहाँको तरकारीले बढी मूल्य पाउछ । थोरै खेतमा तरकारी लगाउनेले पनि राम्रो आम्दानी गर्छ ।’
    

तरकारीमा आत्मनिर्भर भएको जिल्लाकै पहिलो गाउँ हो, जलजला–७ धाइरिङ अहिले पनि तरकारीबाट अधिक आम्दानी गर्ने गाउँका रूपमा यसलाई चिनिएको छ । उक्त गाउँको व्यावसायिक तरकारीमा विगतदेखि सरकारी तथा गैरसरकारी निकायको सहयोग र सहकार्य हुँदै आइरहेको छ । 

 

कृषि ज्ञान केन्द्र र जलजला गाउँपालिकाको सहकार्यमा चालू वर्षदेखि तरकारीको पकेट क्षेत्र घोषणा भएको छ । कृषकको सक्रियताले यहाँबाट वर्षेनी करोडौँ रुपैयाँ मूल्य बराबरको तरकारी निर्यात हुने गरको कृष ज्ञान केन्द्रका प्रमुख वासुदेव रेग्मीले जानकारी दिए । 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार